Unity Khabar

प्रवासी नेपालीलाई सन्देश : जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोस्

  • मनोज रावल

जब हर जो कोहीलाई संकट आइपर्छ तब उ आफ्नो देश सम्झन्छ। समाज, गाउँ र आफ्नो परिवार सम्झन्छ। छोरा छोरी सम्झन्छ, लाग्छ आफ्नै देशको माटोमा मर्न पाए हुन्थ्यो, आफ्नै घरको आगनमा प्राण छोड्न पाए हुन्थ्यो, आफ्नै नदिमा जल्न पाए हुन्थ्यो।

यो मानवीय भावनात्मक स्वभाव हो। यो जायज पनि हो। आफ्नो देश, समाज र गाउँप्रतिको यो अटुट भावनालाई सबैले सम्मान गर्नै पर्छ। तर, अहिलेको यो विश्वमा देखिएको कोरोना महामारीको भयङ्कर संकटको घडीमा तपाईंको भावनाको सम्मान त छ तर कुनै अर्थ छैन।

चीनको हुवान राज्यबाट देखा परेको यो कोरोना भाइरस अहिले विश्वका लगभग २१० देशमा देखा परिसकेको छ। विश्वनै पूरा कोरोनाबाट संक्रमित छ। विश्वमा २० लाख जति कोरानाबाट संक्रमित छन्, मर्नेको संख्या लगभग एक लाख चौबिस हजारभन्दा बढी छ। संक्रमित हुनेको संख्या र मर्नेको संख्या दिनानुदिन बढी रहेको छ।

प्रत्येक देश हरू कोरोना विरूद्धको लडाइ लडिरहेको बेला भारत र नेपाल पनि यो लडाइबाट अछुत छैन। यी देशमा पनि संक्रमित को संंख्या र मर्नेको संख्या दिनानुदिन बढीरहेको छ। भारतमा मर्ने को संख्या ३५८ नाघिसकेको छ भने नेपालमा अहिलेसम्म कोहि नमरे पनि संक्रमितको संख्या १६ पुगिसकेको छ।

विश्वका ठुलाठुला वैज्ञानिकहरूले अहिलेसम्म यसको औषधि पत्ता लगाउन सकिरहेका छैनन। यो रोगको रोकथामको विकल्प भनेकै लकडाउन हो । अहिले विश्व नै लकडाउनमा छ। भारत र नेपालमा पनि लकडाउनको अवधि बढीरहेको छ।

भारतमा बस्ने सम्पुर्ण प्रवासि नेपाली दाजुभाइको आग्रह र अनुरोध त होला बरू हामीलाई कुनै आर्थिक सहयोग चाहिदैन तर नेपाल जाने वातावरण बनाइदिनुस भन्ने। तर यो महामारिको बेला तपाईंहरूको सोच र विचारले देश र जनतालाई कति असर पर्छ तपाइले सोच्नु भएको छैन। नेपाललाई सबैभन्दा बढी खतरा भनेको नै भारत सँग हो जब सम्म भारतमा कोरोनाको अन्त्य हुदैन त्यतिबेलासम्म नेपाललाई खतरा छ।

नेपाल–भारत खुल्ला सिमानाका कारण भारतिय र नेपाली नागरिक लुकिलुकि आउनेको संख्या पनि बढिरहेको छ। यसले देशलाइ कति असर पार्छ हामीले बुझ्ने प्रयास गरिरहेका छैनौ। नेपालमा अन्य विदेश बाट आएका हरू र भारत बाट आएका नागरिकमा कोरोना देखिरहेको छ भने यो गम्भिरतालाइ किन नबुझ्ने? हामी केवल भावनामा मात्र डुबेर के हुन्छ।

उता अमेरिका इटाली बेलायत फ्रान्स आदि देशहरूमा मर्नेको संख्या हजारौं पुगिसक्यो। मर्नेहरूलाई एउटै चिहानमा पुरिँदैछ। बाउले छोराको लास लिन मानिराछैन छोरोले आफ्नो बाउको लास लिन मानिराछैन, आफन्तहरू आफ्नै आफन्तको लास लिन मानिराछैनन भने के उनीहरूलाइ आफन्तको माया छैन होला? आफ्नै परिवारको लास छुनै नपाउनु कति सम्मको पीडा होला? कोरोना उपचारमा संलग्न कैयौ स्वास्थ्यकर्मीहरू आफ्नो घर नगएर गाडी भित्रै सुतिरहेका छन के उनीहरूलाई आफ्नो परिवार र सन्तानको माया छैन होला? तर उनीहरू भावनामा होइन यसबाट बढ्न सक्ने खतरा बाट सबैलाई बचाउन चाहान्छन्।

छाति माथि ढुङ्गा राखि हिँडीरहेका छन्।यो एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने भएकोले को बढी सुरक्षित छ एकिन गर्न सकिँदैन यो जो कोहि सँग हुन सक्छ वरपर तल माथि जता पनि हुन सक्छ। त्यसैले यो संकट पुर्ण घडीमा भारत प्रवासमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरूमा एउटै अनुरोध छकि आफू सुरक्षित नहुन्जेलसम्म देश फर्कने सपना नदेख्नुस्, घट्न सक्ने विभिन्न सम्भावित घट्नबाट आफ्नो देश समाज र परिवारलाइ बचाउ।

सम्भावित घटना बाट बचाउनु नै परिवार प्रतिको माया हो। जति तपाई सुरक्षित हुनुहुनेछ त्यतिनै देश समाज र परिवार सुरक्षित हुनेछ। जहाँ जुन परिस्थितिमा हुनुहुन्छ त्यहीँ सुरक्षित हुने प्रयास गर्नुस्।

कोरोना भाइरसको खतराबाट बच्न नेपाल र भारतमा लकडाउनको अवधि बढाइएको छ। सरकारले लकडाउन जनतालाइ दुख दिन गरेको होइन। यो सरकार को बाध्यता र आवस्यकता हो। मानव जीवनको रक्षा कै लागि सरकार सँग लक डाउन बाहेक अर्को कुनै विकल्प छैन। सामाजिक दुरी बढाएर नै कोरोनासंग लड्न सकिन्छ।

लकडाउनको अर्थ भनेकै सामाजिक दूरी बढाउने व्यक्ति व्यक्ति सँगको दुरी बढाएर जो जहाँ छन् त्यहि सुरक्षित भएर घरभित्रै बस्ने भन्ने हो। लकडाउनको चुनौतीपूर्ण निर्णय सरकारले तपाइ हाम्रो जीवन रक्षाका लागि नै गरेको हो। यस्तो संकटको घडीमा आत्तिने र निराश नहोउ। बरू यो बेला आत्मविश्वास र आत्मबल बढाउ र कोरोना बाट बच्ने सबै प्रकारका सावधानी अपनाउ। यो नै कोरोना लाई जित्न सक्ने ठूलो हतियार हो । बस र रेल चल्छन भन्ने विभिन्न खालका हल्ला र भ्रममा परि बाहिर निस्किने काम नगरौँ यसो गर्दा सबैको जीवनको असुरक्षा हुन्छ। नेपाल सरकार र भारत सरकारले कुनै निर्णय नलिदा सम्म धैर्य र शान्त भएर बसौ। लकडाउनको पुर्ण पालना गरौँ।

समस्या भनेको एउटै मात्र हो त्यो हो आर्थिक समस्या। यो आर्थिक समस्यालाइ हल गर्नका निमित्त नेपाल सरकार र भारत सरकार लाई दबाब सृजना गरौँ। र भारतमा रहेका विभिन्न प्रवासि संघ संगठन र समाजहरूसँग सम्पर्क राखाँै। यो जटिल परिस्थितिमा प्रवासी संघ संगठन ले खेलेको भूमिका प्रभावकारी देखिन्छ। प्रवासी संघ संगठनहरूले यो परिस्थितिमा नेपाली प्रवासीहरूलाई दिएको साथ र सहयोग प्रशंसनीय छ।

नेपाल सरकारले यी सक्रिय संगठनहरूको उच्च मुल्यांकन गर्न जरुरी छ। अन्तमा प्रवासमा समस्यामा रहेका सम्पूर्ण नेपालीहरूको उचित व्यवस्थापनका लागि नेपाल सरकार र भारत सरकारले कुटनैतिक पहल चाल्दै समस्याको हल निकाल्न जरुरी छ र निकालियोस् पनि।

लेखक रावल नेकपाका युवा नेता हुन्।

सम्बन्धित पाेष्टहरु
Loading...