Unity Khabar

शोकमा भित्री मधेश : छोरी आमा खोज्दै, बुवा न्याय

अमर भन्छन् : अस्मिताका हत्या भएको हो

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका—८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामीको हत्या गरि शव फालेको आज पाँच दिन भयो। उनको मृत्यु पश्चात अहिले भित्री मधेश क्षेत्र तनावग्रस्त छ।

अस्मिताको गाउँ शोकमग्न छ भने उनका आफन्त घरमा आउँदा दैनिक रूवावासी चल्छ। जसकारण अहिले भित्री मधेश रोइरहेको छ। प्रहरीले शुक्ष्म अनुसन्धान भन्दै जिल्ला र प्रदेशको टोली खटाएर अनुसन्धान गरिरहेको छ।

डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल पनि घटनास्थलमै खटिएका छन्। तर, पाँच दिनसम्म प्रहरीले अनुसन्धानबारे जानकारी दिएकाे  छैन्।

घटना घटेको चार दिनमा अस्मिताको शव महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। प्रहरीले आधिकारीक रूपमा केही जानकारी नदिँदा पीडितले प्रहरीमाथि नै शंका गर्न थालेका छन्। श्रीमती बेपत्ता भएको दिनदेखि असह्य पिडामा छटपटाइ रहेका मृतकका श्रीमान अमर धामी अस्मितालाई मृत देखेपछि असह्य पीडाकाबीच न्यायको लागि लडाइँमा छन्।

सुख दुखमा सँगै बाँच्ने चाहा व्यक्त गर्दै अस्मिता र अमरले २०७२ सालमा प्रेम विवाह गरे। मध्यम परिवार भएपनि खेती किसानी गरि उनीहरूको जीवन जेन तेन चलिरहेको थियो।

‘धन भन्दा मन ठूलो’ भने झैं उनीहरू दुबै मिलेर सुख दुख साँट्दै जिन्दगीमा रमाइरहेका थिए। अस्मिता घर सम्हालेर बसिरहेकी थिइन् भने अमर स्वदेश–विदेश धाइरहेका थिए। खेती किसानी गरेर खाने उनीहरूको जीवनमा एकाएक खुसी भरिदैं थियो।

०७४ सालमा अस्मिताले परशुराम नगरपालिका–८ कै जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा काम गर्न थालेपछि उनीहरूको जिवन फेरिँदै थियो। घर खर्च चलाउन पनि सहज हुँदै गएको थियो। विदेशमा कोरोनाको संक्रमण फैलिएपछि अमर गत वर्षदेखि घरमै थिए।

अस्मिता कार्यालय जान्थिन्। अमर घरमा दुई छोरीको रेखदेख गर्थे। कोरोना महामारीको समयमा पनि अस्मिताले आफ्नो दायित्व पूरा गरिरहेकि थिइन्। अरू समयभन्दा कोरोना संक्रमण फैलिएपछि अस्मिताको जिम्मेवारी थपिएको थियो।

कहिले कोरोना परिक्षण त कहिले कोरोना खोपका सामाग्री यताउता पुर्योउँदा उनलाई घर जान पनि समय हुँन्थेन्। कहिले काँही घर जाने फूर्सद नभएर उनी आफन्तकोमा बस्थिन्। र,
दोस्रो दिन घर पुग्थिन्।

मामाको घर निर्माण भइरहेकाले त्यसअघि अमर दुई दिन घर गएका थिएनन्। असार १ गते उनी घर गए। अवस्था सबै ठिक थियो। अस्मिताले त्यो राती कोरोनाको खोप पुर्याउन जानू पर्ने अवस्थाबारे श्रीमान् अमरलाई जानकारी गराइनन्।

उजाडीयो फूल जस्तो घर
असार २ गतेको कुरा हो। अमर अस्मिता कार्यालय जानू अघि घरबाट निस्के। छोरीलाई आमा–बुवासँग छोडेर अस्मिता पनि कार्यालय गइन्। अमर साँझ घर आए तर, अस्मिता भने घरमा आएकि थिएनन्। अमरले फोन गर्दा मोबाइल ‘स्विच अफ’ भन्यो।

‘छोरी र मैले फोन गर्दा मोबाइल स्विच अफ भन्यो,’ अमरले भने, ‘यो भन्दा पहिले पनि कार्यालयको कामले बाहिर जाँदा आफन्तकोमा बस्थिन्। आज पनि कतै बसिन् होला भन्ने ठाने र धेरै चिन्ता गरिन्।’

अमरलाई अस्मिताले दोस्रो दिन फोन गर्लिन भन्ने आश थियो। तर, नत उनी घर आइन्। नत उनको फोन नै। त्यसपछि अमरले कार्यालय प्रमुखलाई फोन गरे। कार्यालय प्रमुखले भने, ‘खोप लिन गएकि छन्। आज आफन्तकोमा बस्छु, भोलिमात्रै कार्यालय पुग्छु भनेकी थिइन्, आउदै होलिन्।’

कार्यालय प्रमुखको कुरा सुनेपछि आउँदै होलिन् भन्ने लाग्यो। र, उनी नियमित काममै लागे। तर, भोलि पल्ट पनि अस्मिताको फोन लागेन। नत उनी घर आइन्। त्यसपछि भने अमरलाई भय र चिन्ताले सताउन थाल्यो। छोरीहरू पनि आमा खोज्न थाले।

छोरीलाई फकाउन उनले बिस्कुट र चाउँचाउँ किनिदिए। राती ८ बजेसम्म पनि अस्मिता नफर्केपछि उनले फेरी कार्यालय प्रमुखलाई फोन गरे, ‘म बुझेर खबर गर्छु’ उताबाट जवाफ आयो। अमरले आफन्त सबैलाई फोन गरेर सोधें। तर, कसैले पनि नदेखेको बताए।

छोरीहरूलाई फकाउँदै सुताएका उनी रातभरि सुत्न सकेनन्। एकै छिनमा बुझेर खबर गर्छु भनेका कार्यालय प्रमुखले बिहानसम्म फोन गरेनन्। अस्मिता आउँछिन भनेर पर्खेका उनको आशा मर्दै गयो। फेरि उनले बिहान जमरानी स्वास्थ्य केन्द्रमा फोन गरे। खोप पु¥याउनु पर्ने ठाउँमा पनि नपुगेको कार्यालयबाट थाहा पाए।

प्रहरीमा खबर
अमरले अस्मिता हराएको कुरा जोगबुडा प्रहरीलाई जानकारी दिए। आफन्तहरूले खोजी कार्य सुरु गरे। ४ गते आफन्त र प्रहरीले खोजी कार्य तीव्र पारे।

तर, कतै कहीँ भेटेनन्। निराश हुँदै फेरी घर फर्किएका अमरले छोरीहरूलाई भुलाउन हम्मे–हम्मे भयो। त्यो रात पनि भोक र अनिन्द्रामै बिताएका उनी बिहानबाट फेरि अस्मिताको खोजीमा लागे। प्रहरी र स्थानीयको संयुक्त टोलीले असार ५ गते शनिवार हट्टवानी सामुदायिक वनको एउटा खोल्सोमा मृत फेला पा¥यो।

‘मूलबाटो भन्दा करिब ६०–७० मिटर तल उनको शव विभत्स हत्या गरेर फालेको थियो। कोरोना खोप र चप्पल एकातिर थियो भने उनको शव अर्को तिर। साथमा मोबाइल पनि थिएन्,’ अमरले भने, ‘मेरो श्रीमतीको हत्या गरेर फालेको हो। शङ्का पनि कसमाथि गर्नु कसैसँग दुस्मनी थिएन। नसोचेको घटना भयो। अव न्यायको लडाइमा छु।’

मृत भेटिएको अस्मिताको तीनदिनपछि सोमवार जोगबुडा अस्पतालमा पोस्टमार्टम भएको थियो। ‘घटनाको प्रकृति हेर्दा हत्या नै गरेको हो। स्वयम् प्रहरीले पनि स्विकार गरेको थियो। तर, पोष्टमार्टम रिपोर्ट आएपनि अझैं दिएको छैन्,’ अमरले भने।

आफ्नै कर्मचारी मृत भेटिदा पनि खासै चाँसो नदिँदा उनी न्याय मिल्दैन कि भनेर निराश छन्। पोस्टमार्टम गर्न ढिलाइ गरेको कारण पनि उनीमा आशंका पैदा भएको छ।

नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको र सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन पनि गरिरहेको उनी बताउँछन्। मृतक अस्मिताका आफन्त नर बहादुर धामीले पनि उनको हत्या नै भएको दाबी गरे। घटनाको प्रकृति हेर्दा हत्या नै भएको देखिएको उनी बताउँछन्।

१० लाख राहत : शवको अन्त्येष्टि
अस्मिताको मंगलबार अन्त्येष्टि गरिएको छ। महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो। धामीका परिवारलाई परशुराम नगरपालिकाले १० लाख राहत दिने निर्णय गरेपछि आफन्तले शव बुझेका हुन्।

कार्यपालिकाको आकस्मीक बैठकले नगरपालिकाबाट ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय गरे पश्चात पिडित पक्षले शव बुझेको वडाअध्यक्ष गोविन्द बोहराले बताए।

के गर्दै छ प्रहरी ?
सुरुमा अस्मिताको हत्या भएको हो भनेर भनेको स्वयम् प्रहरी अहिले अत्या वा आत्महत्या के हो? भनेर भन्न नसक्ने बताउँदै आएको छ। अनुसन्धानकै क्रममा रहेको प्रहरीले फेला नपरेको उनको मोबाइल फेला पारेको छ।

घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ। धामीको शव जोगबुढा अस्पतालमा पोष्टमार्टम गरिएको थियो।

तर, अस्पतालमा हत्या वा बलात्कार के भएको थियो भन्ने स्पष्ट रिपोर्ट नआएपछि नमुनाहरू भिसेरा परिक्षणका लागि पठाइएको भन्दै डडेल्धुरा प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...