Unity Khabar

निर्मला हत्याले प्रहरी बर्दीमा लागेको दाग अझै मेटिएन

काठमाडौं : कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुग्दा पनि प्रहरी अनुसन्धान शून्यकै अवस्थामा छ । निर्मलाको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो ।

उनको शव ११ साउनमा मात्र उखुबारीमा फेला परेको हो । निर्मला हत्यापछि नेपाल प्रहरीमा दुई प्रहरी महानिरीक्षक (आईजीपी) फेरिइसकेका छन् । तैपनि उनको हत्यारा पत्ता लगाउन प्रहरी अझै उदासीन छ ।

निर्मलाको हत्या हुँदा नेपाल प्रहरीका आईजीपीमा सर्वेन्द्र खनाल थिए । उनको पालामा सुल्झाउन नसकेको निर्मला पन्त बलात्कार र हत्या त्यसपछि नियुक्त अर्का आईजीपी ठाकुरप्रसाद ज्ञवालीले समेत सुल्झाउन सकेनन् ।

उनी पनि अवकाशमा गएपछि नयाँ आईजीपीमा हाल शैलेश थापा क्षेत्री छन् । उनले कार्यकाल सम्हालेको समेत एक वर्ष पूरा भइसकेको छ । तर, अनुसन्धान भने शून्यकै अवस्थामा छ ।

निर्मला हत्याबारे अनुसन्धान गर्न जाने प्रहरी अनुसन्धानभन्दा पनि समय बिताउन जाने गरेको गुनासो कतिपय प्रहरी अधिकारीकै छ । निर्मलाको हत्याबारे अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालयले हालसम्म दर्जनौँ प्रहरी टोलीलाई कञ्चनपुर खटाइसकेको छ ।

त्यसबाहेक कञ्चनपुर जिल्लाकै प्रहरी नेतृत्वसमेत पाँच पटक फेरिइसकेको छ । निर्मलाको हत्यापछि फेरिने जिल्ला प्रहरी प्रमुखहरूमा प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट, कुवेरसिंह कठायत, दिनेश आचार्य, मुकुन्द मरासिनी र हाल उमा चर्तुवेदी छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले भीमदत्त नगरपालिका– १९ का दिलीपसिंह विष्टलाई पक्राउपछि सार्वजनिक गरेकाे थियाे । अनुसन्धानका क्रममा उनले अपराध स्वीकारेकाे प्रहरी दाबी थियाे । तर डीएनए नमिलेपछि उनी थुनामुक्त भए ।

आईजीपीमा नियुक्त भएछि क्षेत्रीले निर्मला हत्याको अनुसन्धानमा केन्द्रित हुन सीआईबी र सुदूरपश्चिम प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । तर, त्यो निर्देशनको प्रभाव पनि केही देखिएन । आईजीपी क्षेत्रीको निर्देशनपछि सीआईबीले एउटा टोली कञ्चनपुरसमेत पठाएको थियो । तर, उक्त टोलीसमेत रित्तो हात फर्किसकेको छ । निर्मला हत्याबारे त्यसयता आईजीपी क्षेत्री मौन छन् ।

अन्योलमा प्रहरी

निर्मला हत्या अनुसन्धानमा सबैभन्दा गिजोलिएको विषय थियो, डीएनए परीक्षण । तर, डीएनए परीक्षणको ‘च्याप्टर क्लोज’ हुँदा पनि प्रहरी अपराधीसम्म अझै पुग्न सकेको छैन । त्यसले निर्मला हत्या अनुसन्धानमा प्रहरी अन्याेलमा रहेकाे देखाउँछ ।

दुई वर्षअघि नै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख रहेका डीएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले निर्मला हत्याका अभियुक्त डीएनएबाट पत्ता नलाग्ने स्पष्ट प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको थियो । डीएनएको नमुना परीक्षणबारे छानबिन गर्न बनेको उक्त समितिले निर्मलाको भेजाइनल स्वाबको सङ्कलनमा केही त्रुटि भएको निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुवँरले निर्मला हत्या अनुसन्धानकै क्रममा रहेको र विस्तारै साँघुरिँदै गएको बताए । पछिल्लो समय प्रहरीले यसअघि नै पक्राउ परेका विष्टलाई नै केन्द्रमा राखेर अनुसन्धान जारी रहेको बताएको छ । डीएनएबाहेक विष्टले निर्मला हत्या घटनाबारे दिएको बयान सबै मिल्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताउँदै आएका छन् ।

निर्मला हत्या प्रकरणमा कारबाहीमा परेका सबै प्रहरी पुनः काममा फर्किसकेका छन् । साे प्रकरणमा प्रहरी इतिहासमै सबैभन्दा बढी आलोचित हुन पुगेको थियो ।

निर्मला हत्यापछि यस्तो थियो प्रहरीमाथि दबाबकाे शृंखला

– १० साउन निर्मलाको बलात्कारपछि हत्या ।

– ११ साउनमा उखुबारीमा शव फेला ।

– १३ साउनमा हत्याको अनुसन्धानका लागि सीआईबीका डीएसपी अंगुर जिसी नेतृत्वको तीन सदस्यीय टोली कञ्चनपुर प्रस्थान ।

– १७ साउनमा निर्मलाको हत्या विरोधमा कञ्चनपुरका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीबाट ‘निर्मलालाई न्याय दे, हत्यारालाई पक्राउ गर’ लगायतका प्ले कार्ड बोकेर जुलुस र विरोध प्रदर्शन ।

– ४ भदौमा सीआईबी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीद्वारा निर्मला हत्याको आरोपमा दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक ।

– ५ भदौमा निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविक अपराधी बाहिर नल्याएको भन्दै स्थानीयद्वारा भीमदत्तनगर बजार बन्द ।

– ७ भदौमा पनि बजार बन्द । हत्याको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच ठाउँठाउँमा झडप । २ बजेपछि प्रहरीद्वारा गोली प्रहार ।

– आठ जनाभन्दा बढी स्थानीय र केही प्रहरी घाइते । प्रदेश सात प्रहरी कार्यालयबाट एसएसपी विक्रमचन्द कञ्चनुर प्रस्थान । गृह मन्त्रालयद्वारा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षक परिवर्तन ।

प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाएर उनको ठाउँमा नयाँ सीडीओका रूपमा तारानाथ अधिकारी र नयाँ एसपीका रूपमा कुवेर कठायतलाई पठाएर जिल्लामा अनिश्चितकालीन कर्फ्यु लगाइयो । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरियाे । समितिलाई १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिइएकाे थियाे ।

– ८ भदौमा फेरि प्रहरी र स्थानीयबीच झडप । प्रहरीको गोली लागी एक जनाको मृत्यु, दर्जनौँ घाइते । स्थिति तनावग्रस्त । कर्फ्यु जारी ।

– १४ भदौमा कर्फ्यु पूर्ण रूपमा हटाइयो । स्थिति सामान्य ।

– १८ भदौमा सीआईबीका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको टोली अनुसन्धानका लागि कञ्चनपुर प्रस्थान । (आईजीपी भएर हाल अवकाश )

– २६ भदौमा निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका अभियुक्त दिलीपसिंह विष्ट डीएनए रिपोर्ट नमिलेपछि विष्ट रिहा ।

– ३० भदौमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको समितिद्वारा गृह मन्त्रालयमा प्रतिवेदन पेस । सोही आधारमा एसपी डिल्लीराज विष्टसहित डीएसपी ज्ञानबहादुर सेठी, सीआईबीका डीएसपी अंगुर जिसीलगायत सात जना प्रहरी निलम्बित, समितिलाई एक साता म्याद थप ।

– न्यायको माग गर्दै निर्मलाका बुबा यज्ञराज पन्त र आमा काठमाडौंमा ।

– ३१ भदौमा प्रहरी प्रधान कार्यालयद्वारा तत्कालीन डीआईजी धीरु बस्नेतको नेतृत्वमा अर्को समिति गठन । समितिका सदस्यमा एसएसपी निरजबहादुर शाही (हाल एआईजी), डीएसपीहरू रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकीसहित नौ जना ।

– ९ असोजमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिबाट गृहमन्त्रीलाई प्रतिवेदन पेस । त्यसयता भने निर्मला हत्या अनुसन्धानका लागि भने समिति बनेको छैन ।

– २७ कात्तिकमा मानवअधिकार आयोगको टोली गठन ।

– १३ माघमा सरकारलाई प्रतिवेदन पेस, डीएनएमा त्रुटि ।

शिलापत्रबाट साभार

सम्बन्धित पाेष्टहरु
Loading...