डडेल्धुराः जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आइतबार मनाइदैछ। हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्वका रुपमा यसलाई लिइन्छ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा–बन्धन बाँध्ने परम्परा छ।
यस दिन दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ।
जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा डडेल्धुराको उग्रतारासहितका मन्दिरहरूमा पूजाआजा गर्नेको भीड लागेको छ। आजको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकांक्षा पूरा हुने पण्डित दुर्गा भट्टले बताए।
सत्ययुगमा दानवहरुद्वारा लखेटिएका देवताहरूलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकोले देवताहरु अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ।