Unity Khabar

भीमदत्त राजमार्गमा हजारौं यात्रु अलपत्र

डडेल्धुराः अविरल वर्षापछि आएको पहिरोले भीमदत्त राजमार्गमा अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन्।

डेल्धुराको आलिताल गाउँपालिका–१ गैरा नजिकै शनिबार बिहान ८ बजेतिर पहिरो खसेको हो। ६ घण्टासम्म पहिरो पन्छ्याउन नसक्दा बीचबाटोमै अलपत्र परेको पत्रकार विमल बोहराले जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिमका सात पहाडि जिल्लाका हजारौं यात्रु सडकमा अलपत्र छन्। यो राजमार्ग सुदूरपश्चिमका सात पहाडि जिल्ला जोड्ने एकमात्र राजमार्ग हो। माथिबाट रुखसँगै ठूल्ठूला ढुंगाहरू खसेका छन्।

पहिरो हटाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले डोजर पठाएको छ। सानो डोजर पठाएकोले पहिरो हटाउन नसकेको अलपत्र यात्रुको गुनासो छ।

मोड सुधार योजनाले सास्ति
पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्गमा मोड सुधार योजनाले काम अगाडी बढेको छ। वर्षातमा काम गर्दा राजमार्गमा दैनिक जसो पहिरो जाने गरेको छ। पहिरो र हिलाम्य भएकाले यो राजमार्ग जोखिम पूर्ण बन्दै गएको छ।

राजमागृका बीचमा ठूला–ठूला धान रोप्नेजस्ता हिलाम्य खाल्डाका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको छ। राजमार्गका हगुल्टे, साहुखर्क र भत्काँडा क्षेत्रमा सडकका बीचबीचमा हिलाम्य हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ।

सडक डिभिजन कार्यालय कुलपाते डोटीले भने बन्दाबन्दीले तोकिएको समयमा काम गर्ने समस्या भएकाले तीव्रगतिमा काम नभएको जनाएको छ।

पटक–पटकको वर्षाले सडकमा माटो पानी मिसिएकाले कालोपत्र उप्किएर राजमार्गका बीच–बीचमा खाल्डाखुल्डी परेका छन्। साँघुरोलगायत कारण वर्षाले माथिबाट माटो झर्दा हिलाम्य हुँदै बीच सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको चालक बताउँछन्।

साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एक मात्र यस राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ। अत्यधिक वर्षाले सडककोे ४० प्रतिशत काम बाँकी रहेको सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...