डडेल्धुरा: परशुराम नगरपालिका–५ परिगाँउस्थित भुवनेश्वरी मावि हाताभित्र अवैध रूपमा रूख काट्ने प्रधानाध्यापक डम्बरसिंह थ्वाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडक बोहरालाई कारवाही भएको छैन्।
प्रअ थ्वाल र अध्यक्ष बोहराले विद्यालय परिसर भित्र रहेका सयौं सिसम, खयर र हल्दोका रूख डिभिजन वन डडेल्धुराको अनुमति नलिएर आफूखुसी काटेका थिए।
माघ ३ गते विद्यालय हाता भित्रका सयौं रूख कटान गरिएको थियो। रूख कटान गरेर काठका गोलीया वडाअध्यक्ष, प्रअ, विव्यस अध्यक्ष र केही स्थानीयले बाँड्न थालेपछि अन्य स्थानीयले बिरोध जनाएका थिए।
विद्यालय व्यस्थापन समिती सदस्य केशव नाथले व्यस्थापन समितीमा कुनै निर्णय नै नगरि रूख कटान गरिएको भएपनि दोषीलाई कारवाही नहुनु दुखद भएको बताए। उनले एक महिनासम्म अनुसन्धान गरिरहेको मात्रै बताउनुको कारण नै दोषी उम्काउन खोजिएको बताए।
अपुरो काठ अझै विद्यालय परिसरमा
विद्यालय हाता भित्र कटान गरिएको अपुरो काठ अझै विद्यालय परिसरमै छोडिएको छ। साना ठूला गरेर सय भन्दा बढी रूख कटान गरिएको भएता पनि डिभिजन वनले आठ वटा सिसम र दुई वटा हल्दुका रूख कटान गरिएको रिपोर्ट सार्वजनिक गरेको थियो।
आठ/दश रूख कटान भएको देखाउनको लागि मात्रै रूखका ठूटा छोडिएको छ भने अरू रूखका ठूटा माटोले पुरिएको छ। कटान गरिएको काठको परिणाम सिसम ४५ क्युफिट र बाँकी हल्दु गरी १८८.८० क्युफिट रहेको डिभिजन वन कार्यालय डडेल्धुराले प्रारम्भिक रिपोर्ट दिएको थियो।
विद्यालय हाता भित्र अलपत्र छोडिएको उक्त काठको मात्रा वन कार्यालय सार्वजनिक गरेको भन्दा निकै कम छ। विद्यालय हाता भित्रका साल र खयरका रूख कटान गरिएको भए पनि अनुसन्धानको रिपोर्टमै छैन्।
डिभिजन वन कार्यालय डडेल्धुराको अनुमति बिना काटिएको रूख वनकै मिलेमतोमा लुकाइएको स्थानीय बताउँछन्। भवन र मैदान बनाउने निहुँमा व्यक्तिगत स्वार्थको लागि कटान गरिएका सिसम, हल्दु, साल र खयरका सयौ रूख कटान गरि लुकाइएको स्थानीयको भनाइ छ।
दोषी उम्काउन अनुसन्धान फितलो
घटनामा डिभिजन वन कार्यालय निकै सक्रिय भएर दोषीलाई कारवाहीको प्रक्रियामा ल्याएर विगो असुल गर्दछ भने केही घटनामा मिलोमतो गरि घटनालाई सामसुम पार्नतर्फ उन्मुख हुन्छ।
भुवनेश्वरी माविको सिमम कटानमा पनि डिभिजन वन कार्यालय नाङ्गो रूपमा घटनाका दोषीलाई बचाउन खोजेको स्पष्ट देखिन्छ। अवैध रुख कटान गरि बिक्रि समेत गरिएको गुनासो आए पछि वन कार्यालयले अनुसन्धान गरेको थियो।
तर, रूख कटानमा संलग्न भएका भनिएका परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टलाई अनुसन्धान अधिकृत तोकि अनुसन्धान गरिएपछि स्थानीय झन् आक्रोशित बनेका थिए।
स्थानीयको विरोध पछि भट्टलाइै अजयमेरूको प्रमुख बनाइएर पठाइएको छ भने अनुसन्धान अधिकृतबाट हटाइएको छैन्।
नियन्त्रणमा लिइसकेको व्यक्तिलाई सरकारी वकिलको राय लिएर छोड्नु पर्ने भएपनि अबैध रूख कटानमा संलग्न प्रअ र अध्यक्षलाई भने वनले राय नलिएरै छोडेको जिल्ला न्याधिवक्ता मोहिनी जोशीले बताए।
प्रअ र अध्यक्षलाई चार जनाको जिम्मा जमानीमा डिभिजन वन कार्यालय डडेल्धुराले माघ १३ गते छाडेको थियो। उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइएपछि छोडिएको थियो।
वन ऐनमा मुद्दा हेर्ने अधिकारीले अदालतमा पेश गर्ने र स्वयम् आफैले छोड्ने व्यवस्था रहेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख रामबिचारी ठाकुरले बताएपनि न्याधिवक्ता जोशी भने त्यसो गर्न नपाइने बताउँछन्।
डिभिजनल अधिकृत ठाकुरको दोहोरो चरित्र
स्थानीयले चर्को विरोध गरेपछि प्रअ र अध्यक्षलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय भने घटनालाई अन्यत्र मोडिरहेको छ।
युनिटी खबरसँग कुराकानी गर्दै डिभिजनल अधिकृत ठाकुरले अनुसन्धान सुक्ष्म रूपमा अगाडी बढेको बताए।
अनुसन्धानमा किन ढिलाई? भन्ने प्रश्नमा उनी भन्छन्, ‘‘यो हाम्रो कार्य क्षेत्र भित्रको कुरा होइन्। विद्यालयको लालपूर्जा भएको जग्गाको रूख कटान हाम्रो कार्यक्षेत्र भित्रको कुरा होइन्। वन जंगलको संरक्षण गर्ने मात्रै जिम्मा हो। लालपूर्जा भएको रूखको संरक्षण गर्नु हाम्रो जिम्मा होइन।’
चार जनाको जिम्मा जमानीमा छोड्नु नियन्त्रण सरह भएको उनी बताउँछन्। डिभिजनल अधिकृत ठाकुरले अनुसन्धान अधिकृत शन्तोष भट्टले सरकारी वकिलसँग नियमित सम्पर्क गरिरहेको समेत बताए।
तर, यता जिल्ला न्याधिवक्ता मोहिनी जोशीले भने वनले आफूसँग नियमित सम्पर्क नगरेको बताउँछन्। ‘एक दिन शन्तोष जी आउनु भएको थियो। औपचारीक रूपमा नभएर अनौपचारीक रूपमा आउनु भएको थियो। मैले सम्पूर्ण प्रक्रिया अपनाउन भनेको थिए। त्यसपछि आउनु भएको छैन्।’