Unity Khabar

नेपाल र भारतबीचको म्याच आज, कसले मार्ला बाजी ?

काठमाडौंः नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ। यी दुई देशबीचको खेल दशरथ रंगशालामा बेलुकी ५:३० बजे सुरु हुनेछ।

साफ च्याम्पियनसिपको तयारीमा रहेका दुवै टिमले काठमाडौंमा दुई मैत्रीपूर्ण फुटबल खेलिरहेका हुन्। पहिलो मैत्रीपूर्ण फुटबल बिहीबार भएको थियो। दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए।

अन्जन विष्टको अग्रता जोगाउन नसक्दा नेपालले बराबरी खेलेको थियो। भारतका लागि अनिरुद्ध थापा बराबरी गोल गरेका थिए।

नेपाललाई प्यालेस्टाइन, कीर्गिस्तानलगायतका देशले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेका थिए। तर, नेपालले भारतको प्रस्ताव स्विकार गर्दै काठमाडौं बोलाएको हो।

अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिम तयारीमा छ। प्रतियोगितामा नेपालले भारतलाई मुख्य चुनौतीको रुपमा हेरेको छ। सोही कारण भारतसँग खेल्दै कमजोरी सुधार गर्ने नेपालको लक्ष्य छ।

आइतबार हुने दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका कप्तान किरण चेम्जोङले राष्ट्रिय टिमबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गर्नेछन्।

बिहीबार नेपालको कप्तानी गर्दै किरणले पूर्वकप्तान विराज महर्जनको सर्वाधिक खेलको कीर्तिमानी बराबरी गरेका थिए। आइतबार किरणले नेपालका लागि ७४औँ म्याच खेल्नेछन्। महर्जनले नेपालका लागि ७३ म्याच खेलेका थिए।

कसरी हेर्ने फुटबलको लाइभ ?

खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजन र ओएसआर स्पोट्स युट्युबबाट हेर्न सक्नु हुनेछ। यसका साथै हाम्रो पात्रोले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

यसका लागि एडप्याड र हाम्रो पात्रो बीच सम्झौता भएको छ। विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्नेछन्।

अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो पात्रोको वेबसाइट वा मोबाइल एपमा जानुपर्नेछ अथवा लिंक मा क्लिक गर्न सक्नुहुनेछ। त्यहाँ उपलब्ध मेनु तथा होम पेजमा रहेको ‘नेपाल-भर्सेस इन्डिया फ्रेन्डली म्याच’ मा क्लिक गर्नुहोस् ।

यति गरेसँगै टिकेट खरिद गर्ने पेज खुल्छ। त्यसमा आवश्यक क्रेडिट कार्डको विवरण राख्नुहोस् र टिकेट खरिद गर्नुहोस् र ‘वाच नाव’ मा थिच्नुहोस् ।

यो सबै प्रक्रिया पुरा गरेपछि म्याच लाइभ सुरु भइसकेको छ भने त्यहाँ त्यसको भिडिओ फिड देखिनेछ। सुरू भइसकेको छैन भने बाँकी रहेको समयको काउन्टडाउन अर्थात उल्टो गणना देखिनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...