Unity Khabar

बैतडी जिप दुर्घटना अपडेट : डडेल्धुराका चालकसहित ६ जनाको मृत्यु

डडेल्धुरा: बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या छ पुगेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौंबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो।जिपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारको लैजाँदै गर्दा बाटोमा मृत्यु भएसँगै मृतकको संख्या छ पुगेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जिपमा सात सवार थिए। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेको प्रवक्ता खड्काले बताए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...