Unity Khabar

‘ठेकेदार मेयर’ले ३ करोडमा बनाउँदै गरेको तटबन्ध सम्पन्न नहुँदै भत्किएपछि…

कैलाली : जिल्लाको भजनी नगरपालिकामा निर्माणाधीन तटबन्ध बगेको छ। नगरपालिकाको वडा नम्बर ३ स्थित कान्द्रा नदीको कुसुमघाटमा गत वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको तटबन्ध बगेको हो।

निर्माणमा चरम ढिलासुस्ती र प्राविधिक त्रुटिका कारण नदीमा आएको सामान्य बाढीले पनि तटबन्धको केही भाग भत्काएर बगाएको भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिए।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीको डिजाइनमा भएको त्रुटि र निर्माण कम्पनीले गरेको ढिलासुस्तीले सम्पन्न हुन नपाउँदै तटबन्ध भत्काएको उनले बताए।

डिभिजन कार्यालय र निर्माण कम्पनीले स्थानीय तहसँग कुनै समन्वय समेत नगरेको वडाध्यक्ष चौधरीको भनाइ छ। मानव बस्ती, दूर्गा माध्यमिक विद्यालय, बीओपी कुसुमघाट सहितका क्षेत्र जोगाउन निर्माण गर्न थालिएको तटबन्ध नै भत्किएपछि उच्च जोखिममा परेको बताइएको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले निर्माण कम्पनीको ढिलाइले तटबन्धको केही भागमा क्षति पुगेको बताएको छ तर डिजाइनमा भने कुनै कमी नभएको कार्यालयको दाबी छ।

डिभिजन प्रमुख डम्मरप्रसाद धितालका अनुसार तटबन्ध निर्माणको लागि राजेन्द्र निर्माण सेवासँग २०७७ जेठ २५ गते निर्माण सम्झौता भएको थियो। २०७८ भदौ ३ गते समेत तटबन्ध निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ।

डिभिजन कार्यालयले भत्किएको तटबन्धसहित नगरपालिकाको वडा नम्बर ९ भुरुवामा २ स्थानमा तटबन्ध निर्माणको लागि ३ करोड ३३ हजार ७०७ रुपैयाँ लागतमा निर्माण सम्झौता गरेको छ। तर हालसम्म ४० प्रतिशत मात्रै काम गरेको डिभिजन प्रमुख धितालले बताए।

भुरुवामा निर्माण गरिने भनिएको तटबन्धको काम निर्माण कम्पनीले शुरू समेत नगरेको डिभिजन प्रमुख धितालले जानकारी दिए। निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाले निर्माणको ठेक्का पाएको सबै काम प्रभावित भएको बताइएको छ। राजेन्द्र निर्माण सेवाका सञ्चालक डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद हुन्।

सम्बन्धित पाेष्टहरु
Loading...