Unity Khabar

डोटीले जित्यो प्रदेश स्तरीय भलिबलको उपाधि, डडेल्धुरा उपविजेता

धनगढीः धनगढीमा आयोजना गरिएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो। पहिलो सेट २५–२२ ले जितेको डोटीले दोश्रो सेट सजिलै २५–१३ ले जित्यो। त्यस्तै तेस्रो सेटमा १७–१७ को बराबरीपछि पनि डडेल्धुरा लयमा नफर्कदा डोटीले २५–२१ ले जित्दै च्याम्पियन भएको हो।

उपाधिसँगै डोटीले नगद एक लाख सहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ। यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले २५-२५ हजार नगद सहित ट्रफी पाएका छन्। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु भए। त्यसैगरी कञ्चनपुरका सन्तोष महत्ता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरवहादुर विक उत्कृष्ट स्पाईकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक भए।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहबीच पुरस्कार वितरण गरिएको यियो। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताको समापन समारोहका सभापति परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह रहेका थिए। कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम सरकारका सामाजिक विकास मन्त्री लालवहादुर खड्का र विशिष्ठ अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी रहेका थिए।

सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टिमहरूको सहभागिता रहेको थियो। सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन भएको हो।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने भएको। ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...