Unity Khabar

अमरगढी र नवदुर्गाका महिलालाई व्यवसायीक बनाउँदै फेडो

५३ महिलालाई बीउ पूँजी रकम

डडेल्धुरा : दलित महिला संघ फेडो डडेल्धुराले डडेल्धुराका दुई स्थानीय तहका महिलालाई व्यवसायीक बनाइँदै छ।  फेडो डडेल्धुराले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका जनप्रतिनिधि महिला र समूहका महिलाहरूलाई व्यवसायीक बनाउन लागेको हो।

आइतबार जिल्ला सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका २० जना जनप्रतिनिधि र ३३ जना समूहका महिलालाई व्यवसायीक बनाउनका लागि बीउ पूँजी रकम समेत दिइएको दलित महिला संघ फेडो डडेल्धुराकि संयोजक सुनिता गैरेले बताइन्।

संयोजक गैरेकाअनुसार दुबै स्थानीय तहका २० जना जनप्रतिनिधिलाई ३० हजारका दर र ३३ जना समूहका महिलालाई २० हजारका दरले रकम हस्तान्तरण गरिएको हो।

‘हस्तान्तरण गरिएको रकमले महिलाहरूले कुनै न कुनै व्यवसाय गर्नुपर्नेछ। केही समयपछि व्यवसाय गरे नगरेको अनुगमन हुनेछ,’ उनले भनिन्, ‘व्यवसाय गर्न नसकेको खण्डमा वा नगरेको पाइए पैसा फिर्ता गर्नुपर्नेछ।’

पेडोले आफूहरूलाई आफ्नो हक हितमा बोल्न सिकाएको समूहका सदस्य राधा दमाइले बताइन्। उनले महिलाहरू आर्थिक रूपमा अब्बल भए समाजमा अग्रणी भूमिकामा उभिएर नेतृत्व गर्न सक्ने समेत बताइन्। पुरुष प्रधान समाजमा महिलाहरू अझैं पछाडि रहेको कार्यक्रममा सहभागी महिलाहरूको भनाइ थियो।

महिलाहरूलाई राजनीति गर्न धेरै समस्या रहेको नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्बरी ओलीले बताइन्। महिला भएकै कारण गतवर्षको स्थानीय तहको चुनावमा आफूले अध्यक्षको टिकट नपाएको समेत उनले गुनासो गरिन्।

महिलाहरू आर्थिक रूपमा सबल भए पुरुषमा निर्भर रहन नपर्ने उनको भनाइ छ। महिलाहरूले बीउ पूँजी रकमबाट राम्रो व्यवसाय गरे उदाहरणिय पात्र बन्न सक्नेमा अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जोड दिए।

बीउ पूँजी रकम धेरै नभएपनि यसले राजनीति गर्ने महिलालाई निकै सहयोग गर्ने दलित महिला संघ फेडोकि केन्द्रिय महासचिव रेणु सिजापतिले बताइन्। बीउ पूँजी रकमले ‘मानो छरेर मुरी फलाउने’ अवसर भएको समेत उनको भनाइ थियो।

सम्बन्धित पाेष्टहरु
Loading...