Unity Khabar

महाभारत वन जोगाउन ग्यास सिलिन्डर तथा चुल्हो वितरण

डडेल्धुरा : डिभिजन वन कार्यालय डडेल्धुराले महाभारत वन जोगाउन ४५ परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ। बिहीबार जिल्लाको अमरगढी नगरपालिका–२ को आइत बजारमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।

अमरगढी नगरपालिका–२ का जोशीना गाउँका दलित तथा गरिव घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। महाभारत वन जोगाउने उदेश्यले ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।

घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फँडानी हुँदै आएकोले ग्यास सिलिन्डर तथा चुल्हो वितरणले केही मात्रामा नियन्त्रणमा आउने जिल्ला समुन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टले विश्वास व्यक्त गरे।

खाना पकाउने प्रयोग हुने दाउरा उत्पादन वन क्षेत्रबाटै हुने भएकाले यसबाट वर्षेनी वन विनाश बढ्दै गएको पाएपछि रुख काट्ने काममा कमी ल्याउन यो अभियान प्रभावकारी हुने उनको भनाइ छ।

परम्परागत तरिकाले दाउराले खाना पकाउँदा गृहिणीको स्वास्थमा प्रतिकुल असर पर्ने र समय समेत खेर जाने गरेकोमा अब भने ग्यास सिलिन्डर तथा चुल्हो पाएपछि सहज हुने अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

डडेल्धुरामा रहेको महाभारत वन जोगाउने उदेश्य अनुसार नै ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको डिभिजन वन प्रमुख विष्णुप्रसाद आचार्यले बताए। उनले महाभारत माथि पर्ने दाउराको चाप कम  होस् भन्ने हेतुले गरिव तथा दलित परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको बताए।

विहान १० बजे वनमा गएर साँझ ४ बजे दाउराको भारी वनबाट बोकेर ल्याउँदा समस्या हुने गरेकोमा ग्यास सिलिन्डर तथा चुल्हो पाएपछि सहज हुने धर्मादेवी सार्कीले बताइन्।

‘हरेक दिन दाउरा ल्याउन जाँदा समस्या हुन्थ्यो। सिलिन्डर तथा चुल्हो पायौं। हामी खुसी छौं,’ उनले भनिन्, ‘ग्यास सिलिन्डर तथा चुल्हो सहयोग गरेकोमा वन कार्यालयलाई धन्यवाद।’

सम्बन्धित पाेष्टहरु
Loading...