Unity Khabar

साफ च्याम्पियसिप : ‘घाइते बाघ’ श्रीलंकालाई हराउन सक्छ त भारतले?

काठमाडौं : साफ च्याम्पियसिप २०२१ मा बिहीबार दुई खेल हुँदै छन्। आजको पहिलो खेलमा कीर्तिमान सातपल्टको विजेता भारत र श्रीलंकाले खेल्नेछन्। भने अर्को खेलमा डिफेन्डिङ च्याम्पियन तथा आयोजक माल्दिभ्सले बंगलादेशविरुद्ध खेल्नेछ।

राउन्ड रोबिनका आधारमा चलेको प्रतियोगितामा नेपाल भने शीर्षस्थानमा छ। नेपालको दुई खेलबाट ६ अंक छ। बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ। भारतसँग १ अंक छ भने श्रीलंकासँग कुनै अंक छैन। लगातार दुई खेल खेलेको श्रीलंका दुवैमा पराजित छ। त्यसैले श्रीलंका प्रतियोगिताबाट लगभग बाहिरिइसकेको स्थितिमा छ।

तर, श्रीलंकाली प्रशिक्षक आमिर एलगिच पूरा स्थितिलाई फरक दृष्टिकोणले हेर्छन्। एलगिच भन्छन्, ‘हामी अहिले उत्साही छौं । भलै, हामीले दुवै खेल गुमाएका छौं। यी दुवै खेलमा श्रीलंकाको प्रदर्शन उत्साहबर्द्धक रह्यो। हामीले दक्षिण एसियाली फुटबलमा श्रीलंका पनि छ भनेर देखायौं।’

त्यसैले उनी मान्छन्, भारतविरुद्धको खेलमा श्रीलंकन खेलाडी अझ आत्मविश्वासी र सुदृढ भएर मैदान उत्रनेछन् र भारतलाई सक्दो दुःख दिने प्रयास गर्नेछन्।

भारतलाई थाहा छ, दुई खेल हारेको श्रीलंका घाइते बाघजस्तै भएको छ । यसले तेर्स्याउने चुनौती पक्कै चानचुने हुने छैन। भारतका प्रशिक्षक इगोर स्टिमेक भन्छन्, ‘श्रीलंकाको सामना गर्नु पक्कै पनि सजिलो हुनेछैन। हाम्रो खेल रणनीति भने पूरा ३ अंक बटुल्ने हुनेछ, हामी फेरि अंक गुमाउन सक्ने स्थितिमा छैनौं।’

सम्बन्धित पाेष्टहरु
Loading...