Unity Khabar

बादी समुदायकी एक्ली उपाध्यक्षकाे राष्ट्रपति बन्ने रहर

डडेल्धुरा: डडेल्धुराको अजयमेरू गाउँपालिकाकी उपाध्यक्ष हुन्, कलावती भाण। १२ पुस २०४० मा डडेल्धुराको अजयमेरू गाउँपालिका-२ हाट गाउँमा जन्मिएकी उनी वादी समुदायकी एक्ली जनप्रतिनिधि हुन्।

उनको पारिवारिक अवस्था कमजोर भएकै कारण बुवाले अर्काको घरमा गएर हलो जोते। हलिया परिवारमै जन्मिएको कारण भाणको बाल्यकाल सुखमय बित्ने कुरा भएन। समाजमा पछि परेको वर्ग हलिया परिवारमा उनी जेठी सन्तान हुन्।

छोरो जन्माउनै पर्छ भन्ने मान्यता थियो समाजमा। तर, उनले छोरी भएर पहिलो सन्तानको रूपमा जन्म लिइन्। छोरी भएर जन्मिनु यो समुदायमा अभिसाप मानिन्थ्यो।

विद्यालयमा समेत हेप्थे

छुवाछुतले ग्रस्त समाजमा जन्मिएकी उनी विद्यालयमा पढ्दा पनि यो समस्या झेल्दै आएको बताउँछिन्। परिवारमा जेठो भएको कारणले पनि परिवारका अन्य सदस्यको जिम्मेवारी पनि उनको टाउकोमा आयो। जसका कारण उनको बाल्यकाल संर्घषमै बित्यो।

सन्दर्भ र समाज बदलिन समय लागेपनि उनको नियति बदलिन समय लागेन। सुदूरपश्चिमको विपन्न परिवारमा जन्मिएर पनि उनले काठमाडौं गएर पढ्ने अवसर पाइँन्। विद्यालयमा पढ्दा उत्कृष्ट विद्यार्थीका रूपमा परिचित थिइन् उनी । ‘त्यसैले होला कक्षा ३ मा पढ्दा जापान जाने अवसर पनि पाएँकाे उनी सुनाउछिन्।

काठमाडौं बसेर पढ्ने अवसर

काठमाडौँ बसेर पढेको कारण आफू आमाबुवाबाट टाढिएको उनले सुनाइन्।  निःशुल्क छात्रवृत्ति कोटामा पढ्ने अवसर पाएकी उनले राजधानीमा रहेको महेन्द्र भवन गल्र्स हाइअर सेकेण्डरी बोर्डिङ स्कुलबाट कक्षा १० सम्मको पढाइ पूरा गरिन्। सानो हुँदा समाज सेवा गर्ने र नर्स बन्ने इच्छा थियो उनको।

‘तर सोचेको नहुने रहेछ परिवारको आर्थिक अवस्थाले गर्दा पढ्न सकिँन्,’ उनी विगत सम्झदै भन्छिन्, ‘२०६६ सालमा बर्र्दियाका एक जना पुरूषसँग प्रेम विवाह गरेपनि श्रीमान संकुचित भावनाका भएकोले विचार मिलेन।’

श्रीमान् छाडेर डडेलधुरा फर्किएपछि उनी श्रीमान् सम्झेर कहिल्ये बर्दिया झरिनन्।

क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीति

उनको राजनीतिक यात्रा क्रान्तिकारी विद्यार्थी संगठनबाट सुरू भयो। क्रान्तिकारी विद्यार्थी संगठनको सचिवको पद सम्हाल्ने अवसर मिल्यो। राजनीतिक यात्रा सशस्त्र युद्धकालीन अवस्थावाट सुरू भएपनि भूमिगत भने हुन नपरेको उनी बताउँछिन्।

‘परिवारमा म र मेरा श्रीमान थिए। श्रीमान रोजगारीको सिलसिलामा भारतमा काम गर्थे। त्यसपछि मैले बीचमा राजनीतिक यात्राबाट केही वर्ष विश्राम पनि लिएँ। पार्टीमा रहेर निरन्तर काम गर्ने मन त थियो,’ उनी अतित सम्झदै भन्छिन्।

घरायसी कारण आफूले निरन्तर काम गर्न नसकेको उनको भनाइ छ  बादी समुदायकी महिला भएतापनि उनले केही वर्ष गैरसरकारी संस्थामा पनि काम गरिन्। सामुदायिक सहयोग समिति टीकापुरमा सन् २००४ डिसेम्बरदेखि २००९ सम्म काम गरेको अनुभव उनीसँग छ।

२०६४ सालमा बादी समुदायको अधिकार सुनिश्चितताका लागि ४८ दिने बादी आन्दोलनमा सहभागी भइन्। २०६५ सालमा बादी समुदायमा डरलाग्दो रूपमा रहेको एचआईभी समस्या समाधान गर्न र बादीका अधिकारलाई स्थापित गर्न सुदूर र कर्णाली प्रदेशका बादी समुदाय जगाउने अभियानमा उनको उल्लेख्य भूमिका थियो।

अखण्ड सूदुरपश्चिमको उमेदवार

पाँच वर्ष बादी समुदायको हकहितमा काम गरेको बताउँछिन् उनी। आफ्नै समुदायका लागि काम गर्नुपर्छ भन्ने उनको रहर थियो। २०७० सालमा भएको संविधानसभाको चुनावमा अखण्ड सुदूरपश्चिम पार्टीबाट समानुपातिक उम्मेदवार बनेपनि त्यो चुनावमा पराजित भइन्।

सो पार्टीको पूर्ण संगठन नहुनाले चुनावमा पराजित हुनु परेको उनको भनाइ छ। त्यसपछि उनी माओवादीमा फर्किइन्। दलित मुक्ति मोर्चाकी केन्द्रीय सदस्यको जिम्मेवारी समेत सम्हाल्ने अवसर पाइन्।

राजनीतिक यात्रा माओवादीको विद्यार्थी राजनीतिबाट सुरू भएको भए पनि आफूले माओवादी पार्टीको सक्रिय सदस्यता नलिएको कारण २०७० को संविधानसभा चुनावमा अखण्ड सुदूरपश्चिम पार्टीबाट उम्मेदवार भएको उनी बताउँछिन्। २०७१ सालमा बल्ल मैले माओवादीको सक्रिय सदस्यता लिइन्।

दलित भएकै कारण मुखमा चिया फालियो

दलित भएकै कारण २ कक्षामा पढ्दा उनको मुखमा चिया फालियो। ‘म काठमाडौँबाट छुट्टीमा घर आएको बेला एउटा पसलमा एक जना मान्छे चिया पिउँदै हुनुहुन्थ्यो। मैले एउटा गिलास छोए,’ उनले भनिन्, ‘त्यसपछि उहाँले मेरो मुखमा चिया फाल्नुभो।’ त्यही दिन उनले अठोट गरिन्- मेरो मुखमा चिया फाल्ने जमातलाई एक दिन नेता भएर देखाउँछु।

अनि बनिन् उपाध्यक्ष

उनले गाउँपालिका अध्यक्षको टिकटको दावी गरेकी थिइँन्। तर, पार्टीले उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा गर्न भन्यो।

‘छुवाछुत र रुढीबादी परम्परामा रुमलिएको समाजमा जन्म भएको कारणले पनि होला अध्यक्षको टिकट पाउन सकिन, उपाध्यक्षमै चित्र वुझाएँ र जितेँपनि,’ उनी भनिछन्।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा रहेका सात स्थानीय तहमध्ये एक तहमा माओवादी केन्द्रले जीत हासिल गर्‍यो। माओवादी केन्द्र अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भयो । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी भाण विजयी भइन्।

उनी २ हजार १ सय ७१ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भइन्। स्थानीय तहमा उपाध्यक्ष र उपप्रमुखलाई न्यायिक समितिको संयोजकको समेत जिम्मेवारी दिइएको छ। न्यायिक समितिको संयोजक भएर काम गर्न उनलाई समस्या छ। एकातिर ज्ञानको कमी छ भने अर्कोतिर न्यायिक समितिबाट जितजितको हिसाबले मेलमिलाप गराउनु पर्छ।

‘कतिपय मुद्धामा त फलानो पक्षको साथ लियो भनेर आक्षेप पनि लगाइन्छ। अहिले स्थानीय तहमा कर्मचारीको समेत अभाव छ। कानुनी हिसाबले विज्ञ व्यक्ति नहुँदा त झन समस्या झेल्दै आएकी छु,’ उनको न्याय दिने मनको अनुभव छ।

अहिले पनि समाजमा छाउपडी कुप्रथा कायमै छ। बलात्कार जस्ता जघन्य अपराध पनि दिन प्रतिदिन बढिरहेका छन्। यो समयमा अप्ठ्यारोमा परेका महिला दिदी बहिनीहरूलाई कानुनी सहायता र एक जनप्रतिनिधिको हिसाबले पनि सहयोग गर्दै आएको उनी बताउँछिन्।

‘गाउँका अधिकश महिला दिदीबहिनीहरूका झै-झगडा बढी आउने गरेका छन्। उनीहरू सबैलाई सम्झाइ बुझाइ गरेर पठाउने गर्दै आएकी छु,’ उनी भन्छिन्, ‘म आज जनप्रनिनिधि भए।

पीडासँगै खुसी पनि छु। समाजमा रहेको जातीय विभेद हटाउनका लागि दलित समुदायको व्यक्तिले पार्टीको नेतृत्व गनुपर्छ भन्ने लागेर नै माओवादीमा आवद्ध भएको थिएँ। समाजमा रहेका दलित समुदायका पीडा मैले राम्रोसँग बुझेकी र भोगेकी छु।’

राष्ट्रपतिको ओहोदामा पुग्ने इच्छा

दलित समुदायको बारेमा विशेष योजना बनाएर काम गर्ने इच्छा भएको उनले  बताइन्। ‘चुनावको बेला जनतासँग गरेका वाचाहरू पूरा गर्ने मेरो योजना छ। अजयमेरु गाउँपालिकाकालाई समृद्ध गाउँपालिका बनाउने योजनाका साथ अघि बढेर काम गरिरहेकी छु,’ उनले भनिन्।

सानै उमेरदेखि राजनीतिमा निरन्तर रूपमा सक्रिय भएर लागि परेकी उनी बीचमा चटक्कै छोडेर जाने मनसायमा नभएको बताउँछिन्। ‘अहिले गाउँपालिकाकी उपाध्यक्ष भएकी छु। भोलि समाजका लागि निरन्तर राम्रो काम गर्दै देश र जनताको लागि अहोरात्र खटिने प्रधानमन्त्री तथा राष्ट्रपतिको ओहोदामा पुग्ने इच्छा छ,’ उनले भनिन्।

सम्बन्धित पाेष्टहरु
Loading...