Unity Khabar

अलमुताइरीको राजीनामापछि एन्फाविरुद्ध खनिए फुटबलप्रेमी

काठमाडौं: नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले आइतबार प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

अलमुताइरीले राजीनामा दिनुपर्ने कारणबारे स्टाटसमा लेखेका छन्, ‘एन्फाका उपाध्यक्ष पंकज विक्रम नेवाङले ३ हप्तादेखि निकै नाटक गर्नुभयो । मैले राजीनामा दिँदैछु । अब त खुसी हुनुहुन्छ होला नि पंकज नेवाङ ?’

अलमुताइरीको उक्त स्टाटसबारे नेपाली फुटबलका प्रशंसकहरूले दुःखमनाउसहित प्रतिकृया जनाएका छन् । धेरैले कोचलाई राजीनामा नदिन अग्रह गरेका छन् । कतिपयले पंकजलाई गाली गर्दै राम्रो गरिरहेका कोच अलमुताइरीमाथि राजनीति नगर्न चेतावनीसमेत दिएका छन् ।

जेनिश खड्गीले कमेन्टमा लेखेका छन्, ‘सर तपाईंप्रति हाम्रो पूर्ण भरोसा छ । कृपया हामीलाई बीच यात्रामा छोडेर नजानुस् । पूरा नेपालको लागि तपाईं एक मात्र आशा हुनुहुन्छ ।’

जेनिशजस्तै धेरैले अलमुताइरीलाई नेपाली फुटबलको आशाको केन्द्र रहेको भन्दै प्रतिकृया दिएका छन् । नेपाली फुटबलका लागि अलमुताइरी जस्तो कोचको आवश्यक रहेको भन्दै धेरैले उनलाई पुनः एकपटक सोच्नसमेत आग्रह गरेका छन् ।

दिवस रेग्मीले लेखेका छन्, ‘तपाईंले नेपाली फुटबलको प्रगतिमा धेरै आशा जगाउनु भएको थियो । हामीलाई विश्वास छैन कि तपाईंले बीचैमा हामीलाई छोडेर जाँदै हुनुहुन्छ ।’

प्रशिक्षणमा कोच र खेलाडी
जैन श्रेष्ठले एन्फा राजनीतिको एक भ्रष्ट संगठन भएको प्रतिकृया दिएका छन् । उनले लेखेका छन्, ‘जसले फुटबलको बारेमा केही जानेको छैन, राजनीतिक कारण उहीँ उच्च पदमा छ । यस्तो दिन आउँछ भन्ने कुरा हामीलाई थाहा थियो ।’

त्यस्तै, विमल बानियाँले लेखेका छन्, ‘फुटबलमा प्रगति नहुनुको मुख्य कारण राम्रा खेलाडी नभएर होइन, भ्रष्टचार, नातावाद, पक्षपात हो । एन्फाका सबै कार्यकारीहरुको कारण फुटबलले गति लिन सकेन ।’

धेरै शुभचिन्तकहरुले पंकजलाई गाली गरेका छन् । पंकजले एन्फाबाट राजीनामा दिनुपर्ने धम्की उनीहरुले दिएका छन् । कतिपयले त पंकजलाई कुट्ने/पिट्ने धम्कीसमेत दिइरहेका छन् ।

कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । कतार फुटबल संघसँगको सहयोगमा एन्फाले अलमुताइरीलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्याएको थियो ।

अलमुताइरीले नेपाली फुटबलको मुख्य प्रशिक्षक बन्दा भनेका थिए, ‘नेपाली टिमलाई सुन्दर फुटबल खेलाउने छु । अब नेपालले रक्षात्मक खेल्ने छैन । चुस्त खेल्नेछ ।’

अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मा पाएसँगै सम्पूर्ण खेलाडीहरुसँग पहिला भएका खेलहरुको लिखित अनुभव मागेका थिए । खेलाडीको अनुभवबाट उनले आगमी खेलका लागि रणनीति बनाउन सकिने भन्दै सम्पूर्णलाई लिखित अनुभव दिन आग्रह गरेका थिए । जुनकुराको निकै प्रशंसा भएको थियो ।

कोचलाई खेलाडीले बुझाएको खेल अनुभव
अलमुताइरीले जम्माका चार वटा खेल खेलाएका छन् । उनको प्रशिक्षणमा नेपालले पहिलो खेल इराकविरुद्ध खेलेको थियो । जसमा नेपाल पराजित हुन पर्‍यो । उक्त खेलमा नेपाली टिम पराजित हुँदा त्यसको दोषी आफू रहेको बताउँदै खेलाडीलाई गाली नगर्न उनले स्टाटस नै लेखेका थिए ।

दोस्रो खेल नेपाली टिमले वर्ल्डकप क्वालिफिकेसनको लागि चाइनिज ताइपेविरुद्ध खेलेको थियो । जसमा नेपालले जित निकालेको थियो ।

वर्ल्डकप क्वालिफिकेस कै लागि खेलिएको तेस्रो र चौथो खेलमा पनि नेपाल जोर्डन र अष्ट्रियाविरुद्ध पराजित भएको थियो । तर, खेलमा देखिएको आक्रामक शैली र कोचले बनाएको फर्मेसनको भने तारिफ नै भएको थियो ।

पछिल्लो समय अलमुताइरीले खेलाडीलाई नै कोच बनाएर प्रशिक्षण खेलहरु खेलिरहेका थिए । उनले खेलाडीलाई नै कोच बनाएर आफू खेलाडी बनेर मौदान उत्रिरहेका थिए । उनको यस्तो शैलीलाई पनि धेरैले तारिफ गरेका थिए ।

शनिबार मात्र अलमुताइरीले एक स्टाटस लेखेका थिए, ‘हाम्रो मुख्य उद्येश्य भनेको कडा मिहिनेत गरेर टिमलाई राम्रो बनाउनु नै हो । तपाईंहरुको माया र साथले यो सम्भव छ । वान फर अल, अल फर वान । वान टिम, जय नेपाल ।’

शिलापत्रबाट साभार

सम्बन्धित पाेष्टहरु
Loading...