Unity Khabar

अभावको सास्ती भोग्दै कोरोना संक्रमितहरू

ललित बोहरा , डडेल्धुरा : बैतडीको पाटन नगरपालिका वडा नम्बर १ डंसिली गाउँका ४४ वर्षीय एक शिक्षक जगदिश जोशी (नाम परिवर्तन) लाई बैशाख २२ गते ज्वरो आउने, खोकी लाग्ने लक्षण देखियो । उनको स्वास्थ्य अवस्था कमजोर हुन थालेपछि उनलाई डंसिलीगाउँबाट पाँच घण्टाको सडक यात्रापछि डडेल्धुरा अस्पताल पु¥याइयो । अस्पतालका डाक्टरले उनमा कोरोनो लक्षण देखिएकाले तत्काल परीक्षण गर्न सुझाव दिए । उनी स्वाब दिएर फर्के । त्यहीँ दिन राती उनको मोवाइलमा रिपोर्ट आयो । उनमा कोरोना संक्रमण पोजेटिभ देखियो ।
आफू कोरोना संक्रमित भएको पुष्टि भएपछि उनी अर्कोदिन फेरि डडेल्धुरा अस्पताल पुगे । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था “नर्मल” रहेकोले होम आइसोलेशनमा बस्न सुझाव दिए । तर, उनी घर जाँदा परिवारका अरु सदस्यलाई समेत कोरोना संक्रमण हुनसक्छ भन्ने डरले घर गएनन् । डडेल्धुरा सदरमुकामको एउटा होटलमा कोठा लिएर बसे । होटलमा बसेको दुई दिनपछि उनलाई सास फेर्न गाह्रो हुन थाल्यो । जगदिश फेरि अस्पताल पुगे । तर त्यतिवेलासम्म अस्पतालका वेडहरू सबै भरिसकेका थिए । अक्सिजनसहितको वेडहरू थिएनन् ।

त्यतिवेलाको अवस्था स्मरण गर्दै जगदिशका भाई बलरामले भने– डाक्टरले दाजुको अक्सिजन लेवल कम भएकोले अस्पतालमा भर्ना गर्नुपर्ने बताए । दिनभर अक्सिजन सहितको वेडको लागि प्रयास ग¥यौं, तर पाइनौं ।
अस्पतालमा अक्सिजन सहितको वेड नपाएपछि आफूले आफन्त, नेताहरूलाई गुहारेको उनले बताए । “दाजुलाई बचाउन धेरैलाई फोन ग¥यौं, अक्सिजनका लागि हारगुहार ग¥यौं, तर पाइएन । केही सीप नलागेपछि दाजुलाई घर लैजाने निर्णय ग¥यौं ।

घर पुगेपछि केही दाजु (जगदीश) ले केही सहज महसुस गरेको बलरामले स्मरण गरे । “घर पुगेपछि दाजुले केही सञ्चो महसुस गर्नुभयो” उनले भने– तर, केही दिनपछि उहाँमा निमोनियासंगै स्वासप्रस्वासको समस्या आउन थाल्यो । २९ गते (बैशाख) राती बैतडी जिल्ला अस्पतालमा अक्सिजनसहितको बेड उपलब्ध हुने जानकारी पाएपछि छ घण्टाको दुरीमा रहेका बैतडी गोठलापानीस्थित जिल्ला अस्पताल पु¥यायौं ।
अस्पतालका डाक्टरले जगदीशको अक्सिजन लेवल ४१ मात्र रहेकाले उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताए । “अस्पताल पु¥याएको एक घन्टापछि दाजुुको निधन भयो” बलरामले भने ।

डडेल्धुराको परशुराम नगरपालिका १० का ७३ वर्षीय सहदेव (नाम परिवर्तन) को पनि भेन्टिलेटर र अक्सिजनको अभावमा ज्यान गयो । बैशाख २४ गते स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई जोगबुडा अस्पतालले डडेल्धुरा अस्पतालमा रेफर ग¥यो । डडेल्धुरा अस्पतालमा पनि उनले अक्सिजन सहितको भेन्टिलेटर वेड पाएनन् । उनलाई अस्पतालको परिसरमै राखियो । केही बेरपछि उनको मृत्यु भयो ।
जोगबुडा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले सहदेवको स्वासप्रस्वासमा गम्भीर समस्या देखिएपछि बैशाख २४ गते जोगबुढा अस्पतालमा भर्ना गरिएको बताए ।
उनले भने– हाम्रो अस्पतालमा अक्सिजन थिएन । २५ गते केही सिलिन्डर अक्सिजन आयो, तर भेन्टिलेटर सेवा त अहिले पनि उपलब्ध छैन ।
डडेल्धुरा अस्पतालमा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका बिरामीहरू उपचारका लागि आउने गरेका छन् । आफ्नै अक्सिजन प्लान्ट समेत रहेको भए पनि बिरामीको चापले गर्दा सधैं अभाव हुने गरेको छ ।

प्लान्ट छ, अक्सिजन अभाव छ

डडेल्धुरा अस्पताल संघीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एक मात्र अस्पताल हो । डडेल्धुरा अस्तपालसंग आफ्नो अक्सिजन प्लान्ट छ । सो प्लान्टबाट दैनिक २७ सिलिण्डर अक्सिजन भर्ने क्षमता रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदीशचन्द्र बिष्टले जानकारी दिए । उनले भने– एक पटकमा ११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सक्छौं, तर कोेरोना संक्रमण भएको वेला यस पटक एकै पटक ३४ जनालाई अक्सिजन उपलब्ध गराउनु प¥यो ।
डडेल्धुरा अस्पतालमा पाँच वटा आइसीयु वेड छन् । तीन वटा भेन्टिलेटर वेड छन् । मेडिकल सुपरीटेन्डेन्ट डाक्टर बिष्टका अनुसार अहिलेसम्म ३. जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।
कोरोनाको दोस्रो भेरिएन्ट फैलिएयता डडेल्धुरा अस्पतालमा कोरोनाका ५१ महिला र ९८ पुरुष गरि १ सय ४९ बिरामी उपचारका लागि भर्ना भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर चेतराज भट्टले बताए । डडेल्धुरा अस्पतालले कागजी रुपमा १ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरेको छ । कोभिड–१९ फोकल पर्सन डाक्टर भट्टले भने–अस्पतालमा भर्ना नै नगरि अन्यत्र गएका कोरोना संक्रमितहरूको तथ्यांक हामीसंग छैन ।

सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बाजुरा, बझाङ, दार्चुला र बैतडीका अस्पतालहरूले थप उपचारका लागि डडेल्धुरा अस्पतालमा बिरामीहरू रेफर गर्ने गरेका छन् । बैशाखको तेस्रो र अन्तिम साता बिरामीहरूको चाप बढेसंगै अक्सिजन अभाव भएपछि अस्पतालले अक्सिजन सपोर्टबाट उपचार गर्नु पर्ने थप कोरोना संक्रमितहरूलाई तत्काल भर्ना गर्न नसक्ने भनेर विज्ञप्ती जारी गरेको थियो ।

डडेल्धुरा अस्पतालले पाइपलाइनबाट वेडसम्म अक्सिजन आपूर्तिको व्यवस्था मिलाएको छ । फोकल पर्सन डाक्टर भट्टले भने– छिटो सिलिण्डर भर्न सक्ने अक्सिजन प्लान्टको आवश्यकता भइसकेको छ ।
अस्पतालका आइसियु विभाग इन्चार्ज डाक्टर तीर्थ भण्डारीले जनशक्तिको कमी भए पनि जसोतसो आइसियु व्यवस्थापन गरिएको बताए । उनले भने– हामीले हाम्रो क्षमताभन्दा बढी व्यवस्थापन ग¥यौं । केही साता त आईसीयु, एचडीयु सबै वार्ड बिरामीले भरिए । धेरै चुनौतिको सामना गर्नुप¥यो, तर पनि हामीले आफ्नो क्षमताले भ्याएसम्म काम ग¥यौं ।

उनले थपे– सबै स्थानीय तहमा कम्तिमा १० वटा अक्सिजन सिलिन्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्टेटर तत्काल व्यवस्था गर्नेगरी आवश्यक समन्वय गर्नुपर्दथ्यो, तर त्यस्तो हुननसक्दा डडेल्धुरा अस्पतालमा नै भर पर्नुपर्ने अवस्था सिर्जना भयो ।
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले अहिले संघीय सरकारले अक्सिजन प्लान्ट स्थापनाका लागि निर्णय गरे पनि निर्णय भएको धेरै दिनसम्म पनि काम अघि नबढेको बताए । उनले भने– सरकारले अक्सिजन प्लान्ट जडानका लागि निर्णय गरेको सुनियो, तर कुनै काम भएको छैन ।

जनशक्ति अभाव

डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको कमी छ । यस पटक डडेल्धुरा अस्पतालमा कोरोना संक्रमितहरूको संख्यामा ह्वात्तै बृद्धि भए पनि जनशक्तिको कमीका कारण उपचारमा समस्या बेहोर्नु परेको चिकित्सकहरूले बताए ।
डडेल्धुरा अस्पतालमा अहिले २२ जना सक्रिय कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालको आइसियुमा पाँच जना नर्सिङ स्टाफ रहेका छन् । आईसीयुमा उपचार गराउनु पर्ने बिरामीको संख्या बढेकोले नर्स तथा चिकित्सकहरूले साताको सबै दिन काम गर्नु परेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर बिष्टले बताए ।

डडेल्धुरामा कोरोना संक्रमितको अवस्था
कोरोना महामारीको दोस्रो लहरमा डडेल्धुरामा अहिलेसम्म आठ सय ८१ जना संक्रमित भएको स्वास्थ्य कार्यालय, डडेल्धुराको तथ्याङकमा उल्लेख छ । तीमध्ये हाल तीन सय ८७ जना सक्रिय संक्रमित रहेका छन् । एक सय ३० जनाले कोरोना जितेका छन् भने कोरोना संक्रमणबाट हालसम्म १४ जनाको मुत्यु भएको छ ।
डडेल्धुरा जिल्लाका सबै सात स्थानीय तहहरूले पहिलो चरणको कोरोना कहरका समयमा आआफ्नो ठाउँमा आईसोलेसन वार्ड निर्माण गरेका थिए । ती आइसोलेशन वार्डहरूलाई कोरोना विशेष अस्पतालमा परिणत गरियो । जिल्लाका सात स्थानीय तहमा ९० वेडको आईसोलेसन सेन्टर रहेकोे जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । जोगबुडा अस्पताल र डडेल्धुरा अस्पतालमा कोरोना संक्रमितहरूको उपचार हुने गरेको छ । जिल्लाका ५२ वटा स्वास्थ्यचौकीहरूले शंकास्पद व्यक्तिको स्वाब संकलन गरेर पठाउने गरेको समैजी स्वास्थ्य चौकी इन्चार्ज गणेश पालले बताए । एउटा निजी अस्पताल रहेको छ । सो अस्पतालका प्रमुख निर्मला भट्टले सो अस्पतालमा कोरोना संक्रमितहरू बाहेकका बिरामीको मात्र उपचार हुने गरेको बताइन् ।

डडेल्धुराका अमरगढी र परशुराम नगरपालिका तथा नवदुर्गा र अजयमेरु गाउँपालिकाले आन्तरिक स्रोतबाट चिकित्सक भर्ना गरेका छन् ।
नवदुर्गा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दिपेन्द्र बिष्टले सामान्य लक्षण देखिएका तथा होमआईसोलेसन बस्न नसक्ने कोरोना संक्रमितहरूलाई मात्र स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना गर्ने गरिएको बताए । उनले भने– हामीले जे जस्तो बनाए पनि यहाँका नागरिक बस्न मान्दैनन् । हामीसंग जे जति स्रोतसाधन छ त्यसैका भरमा उपचार गरिरहेका छौं ।

 

 

 

सम्बन्धित पाेष्टहरु
Loading...