Unity Khabar

नेपाललाई एकदिवसीय विश्वकप यात्रामा डोर्याइरहेका रोहित

ओमान : एकदिवसीय विश्वकपमा छनोटका लागि नेपाली क्रिकेट टोली अहिले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा संघर्ष गरिरहेको छ । त्यसकै लागि दोस्रो त्रिदेशीय शृंखला खेल्नका लागि नेपाली टोली यतिबेला ओमानमा छ ।

ओमानमा नेपालले अहिलेसम्म निकालेको मिश्रित नतिजामा युवा खेलाडीले जबरजस्त प्रदर्शन गरेका छन् । मुख्य भूमिका खेल्नेमध्येका एक हुन्, रोहितकुमार पौडेल ।

मध्यक्रममा ब्याटिङ गर्न आउने रोहित नेपालको इनिङ्स लड्खडाउँदा दरिलो खम्बा बनेर उभिएका छन् । जबसम्म उनी क्रिजमा हुन्छन्, नेपाली टोलीको आशा जीवित रहन्छ । अप्ठ्यारो परिस्थितिमा उनी टोलीको दबाब चिर्न माहिर छन् । त्यसैले टोली अप्ठ्यारो परिस्थितिमा हुँदा रोहितको प्रदर्शन सधैँ अब्बल हुनेगर्छ । ओमानको चर्को गर्मिमा रोहितले आफूलाई त्यसमा सवित पनि गरेका छन् ।

तर, यिनै प्रतिभावान रोहित दुई साता अघिसम्म ओमान भ्रमणको टोलीमा पर्ने नपर्ने टुंगो थिएन । सायद कमैले विश्वास गरेका थिए, रोहित टोलीमा फकिन्छन् भन्नेमा । तर, समय रोहितको थियो । त्यसैले परिस्थिति पनि उनी अनुकूल बन्दै गयो । मध्यक्रममा खेल्ने पूर्व कप्तान पारस खड्काले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए ।

त्यसले रोहितलाई टोलीमा फर्कन झनै सहज बनायो । अष्ट्रेलियन प्रशिक्षक डेब वाटमोरको विश्वास जिते । र, आफूलाई प्रमाणित गरे ।

‘‘जहाँसम्म लाग्छ १२, १५ दिन आगाडिसम्म रोहित टिममा हुन्थ्ये की हुँदैन थिए भन्नेमा सबैलाई शंका थियो । कसैलाई थाहा पनि थिएन,’’ नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘‘तर, रोहित आफैंले जुन मिहिनेत गरेर अगाडि आएका छन् । त्यो नेपाली क्रिकेटका लागि खुसीको कुरा हो । उनी परिश्रमी र लगनशिल थिए । टिमभित्र नहुँदा पनि सधैँ मैदानमा आएर आफूले गर्नु पर्ने सबै काम गर्थे । त्यो रोहितको सबैभन्दा राम्रो पक्ष थियो । आफूले राम्रो गर्दा नतिजा पनि राम्रो नै हुन्छ भनेर रोहितले प्रमाणित गरेको छन् ।’’

रोहित तिनै युवा हुन्, जो नेपालले २०१४ को ट्वान्टी–२० विश्वकप खेल्दा नवलपरासीको कुनै गाउँमा गुमनाम थिए । टेलिभिजनको पर्दामा नेपालले विश्वकपमा गरेको प्रदर्शन हेरिरहँदा रोहितकुमारको मनमा पनि नेपालको जर्सी लगाउने हुटहुटी जागेको थियो । उनै फुच्चे रोहितले अहिले नेपाललाई एकदिवसीय विश्वकप यात्रामा डोर्याइरहेका छन् ।

जो केहीलाई सफल हुन परिवारको सहयोगले ठूलो महत्त्व राख्दछ । रोहितलाई यहाँसम्म पुर्याउन परिवारको ठूलो हात छ । परिवारको साथविना रोहितको यो लोभलाग्दो यात्रा सम्भव थिएन । परिवारमा पनि विशेषगरी दाइले उनलाई बाटो देखाएका थिए । रोहितका दाइले क्रिकेट खेल्नकै लागि काठमाडौं पठाए ।

काठमाडौं आएर उनी दिदी भिनाजुसँग डेरामा बसे । बालुवाटार क्रिकेट क्लबमा भर्ना भए । सुरुमा उनी सुनील लामाको प्रशिक्षणमा खेले । बालुवाटार क्रिकेट क्लबबाटै यु–१९ छनोट प्रतियोगिता खेले । यु–१९ टिमको क्याम्पमा पर्न सफल भए । अन्ततः यु–१९ एसिया कपका लागि टोलीमा छनोट भए ।

राष्ट्रिय टोलीमा परेको खबर पनि रोहितले दाइकै मुखबाट सुनेका थिए । त्यो क्षण सम्झदै रोहित भन्छन्, ‘‘मलाई टिममा छनोट भयौ भनेर दाइले सुनाउनु भएको थियो । त्यतिबेला मेरो परिवारमा सबैजना एकदम खुसी हुनुभएको थियो । उत्साह छाएको थियो ।’’

२०१६ को एसिया कपमा भारतविरुद्ध खेल्दा रोहितले कमलेश नगरकोटीको एकै ओभरमा २४ रन हानेका थिए । उक्त खेलमा रोहितले अविजित ६८ रन बनाए । त्यहीँबाट उनी सबैको नजरमा पर्न सफल भए । त्यसपछि भएको एभरेष्ट प्रिमियर लिगमा रोहितले भौरहवा ग्लाडियटर्सबाट खेले । उत्कृष्ट प्रदर्शन गरे ।

त्यही प्रदर्शनले उनलाई सानो उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाउन मद्दत गर्यो । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि उनी सिनियर टोलीमा छनोट भए । नामिबियाविरुद्धको खेलमा रोहितले ‘लिष्ट ए’ क्रिकेटमा डेब्यू गरे । उक्त प्रतियोगितामा रोहितले केन्याविरुद्ध ४७ रन बनाए ।

आसिफ शेखसँग ८७ रनको साझेदारी गर्दै नेपाललाई तीन विकेटको जित दिलाए । क्यानडाविरुद्ध पनि उनले २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । त्यही प्रतियोगितापछि नेपालले आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पायो । नेपालको त्यो ऐतिहासिक यात्राको रोहित टिमको महत्त्वपूर्ण हिस्सा बने ।

१ अगष्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध रोहितले १५ वर्ष ३३५ दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने रोहित विश्वकै चौथो कान्छो खेलाडी बने ।

२६ जनवरी २०१९ मा नेपालले युनाइटेड अरब इयिमरेट्स (यूएई)विरुद्ध ५५ रन बनाउँदै रोहितले सबभन्दा कान्छो उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाए । पछि उक्त कीर्तिमान नेपालकै कुशल मल्लले तोडे ।

पछिल्लो पटक फेब्रुअरी २०२० मा नेपालमै सम्पन्न अमेरिका ओमान र नेपाल सम्मिलित त्रिदेशीय शृखलामा रोहितले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । त्यसपछि उनी टिमबाट बाहिर भए । टिमबाट बाहिर हुनुको पीडा कस्तो हुन्छ, त्यो रोहितलाई मात्र थाहा छ ।

‘‘धेरै नराम्रो लाग्थ्यो,’’ कम बोल्ने लजालु स्वभावका रोहितले थपे, ‘‘राष्ट्रिय टिमको घोषणा हुँदा आफ्नो नाम नहुँदा कति दिनसम्म त निन्द्रा नै लाग्दैनथ्यो । धेरै पीडा हुन्थ्यो । तर, सधैँ त्यसरी बसेर पनि भएन । पुनः ट्रेनिङमा फर्किए । मिहिनेत गरे । आज फेरी टिममा फर्किएको छु । त्यतिबेला प्यासन चाहिने रहेछ । कडा परिश्रम त गर्नै पर्यो ।’’

रोहित ‘टिनएज’को अवस्थामा थिए । टिमबाट झण्डै डेढ वर्षसम्म टिमबाट बाहिर हुँदा उनी बरालिन सक्थे । उमेरका कारण पनि त्यो सम्भावना थियो । तर, रोहितले त्यसबाट अत्तालिएनन् । त्यो कठिन परिस्थितिसँग लडे । मिहिनेत र परिश्रम भएपछि सफलता त हात पर्नु नै थियो । त्यो उनले हासिल गरे ।

‘‘टिमबाट बाहिर हुँदा खेलाडीलाई कस्तो पीडा हुन्छ भनेर अरुले बुझ्न सक्दैन । रोहित त झन युवा खेलाडी हुन् । एक समय राम्रो प्रदर्शन गरे । बीचमा बिग्रियो । टिमबाट बाहिर भए । त्यस्तोबेला कतिपय खेलाडी मानिसिक हिसाबले अर्कै हुनसक्छन्,’’ रोहितको प्रशंसा गर्दै कप्तान ज्ञानेन्द्र थप्छन्, ‘‘तर, खुसीको कुरा रोहितले कमब्याक गरे । उनले जुन मिहिनेत गर्नुपर्ने थियो । त्यो कहिल्यौ पनि रोकिएन । मैदान भित्रमात्र होइन मैदान बाहिर पनि उनले जुन क्यारेक्टर देखाएका छन्, त्यसबाट अरुले पनि सिक्नुपर्छ ।’’

राष्ट्रिय टोलीमा फर्किएपछिको ओमान भ्रमणमा रोहितको प्रदर्शन परिपक्व देखिएको छ । उमेरका हिसावले उनी ‘टिनएज’ मै छन् । तर, उनको प्रदर्शन परिपक्व छ । त्रिदेशीय शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध उनले अविजित ६२ रन बनाए । त्यसअघि खेलेको पीएनजीविरुद्धको दुबै खेलमा पनि रोहितकुमारले नेपालको तर्फबाट सबभन्दा धेरै ४१ र ८६ रन बनाए ।

आईसीसी क्रिकेट विश्व लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा अमेरिकाविरुद्धको पहिलो खेलमा रोहितले अविजित ६२ रन बनाए । ओमानविरुद्धको खेलमा पनि उनले २० रन जोडे । पीएनजीविरुद्ध त उनले ज्ञानेन्द्रसँग कीर्तिमानी साझेदारी गरे । तेस्रो विकेटका लागि ८९ रनको ।

जुन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ब्याट्सम्यानले बनाएको सबभन्दा ठुलो साझेदारी हो । त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई अर्धशतक बनाउने पनि रोहित पहिलो खेलाडी बनेका छन् ।

ओमानमा रोहितले गरेको प्रदर्शनबाट प्रभावित बनेका कप्तान ज्ञानेन्द्र भन्छन्, ‘‘सिनियर खेलाडीहरु टिममा नहुँदा उनीहरुको रिप्लेसमेन्ट के भनेर प्रश्न उठ्थ्यो । त्यो जवाफ रोहितले दिएका छन् । उनी नेपाली टोलीको वर्तमानमात्र होइन । भविष्य पनि हुन् ।’’ बाह्रखरीबाट साभार

सम्बन्धित पाेष्टहरु
Loading...