Unity Khabar

लकडाउनले फेरिएको दैनिकी

  • श्रीकृष्ण थापा

बिहान उठ्ने बितिकै किचेनमा सुनिने प्रेसर कुकरको सिठ्ठी र भाडाकुँडाको ट्ङ्ग्र्याङ्ग्टुङ्ग्रुङ्ग आजभोलि खासै सुनिँदैन। छरछिमेकीका घरमा साना–नानी बाबुहरुलाई स्कुल पठाउनका लागि तयार गर्दिराखेको पनि छैनन्।

अफिस जानको लागि बस छुट्ला भन्ने पिरले लम्किरहेका खुट्टाहरु पनि देखिन छोडिएका छन्। यो मेरो जिन्दगीको एकदमै फरक खालको अनुभव हो जुन अहिले मैले गरिरहेको छु। फरक खालको परिस्थिति सबैको बद्लिएको कार्यतालिका अनि फुर्सद नै फुर्सद। यो अवस्था हुनु पछाडिको कारक चाहिँ कोरोना भाइरस। कोरोनाविरुद्ध आज विश्व एकसाथ लडिरको छ।

बिना हतियारको विश्व युद्ध लडेजस्तै गरी। तर, गज्जबको कुरा चाहिँ के हो भने यो लडाइमा स्वास्थकर्मीहरुले लडिरहनुभएको छ। कोरोनाविरुद्धको लडाइँमा सफलता प्राप्ति गर्नको निम्ति हाम्रो भूमिका पनि महत्वपूर्ण छ। त्यो भूमिका निर्वाह गर्नका लागि हाम्रो जिम्मेवारी भनेको सामाजिक दूरी कायम गर्ने, घर भित्रै बस्ने, अत्यावश्यक काममा सुरक्षा उपाय अपनाएर मात्र बाहिर जाने, साबुन पानीले बेला बेला हात धुने, तातोपानी खानेलगायत पर्दछन् र एकदमै महत्वपूर्ण भनेको सरकारलाई सहयोग गर्ने पनि हो।

कोरोनाविरुद्धको लडाइँमा मैले मेरो भूमिका बुझेको छु र मेरा जिम्मेवारीहरुलाई सत प्रतिशत पूरा पनि गर्दैछु। साथसाथै यो फुर्सदको समयको भरपुर सदुपयोग गरि यसलाई एउटा अविस्मरणीय परिणाम आउने पलका रुपमा परिनत गर्न कोसिस गरिरहेको छु।

आफूले आफूलाई र आफ्नो परिवारलाई भरपुर समय दिने एउटा सुनौलो अवसर बनेको छ लकडाउन। आजकल दिनभरी घरमा बस्ने घरायसी काममा सहयोग गर्ने दिनचर्या बनेको छ। साथसाथै नयाँ–नयाँ कुराको खोजी गर्ने अध्ययन गर्ने बानी बसेको छ, समय मिलेको छ। भान्छ कहिलेकाही मात्र सहयोग गर्ने पुग्ने म आजकल दैनिक भान्छे भएको छु र युट्युबको प्रयोगबाट नयाँ–नयाँ रेसिपीको प्रयोग गर्ने गरेको छु।

मेरो घरको वरिपरिको फूलवारीमा हरियाली छाएको छ। यो हरियाली वसन्त ऋतु भएकाले मात्र छाएको होइन। यस्मा लकडाउनको समयको सदुपयोग प्रस्टै झल्किएको देख्न सक्नुहुन्छ। घरसँगैको करेसाबारीमा पनि काक्रो, फर्सी, खुर्सानी र अन्य थुप्रै तरकारी बाली लागेका छन म साझ पख चाहिँ ती बोटबिरुवामा पानी हाल्नको लागि समय छुट्याइएको छु। घरवरपरको बाटो, करिसामा सरसफाइ पनि दैनिक जस्तो गर्ने गरेको छु।

अझ मलाई सबैभन्दा मनपर्ने कुरा बालबालिकाहरुसँग समय ब्यतित गर्ने। लकडाउनका समयमा सबैको बिधालय बिदा भएकाले पनि बालबालिकाहरुसँग खेल्ने कुराकानी गर्ने, उनिहरुको कुरा सुन्ने गर्दा समय बितेको पत्तै हुँदैन। त्यति मात्र कहाँ हो र उनिहरुसँग आगनमा ब्याटमिन्टन, छोइडुम खेल्दा आफ्नै बालापनको सम्झना आँखा अगाडि नाच्न थाल्छ्न्, मुहारमा मुस्कान देखिन थाल्छ।

जहिल्यै पनि फोटा खिच्नको लागि तम्सिने म अहिले लकडाउनमा महसुस गर्दै छु कि मैले ठीक गरेको रहेछु। आज ती फोटाहरु हेर्दै आफ्ना पुराना कतिपयत बिर्सिसकेका पल क्षणहरु फेरि ताजा गर्न पाएको छु। आफ्ना पुराना फोटाहरुमा लुकेका यादहरु, पलहरु र रहस्यहरुले आज फेरि मन र मस्तिष्कमा पुनर्जीवन पाएका छन्।

कति समय अगाडी देखि र्याकमा अलपत्र परेका पुस्तकहरुले गन्तव्य भेटाएका छन्। स्टोरमा थन्किएको लुडो बोर्डले साथी पाएको छ। दिनभरी सुनसान रहने मेरो कोठाले २४ घण्टा ७ दिनकै साथ पाएको छ। मेरो स्कुटरले आराम पाएको छ। लाग्दैछ मेरा घर वरपर हिड्डुल गर्ने बिरालो, गाईलेसमेत मलाई चिन्न थालेका छन्। घरवरपरका आकाशमा प्रायः उडिरहने चराहरुलेसमेत मलाई आफ्नो ठान्न थालिसकेका छन्।

सामाजिक संजालमा साथी भएका तर बोलचाल नभएकाहरुसँग कुराकानी गर्न थालेको छु। आफ्ना आफ्ना कुराकानी र लकडाउनको बारेमा छलफल गर्न थालेका छौं। सामाजिक संजालमार्फत सूचना प्रवाह गर्ने कार्यमा सक्रिय भइरहेको छु।

आफू आवद्ध संघसंस्थामार्फत कोरोनाविरुद्धको लडाइमा ऐक्यबद्धता र प्रयासलाइ निरन्तरता दिइराखेको छु। सूचना प्रवाह गर्ने, आवश्यक र समस्यामा परेकालाई सहयोग प्राप्त गर्नको निम्ति सहयोग पुराउँदै पनि आएको छु। आफ्नो वडामा माइकिङ्गमार्फत सचेतना जागरण गराउने, राहत वितरणमा सहयोग गर्नेजस्ता क्रियाकलापमा पनि सक्रिय सहभागी भइरहेको छु।

बास्तबमा भन्नुपर्दा यो लकडाउन आफैंमा नराम्रो भने होइन। यसले पार्ने नकारात्मक असरहरु छैनन भन्न खोजिएको होइन तर अहिलेको समयमा कोरोनाविरुद्धको लडाइमा विजय प्राप्ति गर्ने एउटा महत्वपूर्ण हतियार लकडाउन हो भन्नेमा दुईमत छैन। यसका नकारात्मक असर र त्यसबाट माथि उठ्ने विषयमा हामी कोरोनाविरुद्धको विजय पश्चात् गर्न सक्छौं। अहिलेलाई भने कोरोनाविरुद्धको लडाइमा आफ्नो भूमिका र जिम्मेवारी पूरा गरौं।

वर्ष फेरियो तर क्यालेन्डर फेरिएन यो पाली, सायद घरमा नयाँ वर्षको क्यालेन्डर आइनपुगेर पनि होला। ढिलै भएतापनि नयाँ वर्षको शुभकामना। सबै मिलेर कोरोनामाथि जीत जो हासिल गर्नुछ।

आफू बचौं र अरुलाई बचाऔं
लकडाउनको पूर्ण पालना गरौं।

सम्बन्धित पाेष्टहरु
Loading...