Unity Khabar

किन रोकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम ?

काठमाडौं : चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम रोकिएको छ । बजेट अभावका कारण निर्माणकार्य रोकिएको हो ।

१६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले काम गर्न सक्ने अवस्था नरहेको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । अभियान्ता सीताराम कट्टेल ‘धुर्मुस’का अनुसार गएको साउन १५ गतेदेखि संरचना निर्माणको काम रोकिएको हो ।

रंगशाला निर्माणका लागि सरकारलाई आग्रह गरिएको सीतारामले जानकारी दिए । “संरचना निर्माणको काम पूर्णरुपमा रोकिएको छ । ग्राउन्डमा रोपिएको दुबो गोडमेलको काम भने भइरहेको छ,” सीताराम भन्छन्, “सरकारले सहयोग नगरेसम्म अब काम हुन नसक्ने देखिएकाले हामीले काम रोकिएको कुरा बाहिर ल्याएका हौं ।”

अर्थ मन्त्रालयसँग फाउन्डेशनले सहयोगका लागि आग्रह गर्दै परियोजनाबारे जानकारी गराइसकेको छ । अर्थमन्त्री जनार्दन शर्माले सकारात्मक प्रतिक्रिया पनि दिएका छन् । “उहाँले आफू सकारात्मक रहेको भन्दै सरकारले सहयोग गर्नुपर्ने र गर्ने बताउनु भएको छ । सरकारले गर्ने काम नागरिक स्तरबाट भएको भन्दै धन्यवाद पनि भन्नुभएको छ,” उनले भने, “त्यसैले चाँडै सरकारले बजेट उपलब्ध गराउँछ भन्नेमा हामी आशाबादी छौैं ।”

सरकारले बजेट उपलब्ध गराए एक वर्षमा सबै काम सकिने उनी बताउँछन् । १६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले निर्माण सामग्री पठाउनेलाई पनि समस्या भएको उनी बताउँछन् ।

“हामीले कतिलाई एक महिनामा भुक्तान गर्छौं भनेका थियौं, कतिलाई दुई महिनामा पैसा दिन्छौं भनेका थियौं । तर, समयमै रकम भुक्तानी गर्न नसक्दा काम रोक्नु पर्ने अवस्था आयो,” सीताराम भन्छन्, “कोरोनाले सबै अफ्ठ्यारो परिस्थितिमा रहेका बेला हामीले दातासँग अहिले अपिल गर्न पनि सकेनौं ।”

तीन हजार दर्शक क्षमताको प्यारापिट निर्माण भइसकेको छ । पिच निर्माण वर्षाका कारण रोकिएको छ । पिच बनाउने हो भने अन्तर्राष्ट्रिय खेल खेलाउन सकिने उनको दाबी छ ।

अब ठूलो रकम नजुटाएसम्म निर्माण कार्य अगाडि बढ्न सक्तैन । “५० करोड रुपैयाँ भयो भने अब संरचनाको काम सकिन्छ । यो रकम सरकारले सहयोग नगरेसम्म जुट्न सम्भव छैन,” सिताराम भन्छन्, “हालसम्म ५४ करोड खर्च भइसकेको छ । ३५ प्रतिशत काम सकिएको छ ।”

तीन अर्ब ५५ करोड रुपैयाँ डीपीआर अनुसार रङ्गशालाको लागत मूल्य हो । तर अहिलेको भौतिक प्रगती हेर्दा साढे २ अर्ब रुपैयाँमा रङ्गशला निर्माण सम्पन्न हुने उनको दाबी छ ।

बाह्रखरीबाट साभार

सम्बन्धित पाेष्टहरु
Loading...