Unity Khabar

बाजुरामा शव वाहन नहुँदा टिपरले शव बोक्नु पर्ने बाध्यता

बाजुरा: बाजुरामा शव वाहन नहुँदा कोरोनाबाट मृत्यु भएकालाई फोहोर फाल्ने टिपर र यात्रुवाहक जिपमा बोकेर लग्ने गरिएको छ । जिल्लाभर शव वाहन नहुँदा बडिमालिका नगरपालिकाको फोहोर बोक्ने टिपरले शव बोक्ने गरेको हो । केही दिन पहिला नगरपालिको यात्रु बोक्ने जिप भाडामा लगेपछि अहिले उसैले शव बोकेर घाटसम्म पुर्‍याउने गरेको छ ।

बाजुरामा कोरोनाको दोस्रो लहर सुरु भएपछि हालसम्म ५ जनाको मृत्यु भइसकेको छ । बाजुरा अस्पतालले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र गाडीमा शव बोक्नुपरेको बडिमालिका नगरपालिकाले जनाएको छ ।

जिल्ला अस्पताल बाजुराले आर्थिक वर्ष २०७६/७७ मा शव वाहन खरिदका लागि आएको रकम खरिद गर्न नसकेर फिर्ता गएको थियो । यो आर्थिक वर्षको साउनमै शव वाहन र एम्बुलेन्स खरिदका लागि १५ लाख रुपैयाँका दरले प्रदेश सरकारले पैसा पठाए पनि अहिलेसम्म खरिद प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन ।

जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडीमा शव वाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामीले समस्या भोग्नु परेको छ । जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डा. प्रकाश जोशीले शव वाहन नहुँदा निकै समस्या भएको सुनाए ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी पनि सदरमुकाम मार्तडीमै एउटा शव वाहन नहुँदा निकै समस्या देखिएको बताउँछन् । उनले भने, ‘अहिले बडिमालिका नगरपालिकाले निजी गाडी भाडामा लिएको छ । तत्काल एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गरिनेछ ।’

सम्बन्धित पाेष्टहरु
Loading...