Unity Khabar

६५ परिवार एउटै पोखरीकाे पानी पिउन बाध्य

डडेल्धुरा : डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका –५ स्थित  टाँक, गजेला, राजगैरा, मैरान वस्तिको एउटै सिचाई पोखरीको रहेको छ।

चार वस्तिका ६५ घर परिवारको सिचाई गर्ने पोखरी मात्रै नभएर खानेपानीका लागी समेत पोखरीकै भर पर्नुपरेको छ। वि.स. २०६५ सालमा आशा कार्यक्रमको सहयोगमा निर्माण भएको पोखरी जीर्ण भएपछि झनै समस्या देखिएको छ।

पालिकाको दुर्गम वस्तिको रुपमा रहेको सो ठाँउमा खानेपानी र सिचाईको चरम समस्या रहेको छ। झलेखोलाको मुलबाट बग्ने पानी सुक्न थालेपछि पोखरीमका पानीको अभाव देखिएको टाँक सिचाई उपभोक्ता समितिका अध्यक्ष भीम लुहारले बताए।

१३ वर्ष पहिला करिब नौ लाखको लगानीमा निर्माण गरिएको डेढ लाख लिटर क्षमता भएको पानी पोखरी जीर्ण हुदै गएको अध्यक्ष लुहारले बताए।

स्थानीय कालु पार्की भन्छन्, ‘चार वस्तिको एउटै पोखरी भएकाले सिचाई गर्न पालो नै पुग्दैन।’  विगतका वर्षदेखी पानीको समस्या झनै बढ्न थालेको उनी बताउँछन्। पानी मुहानबाट सडक खनिएपछि मुहानको पानी सुक्न थालेको स्थानीय रत्ना देवी विकले बताए।

सडक निर्माणले पानी अवरोध भएको विकले बताए। वस्तिमा खानेपानीको व्यवस्था नभएकाले सिचाई पोखरीकै पानी पिउनुपर्ने बाध्यता रहेको स्थानिय डम्बर लुहारको भनाइ छ।

‘चारवटै वस्तिमा करिब ८० प्रतिशत दलित परिवार बसोबाँस गर्छन्, जहाँ शुद्ध पिउनेपानीका लागी खानेपानीको धारा देख्न सम्म पाइएको छैन,’ उनले भने।

खानेपानीको चरम अभाव खेप्दै आएका बेलापुरवासीका लागी वृहत्तर बेलापुर खानेपानी योजना चालु आर्थिक वर्षमा सञ्चालन हुने नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बताए।

संघिय सरकारको सहयोगमा १२ करोड बजेट विनियोजित भई टेन्डर प्रक्रिया पुरा भएकाले तत्कालै काम संचालनमा आउने अध्यक्ष बिष्टले जानकारी दिए।

उनका अनुसार बेलापुर वृहत्तर खानेपानी योजनाको निर्माण ठेक्का चन्द्रा एण्ड बसन्ती जेभी दुनिला कन्ट्रक्सनले पाएको जनाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...