Unity Khabar

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारामा अष्टमी मेला (फोटो फिचर)

डडेल्धुराः सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लागेको छ। नेपाली पात्रोअनुसार बुधबार महाअष्टमी परेपनि उग्रतरामा भने बिहीबार मात्रै अष्टमी मेला लागेको हो।

घटस्थापनादेखि गन्तिका हिसाबले आठौ दिनमा अष्टमी मनाइने प्रचलन रहीआएकाले बिहीबार मात्रै अष्टमी लागेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। मेलाका अवसरमा उग्रतारामा एक दर्जन बढी राँगा र बोकाको बली दिइएको छ।

बिहीबार उग्रतारा भगवती मेलामा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महकामी राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थीहरू पूजा आराधना गर्न पुगेका थिए।

मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य स्थानलगायत भारतका विभिन्न स्थानहरुबाट खास गरी दशैंको अवसर पारेर घरतिर आएका भक्तजन एवं धार्मिक आस्थावान नागरिक उग्रतारा मन्दिरमा आएका थिए।

अष्टमी मेला राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवम् आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रूपमा प्रख्यात रहेको छ। मेलामा अम्बा, ओखर, केरा, दाडीमलगायत स्थानीयस्तरमा उत्पादित विभिन्न चिजको राम्रो व्यापार हुन्छ।

किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको स्थानीयको भनाइ छ।

उग्रतारा भगवतीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रूपमा रहेको छ। चैत अष्टमी, विजया दशमीको अष्टमीको दिन, विजया दशमीको दिन र कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ।

सम्बन्धित पाेष्टहरु
Loading...