Unity Khabar

म मरेर बाँचेको त्यो दिन…

  • महेशप्रसाद पन्त

दुई तिहाईको स्पष्ट बहुमतसहित देशमा सत्ताको बागडोर समालिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आफ्नो स्थापना को ७१औं वर्षगाठ सेलिब्रेसन त्यति उत्साहजनक भएन।

यसका भित्री कारणहरुलाई अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ ले गौण पारिदिएको छ र एक अर्थमा अहिलेको समयमा बहसमा आएका विभिन्न अनुत्तरित प्रश्नहरुबाट नेतृत्वलाई हुने टाउको दुखाईसमेत कम भएको सहजै अनुमान लगाउनसकिन्छ। उसै पनि अहिलेको अवस्थामा आइपुग्न नेकपालाई कम सकस परेन।

विभिन्न वाद र कार्यदिशा भएका वाम घटकहरु सित मिल्ने र छुट्टिने प्रक्रिया कम्युनिस्ट पार्टीको स्थापनादेखि अहिलेसम्म पनि चलिरहेकै छ तर बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि जनताको बहुदलीय जनवादको सिद्दान्तलाई आत्मसात गर्दै अहिलेको नेकपा देशको पहिलो पार्टी बनेकोमा सायद शंका गर्ने ठाउँ छैन।

पाँच दशकको गौरबमय इतिहास बोकेको विद्यार्थी सगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा आवद्ध भएर लोकतान्त्रिक गणतन्त्रकोे लागि लड्दा तत्कालिन निरंकुशताको गोलीको शिकार हुनुपरेको इतिहास सम्झिदा अहिले पनि आंग सिरिंग हुन्छ। जनताको आफ्नो संविधान र त्यो अनुसारको साशन व्यवस्थाको लागि कतिले आफ्नो घरवार गुमाए, कतिले आफ्नो रगत बगाए त कतिले आफ्नो ज्यान गुमाए।

ठूलो संघर्ष पश्चात प्राप्त गरेको यो अवसरलाई समेत आफु अनुकुल प्रयोग गर्न खोज्ने अवसरबादीहरुले रगत र पसीना बगाएर प्राप्त गरेको उपलब्धिलाई गुमाउने खतरालाई बढावा दिँदा अहिले समेत त्यति नै पीडाबोध हुन्छ जति २०६२ सालको बैशाख १६ गतेका दिन चार–पाँचवटा गोली खाँदा भएको थियो।

२०४६ सालको जनआन्दोलनबाट प्राप्त जनाधिकारहरूलाई हत्याउँदै दरवार हत्याकाण्ड पछि राजा वनेका ज्ञानेन्द्रले क्रमशः जनअधिकार खोस्दै लैजाने क्रममा १८ असोज ०५९ पछि १९ माघ ०६१ गते मध्य युगिन वर्वरताको झल्को दिने गरी शाही कु मार्फत तानाशाही फासिष्ट शासन लादेको र विश्वलाई नै चकित पार्ने गरी भएको जनक्रान्तिले गर्दा यो फासिष्ट सत्ता ढलेको पनि १५ वर्षभन्दा बढी भई सकेको छ। यस क्रममा शाही निरंकुश सत्ताकोविरुद्ध संघर्ष गर्दै जनताका अधिकार पुनः स्थापित गर्नका निम्ति कयौं निर्दोष नेपाली जनताले संघर्षको वलिवेदीमा आफ्नो अमुल्य रगत चढाएका छन भने कसैले जीवनको आहुती समेत दिइसकेका छन्। यस्तै दुःखद घटनाहरूका श्रृंखलाभित्र जनज्योती गोली काण्ड पनि पर्दछ।

०६२ सालको आगमनसँगै बैशाख १६ गते कञ्चनपुर जिल्लाको भिमदत्तनगर स्थित जनज्योती क्याम्पसमा तत्कालीन शाही शेनाले अन्धाधुन्द गोली चलाएर तिन जना विद्यार्थी योद्धाहरूको ज्यान लिने घिनलाग्दो असफल दुस्प्रयास गरेका थिए। २१औं शताव्दीमा पनि नेपाली जनतामाथि जंगली शासन लाद्न खोज्ने शाही सत्तालाई संघर्षको ज्वारफाटा मार्फत ध्वस्त पार्ने योजनाका साथ आम नेपाली विद्यार्थीहरूलाई गोलवन्द गर्दै जागृत गर्नका निम्ति हामी विभिन्न क्याम्पस र विद्यालयहरूमा संगठन विस्तार गर्ने क्रममा जनज्योती क्याम्पस पुगेका थियौं। यस क्याम्पसमा विद्यार्थीहरूलाई तानाशाह, फासिस्ट सत्ता विरुद्ध संघर्षमा आवद्ध हुन भेलाको आयोजना गरेको थियो।

हाम्रो कार्यक्रम शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको वेला आकस्मिक रूपमा हामीलाई चारै तिरबाट शिकारी कुकुरको वगालझैं आएका तत्कालीन शाही सत्ताका भरौटे राक्षसी शाही सेनाले कार्यक्रम स्थललाई चारैतिरबाट घेरीसकेको कुरा बल्ल बन्दुकको आवाजसँगै क्याम्पसको भित्तामा गोली ठोकिँदा मात्र थाहा भयो।

यसपछि अन्धाधुन्द गोली बर्साउदै क्याम्पस तिर आए। यस्तो त्रासदीपूर्ण अवस्था र भयावह मृत्युको मुखमा पुग्दा जीवनको बाच्ने आशामा कार्यक्रममा सहभागी विद्यार्थी किंकर्तव्यविमुढ भएर सुरक्षित स्थानको खोजीमा भागदौड गर्न थाले। निर्दोश परेवाहरूको बथानमा हिंस्रक वाजको आक्रमण हुँदाको विचल्ली झैं भागदौड गरिरहेका विद्यार्थीहरूलाई चारैतिर घेरा वन्दीमा परेको भएपनि ज्यान जोगाउन तितर वितर भई भाग्न थाले यसरी विद्यार्थीहरूविच भागदौड चल्दा हामीले सुरक्षित ठाँउ नरहेकाले नभाग्न अनुरोध गरिरहेकै बेला तत्कालीन अनेरास्ववियुका नेता नरबहादुर धामीको बाया कानमा चोट लागि ढल्नुभयो। यसपछि उहाँ बेहोस हुनुभयो।

एकछिनपछि मलाई पनि सेनाले अत्यन्त निर्ममतापूर्वक अमानविय र पासविक ढंगले कुटपिट गरियो। यसपछि बन्दुकको कुन्दा, स्पेरिंग रडले मलाई चार–पाँच जना सेनाहरू मिली मर्ने गरी कुटपिट गरेपछि मेरा टाउकोमा गम्भीर चोट लाग्दा भत्भती रगत बग्न थाल्यो। रगत बग्दाको पडाले म छटपटाउन थाले। मैले तिनीहरूलाई आग्रह गरे कि म आतङ्कवादी होइन, म एमालेको भातृ संगठन अनेरास्ववियुको विद्यार्थी हुँ। मेरो वास्तविकता तपाईहरूलाई थाहा छ।

शंका छ भने अनुसन्धान गरी मार्नु होला। उ त्यो मेरो घर हो, म पन्तजीको छोरा हुँभन्दा मेरो आग्रहलाई लत्याएर मलाई चिन्ने केशर बुढाथोकी नाम भएको सेनाले त अब मर्छस्। तलाई मार्न अर्डर आएको छ भनेर मेरो आग्रहलाई लत्याएर एक शब्द पनि नबोली चुपचाप लाग्नु नत्र तलाई मार्छु भनेर दुव्र्यवहार गरी रह्यो।

  

बन्दुकको कुन्दाले कुट्दै घोप्टो पारी सुतायो फेरी पनि मैले आग्रह गर्दा बढी बोल्छ यो ठोक त्यसलाई भनी कताबाट अर्डर आएपछि दिलीप तुम्हाम्फे भन्ने सैनिक जवानले खुट्टामा ठोकु कि टाउकोमा ठोकु सर भन्दै एम १६ को राइफल कहिले टाउको र कहिलेखुट्टामा यताउता गर्न थाल्यो। तड्पाएर मार यसलाई अहिले खुट्टामा ठोक भन्ने अर्डर पाउना साथ चार वटा गोली प्रहार गरियो।

जुन मेरो दाँयाको तिघ्रामा र बाँयाको कुर्कुच्चामा लागेको थियो। त्यसपछि मेरो खुट्टामा आगोको ज्वाला दन्किए जस्तो भयो। जसको कल्पना नै गर्न सकिदैन र मेरो खुट्टा र टाउकोबाट भलभली रगतको खोला बग्न थाल्यो। त्यसपछि प्राण जाला जस्तो भयो माटोमा मुख गाडेर घोप्टो सुताइएको अवस्थामा हल्लिन सकेन यताउती दुवै हातले घासहरू समात्दै मृत्युको पखाईमा बसें। म जीवनको अन्तिम सास फेरीरहकेको छु जस्तो अनुभव भयो। जीवनमा केही गर्ने इच्छा र चाहना समेत सदाका निम्ती अधुरै रहेको महसुस हुन थाल्यो।

जीवनमा धेरै कुराहरू गरौला भन्ने जुन अभिलाष थियो। तर समयलाई चिन्न नसक्दा ती अभिलाषा वर्वाद भए जस्तो लाग्यो तर सहभागी साथीहरूसँग मैदानमा घोप्टो सुताएको मृत्यु जस्तै अवस्थामा रहेको देख्दा साथीहरूसँग देश र जनताको मुक्तिको जीवनदान गरिरहेको छु भन्ने जस्तो लाग्दा ममा एक किसिमको गौरव महसुस भएको थियो।

गोली हान्दाको पीडाबाट छटपटाइरहेको र जीवनको भिख मागि रहेको कारूणिक चित्कार घटनास्थलको नजिकैबाट मेरो गाउँका छिमेकीहरूले सुनेपछि मेरो बुवा धर्मानन्द पन्तको नेतृत्वमा दुई–तीन सय गाउँले जनताका साथ तत्काल घटनास्थल पुगी कडा विरोध जनाएपछि बल्ल हामी माथि अन्तिम प्रहार रोकियो। ती गाउँलेहरूले हामीलाई विद्यार्थीहरू भएको कुरा गर्दा आफ्ना मुखमा कम्युनिष्ट पार्टिको झण्डाको पट्टी बाँधेर कोही नचिनुन भनी उहाँहरूलाई पनि गालीगलौचका साथ गोली ताक्दै कुटपिट गर्दा मेरो फुपु लगाएत १३ जना घाइते भए भने उनीहरुलाई डराउने, धम्क्याउने दुस्साहस पनि भयो। तर पनि न्यायप्रेमी जनताको उल्लेख्य सहभागीताले सत्ताको उन्मादले मातेका सेनाहरू घुँडा टेक्न बाध्य भए।

व्यापक विरोधका कारण जीन्दगीले एकपल्ट फेरी यसै भौतिक संसारमा रहेर निरंकुशताका विरूद्ध लडाई लड्ने अवसर पाईन्छ कि भन्ने मनमा आशा पलायो। यसरीजनज्योती क्याम्पसको मैदान रगताम्मे हुने गरी विभत्स सामुहिक हत्याको असफल प्रयास जनज्योती गोलीकाण्डका नामले चर्चित छ। घटनास्थल आमाबुवा भाई बहिनी साथी र सयौं मानिसहरूको रूवावासी र चित्कारले गुञ्जिरहदाँ दानवीय शाही सेनाले वाकीटकीमा कुरा गरेपछि हामीलाई घटनास्थलमै छोडिदिएँ। यसपछि बुवाले एम्बुलेन्स मगाएर क्षतविक्षत र रगताम्मे अवस्थामा रहेको अचेत शरीरलाई महाकाली अञ्चल अस्पतालमा पुर्याउनुभयो।

यहाँ मेरो खुट्टाबाट दुईवटा गोली झिकियो, जुन इन्सेक कार्यालयमा राखिएको छ। यहाँ उपचार हुन नसक्ने भनी सामान्य उपचार पश्चात हामीलाई सेनाले यस घटनालाई लुकाउन रातारात भारतको पिलभितस्थित शारदा हस्पिटलमा रिफर गरियो। उक्त अस्पतालमा हामीलाई भारतीय पुलिसले माओवादी हुन् भनी पाँच दिनसम्म अस्पताल भित्र कसैलाई भेट्न नपाउने गरी नजरबन्दमा राखेर विभिन्न मानसिक यातना दिने काम गर्यो।

पछि कञ्चनपुर जिल्लाका सीडिओले हामीलाई नेकपा (एमाले) निकट अनेरास्ववियु विद्यार्थी भएको कुरा भारतीय प्रशासनलाई पत्राचार गरी जानकारी गराएपछि मात्र बल्ल भारतीय पुलीसको हामी माथिको नियन्त्रण खुकुलोभयो। तर, यहाँको मिडियाले यस घटनाको भण्डाफोर गर्ने काम गरीरह्यो भने भीमदत्तनगरका विभिन्न विद्यार्थी संघ संगठन र सि.व. क्याम्पस (हाल सुप विश्वविद्यालय)को विद्यार्थीले विरोध कार्यक्रम जारी राखेका थिए। यो कार्य उनीहरूलाई असह्य भएर उपचार प्रभावकारी नभएको बहानामा हामीलाई जवरजस्ती ल्याएर काठमाण्डौंस्थित छाउनी विरेन्द्र सैनिक अस्पतालमा उपचार गराउछु भनी धनगढी पुर्यायो र एयरपोर्टमा अलपत्र पारियो।

यसपछि विद्यार्थी आन्दोलनका कारणले हामीलाई सेती अस्पतालमा राखी दोस्रो दिन बिहान १२ बजेतिर त्यहाँबाट काठमाण्डौं पुर्याइयो र उक्त सैनिक अस्पतालमा भर्ना गरियो। तत्पश्चात् हामीलाई हाम्रा आफन्तहरूसँग भेटघाट गर्न नदिई अस्पतालको सर्जिकल २ को व्याड नं. १३३, १३४ र १३५ वार्डमा सिमित राखियो। यसरी हामीहरू मिडियाबाट पनि टाढा रहेको बेला विभिन्न मानव अधिकारवादी संस्थाहरूको पहलमा केहि आफन्तहरूसँग भेटघाट गर्न सकिने स्थिती भयो। यसरी बाह्य संसार देख्न नपाउने गरी उपचारका नाममा थुनुवा अपराधी झै राखिएका हामीलाई राजाको निरंकुश सत्ताको उन्मादमा मात्तिएका शाही सेनाका कथित उपल्ला दर्जाका भनिनेहरू साँझ बिहान आएर मानव अधिकारवादी संघसंस्थालाई केही पनि भन्नु हुँदैन, शाही सेनाका बारेमा गलत कुरा बोल्नु हुँदैन त्यसले देश र नरेशको बदनाम हुन्छ। हाम्रो बदनाम भनेको राष्ट्रको बदनाम हो यसैले राष्ट्र र राष्ट्रियतालाई सोच भन्ने घिनलाग्दा अर्ति, उपदेश दिने र डर त्रास देखाउने गर्दथे। यसैगरी केही सेनाका उच्च पदाधिकारी खासगरी रूकमाङ्गत कटुवालले हामीलाई खास गरी मलाई सेकण्ड लेप्टन बनाउछु भनी लोभ लालच प्रलोभन दिन्थे भने डर र धम्की पनि दिन थाले। तर हामीहरूले निर्धक्कता साथ निरकुंशताको दास हुनु भन्दा जनताको छोरो भएर जनताको हक अधिकारका लागि सधैं जनताको माझमा रमाउन चाहन्छौ भनी तिनीहरूको मुखभरी जवाफ दियौं। हामीहरू अस्पतालमा छँदा त्यती सन्तोषजनक ढंगले उपचार भने भएन। हामीहरूलाई सधैं कडा निगरानीमा राखिएको थियो। यसरी तीन महिनासम्म उपचारका क्रममा सैनिक व्यारेकमा सेनाको धाक, धम्की र मानसिक यातनाका साथ जीवन बित्यो।

तीन महिनासम्म राष्ट्रिय र अन्तराष्ट्रिय मानव अधिकारवादी संघसंस्था बाहेक अरू कसैलाई पनि भेटघाट गर्न नपाउने गरी एउटै कोठामा नजरवन्द झैं राखियो। हामीले त्यतिखेर महसुस गरिरहेका थियौ कि हामी कुनै जेलको कुनामा बसिरहेका छौ। ट्वाइलेट र कोठाभित्र हाम्रो संसार थियो। लगभग तीन महिनाको लामो उपचार पश्चात संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धि कार्यालयको पहलमा मुक्ति दिलाइयो। यसपछि हामीहरूलाई सैनिक जहाजमा भीमदत्तनगर पुर्याइयो। त्यसपछि एक महिनासम्म उनीहरूले मेरो उपचार घरमा नै गरिदिए पछि आफैले तीन महिनासम्म उपचार गरेपछि हिँडडुल गर्न सक्ने भए यसरी उपचारकै क्रममा छ चोटी खुट्टाको घाउको अप्रेशन भयो र एकचोटी छालाको स्क्रिन ग्राफिटिलङ भयो।

टाउकोमा आठवटा टाका लागे अनि १० प्वाइन्ट रगत पनि चढाइएको थियो ।यसपछि मेरो उपचार Teaching Hospital र मोडेल अस्पतालमा भयो। रगत दान गर्नेतत्कालिन नेकपा एमाले केन्द्रिय कमिटि सदस्य उर्वादत्त पन्त, लगायत अन्य ९ जनालाई आफ्नो मूल्यवान रगत दिई मेरो जीवन जोगाई दिएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु।

यसैगरी शाही सत्ताको मतियारहरूबाट भएको यस जघन्य घटनाको विरोध गरी सहयोग गर्ने समाजका प्रवद्ध वर्ग, मानव अधिकारकर्मी, नागरिक समाज, विद्यार्थी पार्टीका सम्पूर्ण साथीहरू, भीमनदत्तगरवासी, सम्पूर्ण देशवासीलगायत खास गरेर भगतपुका न्यायप्रेमी जनता यसै गरी बिबीसी रेडियो, विभिन्न पत्रपत्रिका, कान्तिपुर खास गरी स्थानीय पत्रिका अभियान र यहाँका पत्रकार चित्रान थापा र खेम भण्डारीलाई विशेष धन्यवाद दिन चाहन्छु।

आफ्नो जीवनको प्रवाह नगरी संकटकालमा पनि मेरो यस घटनाको विरोध गर्नु भयो र अन्य सबै साथी शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सबैभन्दा बढी धन्यवादका पात्र छन् सि.व.क्याम्पसका विद्यार्थी साथीहरू जसले यो घटना तिव्र रूपमा विस्तार गरेका थिए भने मेरो मन निरास भइरहेको बेला मलाई स्ववियु सभापतिमा निर्वा्चित गराई मलाई बाँच्ने आधार र सहानुभूति दिएका थिए।

यसरी जीवनको प्रभातकालमै बन्दुकका कुन्दाको कुटाई र गोलीका घाउले मेरो शरीरमा क्यान्सर हुने खतरा बढाएको छ। अझै पनि मेरो तिघ्रा र पैतालामा ४०/४५ वटा गोलीका छर्राहरू झिक्न बाँकि छन्। हिँडडुल गर्दा अत्यन्तै दुख्ने गर्छन्। एक महिना अगाडी मात्र पनी एक्कासी दुखाई बढेर जाँच गराउन जाँदा मासुमा रहेका गोलीका छर्राहरु एक ठाउँमा जम्मा भएको र त्यसलाई निकाल्नु पर्ने धुलिखेल अस्पतालका डाक्टरहरुको सल्लाह बमोजिम सोहि अस्पतालमा सल्यक्रिया गरी एक महिना भन्दा बढीको बेड रेस्ट पश्चात सामान्य हिड्दुल गर्न सुरु गरेको छु। डाक्टरहरू भन्छन्, मासु भित्रै रहेका गोलीका छर्रा हरुले गर्दा भविस्यमा समेत यस्तो खालको सल्यक्रिया गराइरहनु पर्ने हुन्छ।

मेरो राजनैतिक संघर्ष जीवन मरणको दोसादबाट सुरु भएको हो र मैले मेरा जीवनका सुनौला दुई दशक वर्ष अनेरास्ववियु लाई दिएको छु। सबै विद्यार्थी साथीहरु र जनताको सहयोग र सहानुभुतिका कारण मैले मृत्युलाई जितेर आम विद्यार्थी हरुको लागि काम गर्ने मौका पाएँ, जुन मेरो लागि गौरवको विषय हो।

सिद्धनाथ बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटिको सहसचिव बाट सुरु भएको मेरो विद्यार्थी राजनीति जिल्ला कमिटि, अंचल, क्षेत्र, सोहि क्याम्पस को निर्वाचित स्ववियु सभापति हुँदै केन्द्रिय कमिटिमा सचिवालय सदस्यसम्म आएर औपचारिक रुपमा रोकिए पनि म निरन्तर रुपमा आम देशप्रेमी विद्यार्थीको हक र हितको लागि आन्दोलनको अग्रमोर्चामा छु र रहनेछु।

विद्यार्थीको औपचारिक जिम्मेवारीबाट बिदा लिएपछि म तत्कालीन नेकपा एमालेको जिल्ला तह, अञ्चल तह हुँदै अहिले नेकपाको सुदूरपश्चिम प्रदेश कमिटिमा रहेर निरन्तर जनताको माझमा छु। मेरो प्रतिबद्धतामा कमि आएको छैन। शारिरीक रूपमा असक्त भएता पनि मानसिक रूपमा सबल छु र एक मुठ्ठी सास र एक थोपा रगत रहुन्जेलसम्म देश र जनताको निम्ति निरन्तर संघर्षको मैदानमा डटिरहने प्रण गर्दछु।

र अन्तमा, अहिले विश्वसहित नेपाल पनि कोभिड १९ को महामारीसंग लडिरहनु परेको विषम परिस्थितिमा समेत राजनैतिक वृतमा देखिएको पुरानै अंक गणितीय खेलले म जस्ता गणतन्त्र को लागि रगत र पसिना बगाएका कयौ योद्दा हरुको मन दुखिरहेको छ।

विभिन्न घटना क्रमले निम्त्याएको अन्यौलको माहोल र नेपाली राजनीतिमासत्ता परिवर्तनकोे हल्लाले आम जनतामाझ निराशा उत्पन्न गराएको छ। यो बेला सम्पूर्णको ध्यान र राज्यको सम्पूर्ण शक्ति महामारी बिरुद्द एक हुनुपर्ने बेलामा मौजुदा सरकार ढालेर अर्को सरकारले कुनै चमत्कार गर्छ भन्नुबेमौसमी बाजा बजाउनु सरह हो।

यो सरकारलाई सबै मिलेर सफल बनाइ इतिहांसले दिएको अभिभारा पूरा गर्नु नै बुद्धिमानी हुनेछ। सरकारका कमी कमजोरीको विरोध गर्ने यो उपयुक्त बेला होइन ।लामो संघर्स बाट प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रलाई संथागत गर्ने र सम्पूर्ण राजनैतिक सक्ति हरु एक ढिका भएर महामारी संग लड्नु पर्ने अहिलेको अवस्था आवश्यकता हो। यो अवस्था भनेको कुनै पनि राजनैतिक पार्टीका एजेण्डा हरु स्थापित गराउने बेला होइन। यो विषम परिस्थिति संग लडेर आफ्ना नागरिकलाई राज्यको उपस्थितिको आभास गराउने यो नै उपयुक्त मौका हो।

राजनीति गर्नलाइ त फेरी पनि समय आउला, आफ्ना राजनैतिक मुद्दा स्थापित गराउने त फेरी पनि समय आउला तर आम नागरिक ले अहिले राज्यबाट पाउनुपर्ने अभिभावकत्व को महसुस गर्न सकेनन भने न राजनीति गर्ने ठाउ बच्छ न राजनैतिक दल का मुद्दा नै काम लाग्छन्। लामो अस्थिरताबाट विस्तारै स्थिरता तिर बामे सर्ने बेलामा अकस्मात फैलिएको यो महामारीलाई हामी सब एक भएर उपयुक्त व्यवस्थापन गर्न चुक्यौ भने निश्चित रूपमा देश बर्वादीको दिशा तर्फ धकेलिने छ। यसले हाम्रो भविष्यलाई अन्धकारमय बनाउने छ।

हामीले बेलाबेलामा गरेका आन्दोलन र संघर्ष को अपमान हुनेछ, हजारौ नेपालीको रगतको अपमान हुनेछ र हजारौ सहिदको अपमान हुनेछ । तिम्रो भलाई हाम्रो भलाइ, तिम्रो पिडा हाम्रो पिडा भन्ने मान्यता का साथ अगाडि बढौ। बनाउन भन्दा भात्काउन समय लाग्दैन।

ठूलो मिहिनेतले गरेको पार्टी एकता र झन्डै दुई तिहाइको बहुमत सहितको स्थिर सरकारलाई कमजोर बनाउने काम नगरौ, इतिहासले धिक्कार्छ। पार्टीका आम कार्यकर्ता, जसलाई कुनै स्वार्थ छैन, सत्ताको खेल जान्दैनन,उनिहरुलाई धक्का लाग्ने देखिन्छ, उनका आंसुको बलिबेदीमा नयाँ षड्यन्त्र रची इतिहासमा कालो पात्र बन्ने प्रयास नगरौं।

कमि कमजोरी जसका पनि हुन्छन्। परीक्षामा उपस्थित भएपछी सतप्रतिशत नम्बर कोहिले पनि ल्याउँदैन तर बाटो सकारात्मक छ भने ५० प्रतिशतभन्दा माथि पनि राम्रै मानिन्छ। धेरै राम्रो र थोरै नराम्रो छ भने पनि त्यसलाई राम्रै मानिन्छ। अंश अंश लिएर समग्रलाई तिलान्जली नदिऔं। हो यो सरकारलाई सफल बनाउन बृहत छलफल गर्नुपर्छ होला, त्यसैले समूहिकतामा अगाडि बढौं तर नेतृत्वनै बदल्ने कुरा अहिले नगरौं।

यस्तो महामारिमा राति सपनामा सिंहदरवारको दिवा सपना देख्ने कोही पनि कम्युनिस्ट हुन् सक्दैनन। कम्युनिस्ट भनेको त सर्बहारा बर्गको नेतृत्व गर्ने, खुदै सर्वहारा हुने र त्याग तपस्या र बलिदानीको पर्याय हो। जित्नलाई सारा संसार छ तर गुमाउनको लागि केवल यो शरीर छ भन्ने भावनालाई आत्मसाथ गर्नु जरुरी छ। यो बेला व्यक्तिगत स्वार्थ, दलगत स्वार्थलाई छाडी राष्ट्रिय स्वार्थलाई अपनाउने हो। दुई तिहाईको बलियो सरकार को बिकल्प खोज्दा अर्को सरकार झन् कमजोर र उपनिवेशी चरित्र को हुनेछ अनी यो संबिधान को कार्यान्वयनको सान्दर्भिकता कमजोर हुनेछ।

अहिले व्यक्ति ठुलो बन्नेहोइन, यो महामारी बाट खस्केको मनस्थितिलाई उकासेर भय–त्रासको वातावारणलाई कम गरी नेपाली जनताको आखामा खुसियाली ल्याउन पर्ने समय हो। कसैलाई घाटा वा नाफाको राजनीति होला तर आम नेपालीहरुको लागि यो जीवन मरण को लडाई हो, यसमा सबैको साथ, समर्थन र सहयोग गरि अगाडि बढौं, सत्ता लुछाचुडीको खेल मा नलागौं।

लेखक पन्त नेकपा, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं (जनान्दोलन घाइते हुन्) यो उनको निजी विचार हो।

सम्बन्धित पाेष्टहरु
Loading...