Unity Khabar

कोरोनाले प्रभावित बनेको ‘नेपाल भ्रमण वर्ष’

  • दिनेश नागारी

नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने भनेर लगभग ठूलो तयारी गरेर घोषणा नै गर्यो। यो वर्ष विश्वका २० लाख पर्यटकहरुलाइ नेपाल भित्र्याउने र नेपाल र नेपालीको भविष्यलाई निक्कै सुन्दर क्षितिजमा पुर्याउने नेपालीहरुको आयस्तर बढाउने तथा नेपालका हरेक प्राकृतिक सौन्दर्य सम्पदाहरुको बिकास,बिस्तार तथा प्रचारप्रसार गर्ने सपना बोकेर नेपाल भ्रमण वर्ष घोषणा त भयो। तर, तिमीलाई देखिनसहने कोरोना भाइरस तिमीभन्दा अघि नै चिनमा देखापर्यो।

समान्यरुपमा हेर्दा तिमी कति अभागी है? तिमी राम्रोसँग फूल्न सकेनौ र मीठो सुवास छर्न सकेनौं। तिमिले सानोछदा नै टुहुरो हुनुपर्यो। तर तिमीसँग ३ करोड नेपालीको भाग्य जोडिएको थियो। तिमीसँग हरेक बस्ती र घरका आशाहरु जोडिएका थिए। तिमीसँग नेपाल र नेपालीलाई माया गर्ने असल छिमेकी रास्ट्र र त्यहाँ बस्ने असल व्यक्तिहरुको साइनो जोडिएको थियो। आज सबै सपनाहरु आशाहरु र सबै खुसीहरु तिम्राविरुद्ध देखा परेको त्यो भाइरसले विश्वलाइ आतंकित र त्रसित गराइरहेको छ।

हामीले विश्वका लाखौं मानिसहरुलाई नेपालमा स्वागत गर्ने र नेपालको मौलिक परिकारहरुद्वार स्वागत, सत्कार तथा सम्मान गर्ने सोच र तयारी गरेका थियौं। हामी विश्वका धेरै मानिसहरुलाई नेपालको स्वच्छ र चिसो पानी बग्ने तमाम नदिहरुमा पिकनिकका लागि स्वागत गरेर बसिरहेका थियौँ।

हामी हरेक सभ्यता र संस्कृतिका अनेकन प्रस्तुतिहरुद्वारा नेपाल आउने लाखौँ पर्यटकहरुलाइ अतिथिको रुपमा सम्मान गर्न तयार थियौँ। यो वर्ष संसारका धेरैभन्दा धेरै व्यक्तिहरुलाइ नेपाल भित्राउन हरेक गाडी, सार्वजनिक स्थान, चोक, गल्ली, सहरमा नेपाल भ्रमण वर्षको व्यापक प्रचारप्रसार गर्नेगरी पर्चा पम्पलेटिकरण तथा हरेक सरकारी कार्यालयमा प्रयोग गरिने लेटरप्याडमा समेत नेपाल भ्रमण वर्षको लोगो राखेर आवश्यक तयारी प्रचार गरिरहेका थियौं।

नेपालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरुको खुसीको दिन आउँछन् कि भनेर नेपालका सबै मान्छेहरु अपेक्षामा थियौं। हामी हाम्रो सभ्यता विश्वका सबै मुलुकमा निर्यात गर्न तयार थियौं। हामी हाम्रो भेष–भूषा रहन सहन तथा रितिरीवाज सबै मुलुकमा विस्तार तथा बाँड्न चाहान्थ्यौँ। विश्वका धेरैजसो मुलुकमा नेपाली सँस्कृती,नेपाली मूल्यमान्यता, नेपाली चालचलन, नेपाली मौलिकता तथा नेपाली आदर्श र नेपाली पहिचान विस्तार गर्न चाहान्थ्यौं।

हामी नेपालीहरु नेपालको राष्ट्रिय एकता,मेलमिलाप तथा आपसी सदभावलाइ बेदेशी मुलुकहरूमा चिनाउन चाहान्थ्यौँ। तर नेपाल भ्रमण वर्ष तिमी यसरी गिजोलिएर आयौं कि तिम्रा हरेक सपनाहरु,तिम्रा हरेक खुसीहरु,तिम्रा हरेक चाहनाहरुमाथि ठूलो बज्रपात भएको छ। आज तिम्रा धेरै सपनाहरुलाई चकनाचुर गर्ने, सिध्याउने, मार्ने र ध्वस्त गर्ने गरि यहाँ विश्वमा निक्कै ठूलो संकट डर त्रास र आतंक श्रीजना भएको छ।

आज तिमीले दिने खुसी र सफलतामाथि तिम्ले ल्याउने बसन्तका हरेक उपहारमाथि आज तिमीले साचेका हरेक समृद्धिका नयाँ यात्राहरुमाथि फेरि कसैले धावा बोलेको छ। कसैले तिम्राविरुद्द नाङ्गो खुकुरी प्रदर्शन गरिरहेको छ। आज तिम्राविरुद्द लागेको भाइरसकाविरुद्ध संसारका शक्तिशाली मुलुकहरु घुडा टेकाउन तयार छन् या विवश छन्। कठै नेपाल भ्रमण वर्ष तिमी कति अभागी है? तिमी कति गरीब है? तिमीले नेपाल बोलाउने र ल्याउने भनेका यो जगतका मान्छेहरु त कहाँ हो कहाँ आज आफ्नै देशका नागरिकहरु,आज आफ्नै देशका रक्षकहरु, आज आफ्नै देशका कुसल सिपाहीहरु, आज आफ्नै देशका भक्तहरु विदेशी भूमि र माटोमा आफ्नो देशको नाम जप्दै बिरक्तिरहेका छन्, विलाप गरिरहेकाछन्,रुँदै कराइरहेका छन्, हे आमा नेपाल! म नेपाली हुँ, म नेपाल आउन चाहान्छु, म नेपाली भूमि र नेपाली माटोमा आफ्नो रगतको साइनो जोड्न चाहान्छु भन्नुपर्ने बेला आएको छ पृय नेपाल भ्रमण वर्ष!

यो अवस्था कति टीठ लाग्दो हो। यो अवस्था कति दर्दनाक र कति भयभित छ होला? जो हाम्रो मुलुकमा गाँस, बाँस र कपासको आवश्यक प्रवन्ध र व्यवस्थापन गर्न नसकेर अर्काको मुलुकमा छाक टार्ने बाध्य छन्। जो हरेक बिहान र रात नेपाली भूमि र माटोको रक्षाको गीत गाएर नेपाल आउन नपाएर सिमानाकामा बग्ने ठूल्ठूला नदिहरुमा कि बाच्छौं नेपालका लागि कि मर्छौ नदीमा हाम फाल्छौँ भन्ने अवस्थामा पुगिरहेका छन्।

आज आएर यो दुनियाँका मान्छेहरुलाइ नेपाल भित्राउने शौभाग्य नेपालसँग रहेन। आज आएर विश्वका लाखौं व्यक्तिहरुलाइ नेपालका धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पत्तिहरुको दृश्यावलोकन गराउने हैसियत नेपालसँग रहेन। आज नेपाल मात्रै होइन, धेरै मुलुकहरू ठूलो संकटको सामना गरिरहेका छन्। हुँदै गर्दा आज कर्णालीको पुल विदेशी पाहुनाहरुको स्वागत गर्न नपाएर छट्पटीएको मात्रै छैन, कर्णाली प्रदेशका मानिसहरु जो कामको शिलशिलामा बाहिर छन्। तिनीहरुलाई आफ्नो माटोमा बोलाउन, ल्याउन र सुरक्षित राख्न नपाउँदा अत्यन्तै दुखित छ।

आज सुदुरपश्चिम प्रदेश, आज सबै प्रदेशहरु चिन्तित, दुखित भएका छन्। आज रारा र फेवातालहरु निस्सासिएका छन् एकोहोरो भएका छन्। प्रश्न गरिरहेका छन् हामी एक्लाएक्लै किन? आज पशुपती नाथ क्षेत्रले भनिरहेको छ, ‘मलाइ एक्लै किन छोड्यौँ?’

जनकपुरधाम, गोसाइँकुण्ड र मनकामनाले आफू एक्लिएको महसुस गरिरहेका छन्। खप्तड, इलामको चियाबगान, कञ्चनपुरको दोधारा झोलुङ्गे पुलले विदेशी तथा स्वदेशी पाहुनाहरु बोलाउन नपाएको गुनासो गरिरहेको छ। मनाङ मुस्ताङ तथा धौलागिरी र अन्नपूर्णहरु एकान्तमा बिरही गीत गाउन तम्सिरहेका छन्। सगरमाथा र मकालू हिमाललहरु पनि निक्कै बिरक्तिएका छन्। कठैकठ जसरी हामीले विदेशी मुलुकबाट धेरैभन्दा धेरै मानिसहरुलाई नेपाल भित्र्याउने र नेपालको सर्वपक्षिय हित, उन्नती र प्रगति खोज्ने कुरा गरिरहेका थियौँ तर आज त्यो हुन सकेन।यो भवितव्य हो। परिस्थितिले हरेक कुराको निर्धारण र मापन गर्दो रहेछ। हामीले परिस्थिती अनुसार व्यबहार र सम्बन्ध कायम गर्न सकेनौ भने हाम्रा हरेक सम्भावनाहरुको अन्त्य हुन सक्छ।

हामी अहिले निक्कै विषम परिस्थितिमा छौँ। आज विश्व मानव समुदाय आफ्नै पिरलो, दुख र कठिनाइ झेलिरहेको छ, सामना गरिरहेको छ र लडिरहेको छ। आज विश्व घाइते भएको छ। विश्व आक्रान्त भैरहेको छ। त्यसैले नेपाल भ्रमण वर्ष तिमी मात्रै होइनौँ यहाँ दुखमा बाचेको,तिमीले मात्रै होइन, नेपाल भ्रमण वर्ष।

यहाँ अभावमा दिन कटिरहेको। यहाँ हजारौं हजार नेपालीहरु भोक, गरिबी र अभावसँग लडिरहेका छन्। धेरै मानिसहरु आज अस्पतालको चिसोमा दिन व्यतित गरिरहेका छन्। धेरै जसो सर्वसाधारण आज पराइ मुलुकमा नेपाल आउन रोइकराइ गरिरहेका छन्। आउन नपाएर ,समयमै उपचार नपाएर धेरैले बिदेशी भूमिमै प्राण उत्सर्ग गरिरहेका छन् नेपाल भ्रमण वर्ष।

आजको दिनसम्म आउँदै गर्दा मैले तिम्रो सुरुवातीका धेरै दिनसम्म नेपाल भ्रमण बर्षलाई सफल पारौं भनेर लेखेको र बोलेको पनि छु है। म सम्झिरहेको छु पल्ला गरे काकीले बिदेशी पाहुनाका लागि हो है भनेर राखेको त्यो गुन्द्रुक त्यो सुकाएको माछा र अलिकति कोदाको धूलो। आज छदैछ कि सकियो माइलो दाइले पर्यटकहरुका लागि तयार गरेको मह,घ्यु र कागतिको चूक। इलामकी पार्वती दिदीले त्यो शुद्ध चिया पोको पारेर राखेकै छन् कि बेचिन नेपाल भ्रमण वर्ष?

यी सबै कहालिलाग्दो घटना र खबरहरुको कत्तिपनी चिन्ता नगरेर तिमी जानै लाग्दा यहाँ धेरै सम्पदाहरु तिमिलाइ पछ्याउँदै छन्। तिमिलाइ यो वर्ष राम्रोसँग सेवा सत्कार र स्वागत गर्न नसकेकोमा लुम्बिनी र बराहक्षेत्र आफैमा दुखित छदैछन भने धेरै नेपालीहरु झनै चिन्तित छन्। तर हेरन नेपाल भ्रमण बर्ष तिमी कति अभागी है?

तिमीले बोलाउने भनेका विश्वका लाखौं मानिस त कहाँ हो कहाँ। आफ्नै भूमिमा जन्मेका र धेरै वर्ष नेपालकै लागि पसिना बगाएका नेपालीहरु समेत बिदेशवाट नेपाल आउन नसकेको खबरले मेरो मात्रै होइन तिम्रो पनि आत्मा दुखी नै भएको होला नि है। तर जति हामी नेपालीहरु नेपाल आउन नसकेकोमा दुखी छौँ त्यत्तिक दुखी त हामी नेपालीहरु जो जहाँ छौँ र छन त्यँही सुरक्षितरुपमा नबसेकोमा दुखी छौँ नि है भिजिट नेपाल। यो बेला भनेको परिस्थितिले बाह्य मुलुकबाट अन्य मुलुकका मान्छेहरु पर्यटककारुपमा नेपाल बोलाउने त कहाँ हो कहाँ, आफ्नै घरबाट बाहिर आवतजावत नगर्नेसम्मको स्थिति बन्न पुग्यो त नेपाल भ्रमण वर्ष। तर पनि केही छैन –तिमिलाई आउँदो निकट वर्षमा यो माटो र भूमिमा छिट्टै स्वागत र सम्मान गर्न पाउँ! नेपाल भ्रमण वर्ष !

अन्त्यमा, सुरक्षित रुपमा घरमै बसौं, नेपाल भ्रमण वर्ष (विश्व मानव समुदायका) विरुद्धको यो आतंकको खुलेरै सामना गरौं धन्यवाद !!!

लेखक नागारी पुर्चौडी नगरपालिका बैतडीका शिक्षा संयोजक हुन्।

सम्बन्धित पाेष्टहरु
Loading...