Unity Khabar

अस्मिताको हत्या र अनुसन्धानका अनिवार्य शर्तहरू

लालबहादुर जाग्री

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वाथ्य केन्द्रमा कार्यरत कर्मचारी अस्मीतादेवी धामी मृत भेटिइन्। असार ५ गते धामीको पनपा–९ को हट्वानी सामुदायिक वनमा उनको शव भेटियो।

उनी असार २ गते कार्यालयबाट जोगबुडा अस्पताल जान भनि हिँडेकी थिइन्। घटनाले आम जनमानसमा त्रास आतंक र भय सिर्जना गरेको छ।

मृतक जमरानीबाट पैदलै हट्वानीसम्म पुरेकी छन्। सो बाटो केही समय पहिले मुल बाटो थियो। उनी जमरानीबाट सडक बाटो हुँदै डेवरी पुगेपछि डेवरीमा पानी परेका कारण बाटो हिलो भएको र जोगबुडा अस्पताल पुग्न लामो पनि पर्ने हुँदा जिप नचलेको अवस्था विद्यमान देखिन्छ।

डेवरी–हट्वानी–कुयापानी–पुन्तुरा हुँदै लाल ढुङ्गा अस्पताल तिर लागेको अनुमान गर्न सकिन्छ । विश्वव्यापी महामारीबाट जनतालाई बचाउन कोभिड–१९ का विरुघ खोप लगाई बाँकी रहन गएको भ्याक्सिन सहितको सामग्री जोगवुडा अस्पताल पुर्याउनका लागी जाँदै गर्दा उनको हट्वानी सामुदायिक वन विभत्स हत्या भएको छ।

जमरानीबाट घटनास्थल हिँडाइको अवस्थाअनुसार ३०–५० मिनेटको पैदल दूरी हो। सो नजिक बस्तीहरु छैन। अन्यत्र रहेको बस्ती करिव ४०–५० वर्षदेखि बसोबास गर्दै आएको बस्तीहरु हुन्। घटनास्थलभन्दा करिव १ किमी. दक्षिणतर्फ धुलेसडक नखुलेको अवस्थामा मृतक हिँडेको बाटो नै पैदल हिड्ने मुल बाटो हो।

सडकमा जिप चलेको अवस्था मात्र उक्त बाटोमा मान्छेका आवतजावत पातलो हुने गरेको अवस्थामा असार २ गते दिउँसो एकलै मृतक उक्त बाटोबाट गएको देखिन्छ। यसरी सो बाटो हिँड्दै जानुको कारण ४०–५० वर्षको अवधिमा सो वनमा यस्ता प्रकृतिका जधन्य अपराध नभएको र बालबालिका, महिला सबै सो बाटो एक्ला–एक्लै हिँडेर आ–आफ्नो घर वा गन्तव्यमा सुरक्षित पुग्ने भएकोले पनि हिँडेर आएको स्वाभाविक अनुमान गर्न सकिन्छ।

यस घटनाले समाजमा डर, त्रास, भय र आतंक सिर्जना गरेको छ । दोषी पत्ता लगाएर सजायको भागिदार नबनाएसम्म अब उप्रान्त उक्त बाटो भएर यात्रा गर्नु भनेको ‘मृत्यु निम्त्याउनु हो’ भन्ने भयले एक्लै यो बाटो कोही पनि हिँड्ने अवस्था छैन।

यस घटनाको अपराधी जुनसुकै अवस्थामा जसरी पनि पत्ता लगाउन जरुरी छ । त्यसका लागि सुरुमा अनुसन्धानको घेरा व्यापक बनाउन आवश्यक छ। जमरानी देखि लाल ढुङ्गासम्म र सो वरपरका बस्तीहरुमा यौन अपराधका क्रियाकलाप गर्ने, रक्सी ,जाँड, चरेस गाँजा वा अन्य लागू पदार्थ सेवन गर्ने, जुवा, तास खेल्ने, चोरी, डकैती गर्ने, आवारा भएर हिँड्ने व्यक्ति को–को हुन्?

घटना भएको समय र मितिमा यस्ता व्यक्ति कहाँ थिए ? के गर्दै थिए ? घटना भएको मिति र समय मा वा सोभन्दा पूर्व डेवरीको बाटो हुदै हट्वानी जाने वा कुयापानी–जफती हुँदै हट्वानी आउने र मिलनडेवीबाट घटनास्थलको जंगलमा जाने वा आउने वा सो जंगलमा अन्य कुनै काम गर्न जाने व्यक्ति र मृतकको पारिवारीक वा व्यक्तिगत रिसीइबी भएका कुनै व्यक्ति थिए कि ? मृतकका साथीसङ्गिहरू को–को कस्ता थिए? फोन सम्पर्क मृतकलाई के कसले कुन–कुन समयमा गरेको थिए?

मृतक सो समय र मिति सो बाटो भएर जाने पूर्व जानकारी को–कोलाई थियो । यी व्यक्तिहरु घटना भएको समयमा के–कहा थिए? के गर्दै थिए? घटना भएको समय पछि कुनै व्यक्ति आफ्नो घर गाँउ छोडेर गएको छ छैन? छ भने किन कहाँ गएको हो? यी सबै पक्ष माथि प्रारम्भिक अनुसन्धान गरिनुपर्छ ।

अनुसन्धानमा सबैले सत्य कुरा भनेर वा आफूसँग भएको सूचना दिएर अपराधी पत्ता लगाउन सहयोग गर्नुपर्छ। यसका साथै अनुसन्धान अधिकारीले सूत्र (गोप्य व्यक्ति र विधि) परिचालन पनि गरिनुपर्छ। जसले अपराधसँग सम्बन्धित कयौं गोप्य सूचना संकलन गर्न सकिनेछ।

लाल ढुङ्गा बजारमा ‘अस्मितालाई न्याय दे’ भन्ने नारा लगाउँदै स्थानीयले प्रदर्शन गरे। स्थानीयको यो न्यायोचित माग हो। यसलाई सरकारले पूरा गर्नु नै पर्छ। घरको मूल आधार जग भए झै कुनै पनि मुद्दामा न्याय पाउने मूल आधार भनेकै तथ्यपरक अनुसन्धान नै हो।

कुनै पनि मुद्दामा तथ्यपरक अनुसन्धान भएन भन्ने अदालतले कानुन, तथ्य, प्रमाण बिना न्याय दिन सक्दैन । एक तहको अदालतले न्याय दिने गरी फैसला गरे पनि माथिल्लो तहका अदालतले प्रमाण पुगेन भन्ने आरोपितलाई सफाइ दिन्छ । यस्तो अवस्थामा पीडितले न्याय पाउन सक्दैन।

यस्तो नहोस् भन्नका लागि आजैदेखि यस मुद्दाको अनुसन्धान गर्न लोभ, लालच, प्रलोभनमा नबिक्ने, कुनै पनि प्रभावमा परी मुलाहिजा नगर्ने, सक्षम र दक्ष प्रहरी अधिकृतलाई अनुसन्धान अधिकारी तोकिनुपर्छ।

जसले पीडितलाई न्याय दिनका लागि घटनास्थलमा भए देखिए भौतिक अवस्थाजस्तै जमिन घिस्रिएको, रगत खसेको, कुनै ढुङ्गामा रगत लागेको वा घटनास्थलमा अपराधीको कुनै रौ, रुमाल, कलम, चुरोटका ठुटा वा अन्य यस्तै कुनै बस्तु छ छैन भए कुन अवस्था थियो।

मृतकले आफ्नो बचाउ गर्ने क्रममा अपराधीको शरिरमा चिथोर्दा, टोक्दा घाउ, खत, वा अन्य चोट हुन सक्छ वा मृतक रोए कराएको कसैले सुने देखेका थिए कि? यी र यस्तै प्रकृतिका तथ्य र प्रमाण घटनास्थलबाट संकलन गर्नु र यिनको विधि विज्ञान प्रयोगशालामा परीक्षण गरेपछि सोमा मेल खाएमा त्यो अकाट्य प्रमाण मानिन्छ।

मृतकको शव जाँच मुचुल्काले हत्या के ले गरेको हो ? किन गरेको हो भन्ने कुराको संकेत वा अनुमान गर्न सकिन्छ। यस घटना भएपछि निरन्तर वर्षा र गर्मी मौसमका कारण लाश को अवस्था दुरुस्त नहुन सक्छ।

तर, मृतकले लगाएको सुरुवाल, पेन्टी, ब्रा च्यातिएको वा खुल्ला रहेको वा अन्य लुगाको खुल्ला अवस्थामा रहे भएमा बलात्कार गर्ने मनसाय वा गरेर हत्या गरेको हुन सक्ने सम्भावना तिर संकेत गर्दछ।

मृतकले अपराधीलाई दाँतले टोक्दा वा प्रतिवादी गर्दा अपराधीले मृतकको अनुहारमा ढुङ्गा वा अन्य सार्‍हो बस्तुले प्रहार गरी मृतकका दाँत, बँगरा, नाक भाचेर, टाउकोमा हानी हत्या गरे तिर संकेत गर्छ। मृतकले लगाएका सुनका गरगहना, रूपैयाँ पैसा लुटिएका छन् भन्ने चोरी, डकैती गर्नेले मान्छे नचिनोस् भन्नका लागि हत्या गरेको कुरातर्फ संकेत गर्छ।

लाश जाँच मुचुल्काले शरीरको बाहिरी भागमा भएको घाउ, निलडाम, चोट, शरिरका अंगको अवस्था देखाउँछ भन्ने शव परीक्षण प्रतिवेदनले मृतकको शरिरका भित्रि अंगहरू स्थितिबारे जनाउँछ।

अहिले नै हत्या के कसरी भयो? किन भयो? कसले गर्‍यो भन्ने कुराको निष्कर्षमा पुग्नु हतारो हुने छ। स्थानीय जनताले अपराधको अनुसन्धान छिटो छरितो र प्रभावकारीरुपमा होस्।

पीडितले न्याय पाओस् भन्ने असल मनसायले नारा, जुलुस, धर्नालगायतका कार्य गरेपनि कतिपय अवस्थामा स्थानीयस्तरका पार्टी कार्यकर्ता वा सामाजिक अगुवा वा पहुँच वाला भन्नेहरुका आफन्त वा पार्टी सदस्य नै अनुसन्धानको घेरामा राखि अनुसन्धान गर्दा यी व्यक्तिहरुबाट जुलुसको गलत प्रयोग हुने युट्युबर आफ्नो आफ्नो युट्युबको दर्शक बढी आएमा डलर आउँछ भन्नका लागि तथ्यको तोडमोड, बढाइँचढाइ गर्ने र आमजनमानसमा गलत सन्देश प्रवाह गरी दिगभ्रमित गराई दोषीमाथि अनुसन्धान नै नहुने निर्दोष फस्ने सम्भावनाहरूलाई गम्भीर रूपमा लिई तथ्य र प्रमाणको संकलनमा अनुसन्धानलाई सहयोग गरेमा मात्र अस्मिताले न्याय पाउने छन्।

सही अनुसन्धान नभएमा न्याय पाउन शून्य प्रायः नै हुनेछ। अदालतले अनुसन्धान अधिकारीले अनुसन्धान गरी तयार पारेका तथ्य, प्रमाण, कागज मुचुल्का र अभियोग माग दावीको सीमा भित्र रहेर नै मुद्दामा न्याय दिने हो। यी कागज, प्रमाण भएन भन्ने अदालतले चाहेर पनि न्याय दिन सक्दैन। त्यसकारण अहिले सरकारलाई सचेत गराउँदै अनुसन्धान टोलीलाई सहयोग गर्नु नै आवश्यकता हो।

अनुसन्धानमा लापरबाही, आनाकानी भएमा वा गलत तरिका अवलम्बन गरेमा जनताको सचेतना र जनदबाब न्यायका लागि रहनुपर्छ। दोषीलाई कानुन बमोजिम सजाय गराउनु मात्र प्रयाप्त न्याय नहुन सक्छ।

मृतक विश्वव्यापी मानव जातीको विरुद्ध आइलागेको कोरना महामारीविरुद्धको लडाइको काम गर्ने शिलशिलामा हत्या भएको हुँदा मृतकका बालबालिकाको शिक्षा दिक्षालगायतको व्यवस्थाका लागि मनासिव क्षतिपूर्ति,राहत समेत मिलाइदिनु पर्छ। अब उप्रान्त यस्ता जघन्य अपराध नदोहरिने व्यवस्था गरी जनताको जीउधनको सुरक्षा गर्नु सबै तहका सरकारको परम कर्तव्य हो।

सरकारको असक्षमता, अकर्मण्यताले दोषी पत्ता लगाउन सक्दैन। कारबाही हुँदैन भने जनताले यस्ता जघन्य अपराधलाई टुलुटुलु हेरेर वा सहेर बस्ने अवस्था हुँदैन। न्यायका लागि जनताले जुनसुकै कदम उठाए पनि न्यायोचित हुनेछ।

(लेखक जाग्री डडेल्धुरा जिल्ला अदालत बार इकाईका अध्यक्ष हुन्।)

सम्बन्धित पाेष्टहरु
Loading...