Unity Khabar

कोरोना कहरले रामशरणलाई शिक्षकबाट यसरी बनायो उद्यमी !

डडेल्धुरा : डडेल्धुराको अमरगढी–५ का रामशरण रोका। जिल्ला सदरमुकाम स्थित एक संस्थागत विद्यालयमा अध्यापन गराइ रहेका थिए।

उमेरले ३८ वर्षका रोका विगत १० वर्षदेखि नियमित शिक्षण पेसामा रमाइरहेका थिए। शिक्षण पेसामा कार्यरत उनको जीवन सहज नै चलिरहेको थियो। शिक्षण गरेर आएको पैसाले उनका परिवारको दैनिकी सहज रूपमा चलिरहेको थियो।

समय तीव्र रुपमा अगाडि बढी रहेको थियो। विश्वव्यापि रुपमा कोरोना भाइरसको महामारी फैलियो। महामारी रोक्न सरकारले ११ चैत २०७६ बाट देशभरी लकडाउनको घोषणा गर्यो। आम नागरिकको दैनिक जीवन नै संकटमा पर्यो। साँझ बिहान गुजारा कसरी चलाउने भन्ने पिरलो आम जनमानसमा थियो।

एक निजी विद्यालयमा कार्यरत शिक्षकमा यसले प्रभाव पारेको होला वा नहोला? अवश्य पनि नपर्ने कुरा नै भएन्। सरकारी विद्यालयमा भएको भए पारिश्रमिक आउँछ भन्ने आशा त हुन्थ्यो। तर, रोका भने संस्थागत विद्यालयमा थिए।

काम नगरे पश्चात पारिश्रमिक आउने कुरै भएन्। यसको मारमा रोका पनि थिए। कोरोना भाइरसको महामारीले निकै सताएको रोका बताउँछन्। कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन त गर्यो।

तर, उनी जस्तै निजी संस्थामा काम गरेर खानेको गुजारा चलाउन कठिन बनाइदियो। लकडाउनमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी बेरोजगार भएको समयमा उनी सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार गरेको बताउँछन्।

खान लगाउन नै समस्या भएका बेला अरूको मुख ताक्नु भन्दा आफ्नै ठाउँमा आफै केही गरौँ भनेर विकल्प खोज्न तिर लागेको उनी सुनाउँछन्। आफूले गर्दै आएको काम रोकिँदा परिवार पाल्नुको पीडा सहन नसक्नेको बाँकी जीवन लथालिंग हुन्छ।

तर, रामशरणका लागि त्यहीँ पीडा नै प्रेरणाको स्रोत भइदियो। पहिले उनी पोखरामा बस्ने भएकोले उनका तेतातिर पनि थुप्रै साथी छन्। कोरोनाका कारण बेरोजगार भएको समयमा एक दिन उनको पुराना साथीहरूसँग फोनमा कुराकानी भयो।

साथीहरूको सुझाव र इन्टरनेटको माध्यमबाट डडेल्धुरामा चप्पल उद्योग खोल्न उनी निकै प्रेरित भए। उनले डडेल्धुरा सदरमुकामको विद्युत रोड छेउमै चप्पल उद्योग खोले। ‘सफल चप्पल उद्योग’का नामले आफ्नै टिनको छाप्रोमा उद्योग सञ्चालन गरे। घरमै बसेर के गर्नु भनेर धेरैसँग सुझाव लिए। फेरि सबैले गरे जस्तो व्यापार गरेर कुनै फाइदा थिएन।

बजारको अध्ययन गरे पश्चात उद्योग सञ्चालन गर्ने सोच उनले बनाए। सुदूरपश्चिमका पहाडी जिल्लामा कतै पनि चप्पल उद्योग थिएन्। ७ पहाडी जिल्लामा आफूले उत्पादन गरेका चप्पल आपूर्ति गर्ने योजनाका साथ उनले उद्योग सञ्चालन गरे।

८ लाख लगानी गरेरे विराटनगरबाट मेसिन तथा चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ ल्याएर उत्पादन सुरु गरेको उनको व्यापार निकै फस्टायो। र, उनले मनग्य आम्दानी गरे।

सफल चप्पलबाट सफल फूट वयर्स
सफल चप्पलको नामबाट चप्पल उद्योग सुरु गरेको उनको जीवन नै फेरियो। जीवनसँगै उनको उद्योगको नाम पनि फेरियो। र, रहन गयो सफल फूट वयर्स।

साथमा उनले श्री महा वैजगन्नाथ सप्लायर्सको नाममा पसल पनि सञ्चालमा ल्याएका छन्। अहिले उनको उद्योगमा चप्पलसँगै, जुत्ता पनि बनाइन्छ।

बाहिरी जिल्लाबाट ल्याएका बजारको जुत्ता चप्पल महङंगो र गुणस्तरहिन भएको कारण पनि उनको उद्योगमा बनेका जुत्ता चप्पलको माग अत्याधिक छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा पहिलो पटक उद्योग सञ्चालनमा आएपछि सस्तो जुत्ता चप्पल पाइने थालेपछि यहाँका स्थानीय पनि हर्षित छन्। जुत्ता चप्पल बन्ने सामाग्री काठमाडौं, नेपालगञ्ज, बिराटनगर र भारतबाट ल्याउने गरेको उनको भनाइ छ।

उनी भन्छन्– ‘डडेल्धुराको बजार अल्लि फरक छ। काठमाडौंको सामाग्री जस्तो सुकै भएपनि व्यापारीहरू खपत गराउँन खोजेपनि हाम्रो लोकल उत्पादन भएपनि ब्रान्डेड भएपनि नजिकको तिर्थ हेला भन्ने जस्तो गर्छन्।’

बजार व्यवस्थापनमा चुनौती रहेको बताउँछन्। ‘एक जना व्यापारीले मलाई मात्र दे अरूलाई नदिँनु भन्ने खालका कुरा गर्ने गर्छन्। तर, एउटै पसलमा दिएर सामाग्री बिक्रि गर्न गार्हो हुन्छ,’ उनले भने।

दश जना युवालाई रोजगारी
अहिले उनले दश जना युवालाई रोजगारी दिएका छन्। जेन्स र लेडीजको लागि जुत्ता चप्पल बनाउन फरक–फरक कामदार राखेको उनी बताउँछन्।

अहिले उनले जुत्ता चप्पल बनाउनका लागि भारतबाट समेत कामदार ल्याएर काममा लगाएका छन्। मासिक ठ्याक्कै यत्ति कमाई हुन्छ भन्न सक्ने अवस्था नरहेको तर, सिजन अनुसार राम्रै कमाई हुने गरेको उनको भनाइ छ।

अधिंकाश युवा देशमा रोजगार नपाएर विदेश जाने गरेकोमा उनी दुखी छन्। विदेशमा गर्ने मेहनत आफ्नै देशमा गरे मनग्य आमदानी गर्न सकिने उनको भनाइ छ।

‘भारतमा हामी भाँडा माज्ने गछौं। तर, आफ्नो देशमा भाँडा माज्न भने लजाउँछौं। विदेशमा जुन लेभलमा काम गछौं। त्यहीँ लेभलको काम स्वदेशमा हामीले गर्नुपर्छ,’ उनी भन्छन्, ‘सानो लगानीमा काम गरेपनि मनग्य आमदानी गर्न सकिन्छ। मैले पनि सुरुमा चप्पल उद्योग सञ्चालन गरेको थिएँ। अहिले जुत्ता उद्योग सञ्चालन गरिसके।’

सम्बन्धित पाेष्टहरु
Loading...