Unity Khabar

डोटीको सायलमा रेन्बो ट्राउट जातको माछा पालन सुरु

डडेल्धुरा : डोटीमा रेन्बो ट्राउट जातको माछा पालन सुरु भएको छ। जिल्लाको सायल गाउँपालिकामा पहिलो पटक रेन्बो ट्राउट माछा पालन सुरु भएको हो।

गत वर्ष मत्स्य अनुसन्धान केन्द्रको विज्ञ टोलीले सायलमा रेन्बो ट्राउट जातका माछा पालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो। र, सो क्षेत्र उपयुक्त भएको निष्कर्ष निकालेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारको १० लाख लगानीमा ३ वटा माछापालन पोखरी निर्माण गरी रेन्बो ट्राउट माछापालन सुरु गरिएको स्थानीय तथा नेकपा माओवादी केन्द्र डोटीका सदस्य तेजबहादुर डुम्रेलले बताए।

डुम्रेलका अनुसार सायल गाउँपालिकाको वडा नम्बर ३ का किसान हरिपाल खाती, वडा नम्बर ४ रौवाका तेजबहादुर सिंह र वडा नमबर ५ का शेर बहादुर रोकायाले आधुनिक माछापालन पोखरी बनाएर माछापालन सुरु गरेको हुन्।

गण्डकी प्रदेशको पोखराबाट रेन्बो ट्राउटका १५ सय भुरा ल्याएर पोखरीमा हालिएको बताइएको छ। ट्राउट माछापालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले थप ६ लाख रकम विनियोजन गरेको पनि जनाईएको छ।

‘चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई पालनका लागि सबैभन्दा राम्रो माछाका रूपमा लिइन्छ। चिसो पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुनुका साथै आम्दानी पनि राम्रै हुन्छ’, विज्ञ निर्मल खातीले भने, ‘चिसो पानीमा हुर्किने र हुर्काउनलाई पनि खासै मिहिनेत नचाहिने भएकाले यो माछालाई आम्दानीको प्रमुख स्रोतका रूपमा लिइने गरेको छ।’

रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ। यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ, जो तापक्रम सायलमा भएको उनको भनाइ छ।

नेपालमा रेन्बो ट्राउट माछा पालन सन् १९८९ बाट सुरु गरिएको र जापान सरकारले तत्कालीन अवस्थामा ५० हजार माछाका भुरा नेपाल पठाएको थियो। नुवाकोट जिल्लाको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो भने उत्पादन भएका रेन्बो ट्राउट माछा बेचबिखन गर्न सन् १९९७ देखि सुरु भएको थियो।

रेन्बो ट्राउट माछा बजारमा ठाउँअनुसार प्रति किलो १ हजार ५०० देखि २ हजार रुपैयाँसम्म पर्ने गरेको छ। ट्राउट माछा फागुन, चैत महिनादेखि बिक्री वितरण गर्न योग्य हुने माछा पालन व्यवसायी लीलाधर विष्टले जानकारी दिए।

स्थानीय बजारमा बिक्री वितरण हुन नसके पनि भारतबाट माछाको माग आइसकेकाले बजारको समस्या नहुने उनको भनाइ छ। यसअघि डोटीको जोरायल गाउँपालिकामा पहिलो पटक रेन्बो ट्राउट माछा पालन सुरु गरिएको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...