Unity Khabar

डिभिजन वनले घरमा आगो लगाएपछि परशुराममा एक परिवारको विचल्ली

डडेल्धुराः डिभिजन वन कार्यालय डडेल्धुराले  एक व्यक्तिको घर जलाइदिएको छ। जिल्लाको परशुराम नगरपालिका–११ सिमलबण्डाका मानबहादुर बिष्टको घर ऐलानी जग्गामा बनाएको भन्दै डिभिजन वन कार्यालय डडेल्धुराले जलाइदिएको हो।

बिष्टको घर वनले जलाइदिएपछि अहिले उनकाे बिचल्ली भएकाे छ। उनी कञ्चनपुरमा छोरीको घरमा बसेका छन्। एक हप्ता अगाडी मेरो घरमा आगो लगाइदिएपछि पशु चौपाए उतै छोडेर कञ्चनपुर पुगेको विष्टले युनिटी खबरलाई जानकारी दिए।

जोगबुढा क्षेत्रमा अधिकांशको घर ऐलानी जग्गामा बनाइएको भएपनि व्यक्तिगत रिसीबिको कारण आफ्नो घर मात्रै जलाएको बिष्टले बताए।

‘घरमा दुई बुढाबुढी थियौँ। एउटा छोरा पनि छ। छोरा अलग भएको छ। विगत १०–१५ वर्षदेखि ऐलानी जग्गा बनाएको थिए,’ उनले भने, ‘प्रहरी प्रशासन र सामुदायिक वन र सव डिभिजन वनका व्यक्ति आएर घरमा आगजनी गरिदियो।’

अन्य स्थानीयको घर पनि ऐलानी जमिनमा छ भन्दा तिम्रो घर मात्रै जलाउन आएका हौँ भन्ने धम्की दिएको बिष्ट बताउँछन्। उनले बनाएको घर रौलेश्वर सामुदायिक वनमा रहेको थियो। कोरोना महमारीको समयमा वनले आफूमाथि क्रुर व्यवहार देखाएको उनी बताउँछन्।

मेरो लवाइ–खवाइ देखेर आफ्नै भाइले रिसीविको कारण बल प्रयोग गरेको उनको भनाइ छ। कोरोना महामारीको समयमा आफ्नो उठिबास गराइदिएको भन्दै उनले न्यायका लागि याचना गरे। सामुदायिक वनको जग्गामा घर बनाएकोले वनले घरमा आगजनी गरेको भन्ने सुनेको वडाअध्यक्ष मानसिंह महराले बताए।

‘स्थानीयबाट आगजनी गरेको भन्ने सुनेको थिए। त्यो बाहेक मलाई केही जानकारी छैन,’ वडाअध्यक्ष महराले भने।

रौलेश्वर सामुदायिक वनको जग्गामा दुई÷तीन वर्षदेखि घर बनाउँदै बिक्रि गर्दै गरेको भन्ने जानकारी पश्चात वनले अतिक्रमण हटाएको सहायक वन अधिकृत तथा सूचना अधिकारी
दिपेन्द्र केसीले जानकारी दिए।

वन मासेर घर बनाएर पहाडबाट आउनेलाई बिक्रि गर्ने गरेको भन्ने सूचनाको आधार र नयाँ घर भएकोले कारबाही गरेको उनको भनाइ छ। समूहबाट पत्राचार भएपछि हाम्रो टोली त्यहाँ गएर हेर्दा वन फडानी गरेको देखेपछि कारबाही गरेको उनी बताउँछन्।

‘ऐलानी र प्रति जग्गा हामीले छुट्याउँदैनौँ यो हाम्रो अधिकारको कुरा होइन्। वन कार्यालयले नयाँ र पुरानो घर हेर्छ। पहिलेदेखि बसिरहेकाको बारेमा हामी केही बोलेका छैनौं। सरकारले जस्तो कार्यविधि ल्याउँछ। हामीले सोही अनुसार कार्यान्वयन गर्ने हो,’ उनले भने।

सम्बन्धित पाेष्टहरु
Loading...