- लक्ष्मी उप्रेती
सर्बहारा वर्गसँग जित्नको लागि पूरा संसार छ, गुमाउनको लागि हतकडी सिबाय अरु केही छैन।–कार्ल मार्क्स
कम्युनिष्ट क्रान्तिकारी भनेको पुरानो शोषक वर्गको हीत गर्ने वर्गीय चरित्रको समाजको विरुद्ध विद्रोह गर्दै र आफू बदलिँदै दुनिया बदल्न अघि बढेको व्यक्ति हो। आफू बद्लिनु भनेको पुरानो समाजलाइ नयाँ समाजमा फेर्न तयार हुनु, त्यसको लागि क्रान्तिकारी माक्र्सबादी सिद्धान्तलाई आत्मसात गर्नु,समाजको वर्गीय चरित्र बुझ्नु, आफूमा समाजबादी दृष्टिकोणको विकास गर्नु र यस बिचार र दृष्टिकोणको वरिपरि व्यापक मजदूर किसान एकतामा आधारित सर्बहारा क्रान्तिको निमित्त तयार हुनु हो।
यसरी आफू बद्लिँदै समाजलाइ बदल्न अघि बढेका व्यक्तिहरूको संगठन नै कम्युनिष्ट पार्टी हो। अर्को शब्दमा भन्दा शोषक वर्गको हातमा रहेको राज्य सत्तालाइ बल पूर्वक खोसेर श्रमिक वर्गको हातमा ल्याउनको लागि अघि बढेका व्यक्तिहरू नै कम्युनिष्ट क्रान्तिकारी हुन र त्यस्ता व्यक्तिहरूको संगठन नै कम्युनिष्ट पार्टी हो। पुरानो समाजमा जन्मेको, हुर्केको हुनाले हामीहरु पुरानोसमाजका आनी बानीहरु आफूसँग बोकेर हिँड्छौं। त्यसैले क्रान्तिकारी हुुनु भनेको उक्त पुरानो समाजका बानी ब्यवहारलाइ परित्याग गरी प्रगतिशील बानी र विचारलाइ पक्रनु हो।
महान दार्शकि कार्लमाक्र्सले भने जस्तै मानव समाजको इतिहास वर्ग संघर्षको इतिहास हो। उत्पादनको साधनमा निजी स्वामित्वको उत्पत्ति भएदेखि नै मानव समाज वर्ग समाजमा विभाजित भएको छ। समाजमा शोषक वर्ग र शोसित वर्ग गरी दुई विपरीत बर्गहरु हुन्छन्। समाजको हरेक व्यक्ति उक्तमध्ये कुनै न कुनै वर्ग अन्र्तगत पर्दछ।कोही पनि वर्गभन्दा माथि पर्दैन। कार्लमाक्र्सले जर्मन दर्शन, फ्रान्सेली समाजवाद र बेलायती अर्थशास्त्रको अध्ययन गरी के तथ्य उजागर गर्नुभयो भने समाजमा शोषक वर्गको हित गर्ने बनिबनाउ पार्टीहरूले कामदार बर्गको हित गर्न सक्दैनन्। आफ्नो मुक्तिको लागि संघर्षको साधनको रूपमा सर्बहारा वर्गले आफ्नै बर्ग पार्टीको निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनु भयो।
रुसी अक्टुबर समाजवादी क्रान्तिका नायक कमरेड लेनिनले द्धितीय अन्तर्राष्ट्रियका बर्नस्टीन र काउत्स्की जस्ता संशोधनवादी नेताहरुको बिरुद्ध भिषण संघर्षको क्रममा नयाँ ढंगको कम्युनिष्ट पार्टीले मात्रै सर्बहारा क्रान्तिको नेतृत्व गर्नसक्ने कुरा औल्याउनुभएको थियो। एड्वर्ड बन्र्सटीनले द्धितीय अन्तर्राष्ट्यिमा संशोधनबादी बाटो समातेका थिए।शुरुमा क्रान्तिकारी भएपनि पछि उनले आफूलाई संसदबादी र संशोधनवादी विचारको पक्षमा उभ्याएका थिए। उनको विचारमा संसदमा बहुमत पुर्याएर संसदलाई कामदार बर्गको हितगर्ने साधनको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने थियो। द्धितीय अन्तर्राष्ट्रियका अर्का नेता काउत्सकीलाइ लेलिनले गद्दारको संज्ञा दिएका थिए। जसले बोल्सेभिक पार्टी तथा अक्टुबर क्रान्ति र जर्जियामा कम्युनिष्ट सत्ता स्थापनाको विरोध गरेका थिए।
द्धितीय अन्तर्राष्ट्रियका त्यस्ता संशोधनवादी र अवसरवादी नेताहरुको विरुद्ध बिद्रोहको झण्डा उठाउँदै लेलिनले क्रान्तिकारी माक्र्सबादलाइ आत्मसात गरेको जुझारु क्रान्तिकारी र लडाकु पार्टीलेमात्र सर्बहारा क्रान्तिको नेतृत्वगर्नसक्ने कुरामा जोड दिँदै बोल्सेभिक पार्टी मात्रै त्यस्तो पार्टी हुने कुराअघि सार्नुभयो। लेनिनका बिचारमा कम्युनिष्ट पार्टी सर्बहारा वर्गको अगुवा दस्ता हो। उनका अनुसार कम्युनिष्ट पार्टी माक्र्सबादबाट दीक्षित पेशेवर क्रान्तिकारीहरुको पार्टी हो। साथै उहाँले कम्युनिष्ट पार्टी सञ्चालन गर्न सगठनात्मक सिद्दान्त पनि प्रतिपादन गर्नुभयो। कम्युनिष्ट पार्टीमा ब्यक्ति सधै पार्टीको मातहत हुनुपर्छ। यसै आधारमा पार्टी बन्ने र सचालन हुने गरेका छन्। पार्टी संगठन सञ्चालन गर्नको लागि कमरेड लेलिनले प्रतिपादन गरेको अति महत्वपूर्ण सिद्दान्तलाइ नै लेनिनवादी संगठनात्मक सिद्दान्त भनिन्छ। उक्त सिद्दान्तमा निम्न कुराहरु रहेका छन्ः
१. अल्पमत बहुमतको मातहत हुन्छ।
२.व्यक्तिसंगठन मातहत हुन्छ।
३. तल्लो कमिटी माथिल्लो कमिटी मातहत रहन्छ।
४. सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटी मातहत रहन्छन।
५. केन्द्रीय कमिटी महाधिबेसनको मातहत रहन्छ।
त्यसैगरी लेनिनले प्रतिपादन गरेको सगठनात्क सिद्दान्तका आधारहरु यसप्रकार रहेका छन्ः
१. जनवादी केन्द्रीयता
यसमा मुख्य दुइ ओटा कुराहरु रहेका हुन्छन्– जनबाद र केन्द्रीयता। पार्टीको निश्चित समितिमा व्यापक छलफल बहस गरी गरिएकोे निर्णयलाइ पार्टीको अनुशासन वा केन्द्रीयताको रुपमा लिइ हरेक सदस्यले पालना गर्नुपर्दछ। जनबाद बिना केन्द्रीयता निरकुश हुने र केन्द्रीयताबिना जनवाद अराजकतामा जाने हुन्छ।
२. आत्म–आलोचना, आलोचनाको सिद्दान्त
कम्युनिष्ट पार्टीमा पार्टी सदस्य वा कार्यकर्ताहरुले आफूभित्र रहेका खराबीहरुको वा कम्जोरीहरुको आफैंले आलोचना गर्ने पद्दतिलाइ पार्टीभित्र आत्मआलोचना भनिन्छ। आफ्ना कम्जोरीहरुलको आफैंले पहिचान गरेर सम्बन्धित कमिटीमा प्रस्तुत गरी फेरि नदोहोर्याइ असल कम्युनिष्ट बन्ने प्रतिबद्दतागर्ने कुरामा यो मान्यताले जोड दिन्छ। त्यसै गरी पार्टी, संगठन, नेता र कार्यकर्ताहरुको कम्जोरी पार्टी सगठनको अर्को नेता, कार्यकर्ताहरुले औल्याइ आलोचनाको माध्यमबाट सुधार गर्नुपर्ने कुरामा यस मान्यताले जोड दिन्छ। आलोचना गर्दा प्रतिशोधपूर्ण रुपमा होइन, कम्जोरी सुुधार गर्ने गरी असल कम्युनिष्ट सदस्य बन्नमा जोड दिनुपर्ने कुरामा यस सिद्दान्तले जोड दिन्छ।
हाम्रो पार्टीले लेनिनबादी संगठनात्मक सिद्दान्तलाइ औपचारिक रूपमा पालनाा गरे पनि लेनिनबादी संगठनात्मक सिद्दान्तका मुख्य आधारहरु जनबादी केन्द्रीयता र आलोचना तथा आत्म–आलोचनाको पद्दतिको पालनामा भने गम्भीर रुपमा प्रश्न उठाउने ठाउँ रहेको छ।
हामी पनि अहिले पार्टी रुपान्तरणको गम्भीर मोडमा उभिएका छौ। हाम्रो पार्टीको आठौं महाधिबेसनले पार्टीभित्रका खराबीहरुको चित्रण गरेको छ। ‘अहिले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढ्दो छ ’ (प्रचण्डद्धरा प्रस्तुत प्रतिबेदन)। यतिबेला हामीले आफैंलाई प्रश्न गर्नुपर्छ, के हामी उच्च कम्युनिष्ट नैतिकताको पालना गर्न छौँ? के हामी सच्चा कम्युनिष्ट क्रन्तिकारी हौ?के हामी सांस्कृतिक रुपमा रुपान्तरित हुन सक्छौं? आज हामीभित्रका गलत र गैर सर्बहारा प्रवृत्तिको खोजीगर्ने हो भने एउटा लामो फेहरिस्त देखा पर्छ।
हामीमा देखिएका कमी कम्जोरीहरू के–के छन्?
१.पार्टीभित्र र राज्यका निकायहरुभित्र पद, सम्मान, प्रतिष्ठा, बिशेषाधिकार प्राप्त गर्नको लागि नेतृत्वको चाकडी र दलाली गर्ने प्रवृत्ति।
२. समग्र पार्टीको होइन, गुटको नेता बन्ने प्रवृत्ति।
३. कमिशन, भ्रष्टाचार मार्फत् पार्टी भित्रैका केही नेता कार्यकर्ताहरुले अकूत सम्तत्ति आर्जन गरेको भन्ने पार्टी भित्रै र जनस्तरमा ब्यापक जनगुनासो।
४. पार्टीभित्रै केही नेता कार्यकर्ताहरुको वर्ग उत्थान भएको भन्ने गम्भीर आरोप।
५. संगठनलाइ आम सर्बहारा श्रमजीबी वर्गको हितको सट्टा आफ्नो व्यक्तिगत हितको लागि प्रयोग गर्नखोज्ने प्रबृत्ति।
६. पार्टी कमिटीलाइ आफ्नो ब्यक्तिगत पेवा ठान्ने प्रवृत्ति।
७.पार्टी निर्णयलाइ आफ्नो निर्णय देखाउने होइन, आफ्नो निर्णय नै पार्टी निर्णय बनाउन खोज्ने आत्मकेन्द्रित ब्यक्तिबादी प्रवृत्ति।
८. जनता र पार्टी हितलाइ भन्दा आफ्नो ब्यक्तिगत हितलाइ जहिल्यै माथि राख्ने प्रवृत्ति।
९. पार्टी कार्यकर्ताहरुले पार्टीका नाममा श्रमजीबी जनताको हितको सट्टा आफ्ना निजी हितहरूको प्रतिनिधत्व गर्ने प्रवृत्ति।
१०.पार्टीको नीति र अनुशासनलाइ ध्वस्त पार्न खोज्ने प्रवृत्ति।
११. भाषणमा क्रान्तिकारी र जीबन ब्यबहारमा गैरक्रान्तिकारी बाटोमा हिड्ने प्रवृत्ति।
१२.चुनाबमा बाहेक आम कार्यकर्ता जनताको नजिक नजाने प्रवृत्ति।
१३. जनताबाट सिक्ने होइन, जनताको शिक्षक मात्र बन्न खोज्ने नोकरशाही प्रवृत्ति।
१४. पार्टीभित्रकै सहयोद्दालाइ सहयोद्दा होइन, भाग खोस्न आएको दुश्मनको रुपमा देख्ने प्रवृत्ति।
१५. पार्टीभित्रको आलोचना आत्मआलोचनाको प्रकृयालाइ आफूमाथिको आक्रमण सम्झिने असहिष्णु बन्ने मात्र होइन, आक्रमणको तारो बनाउन खोज्ने प्रवृत्ति।
१६. पार्टीमा कम्युस्टि नैतिकतकाको बारेमा छलफल गर्न खोज्दा आन्दोलनबाटै कर्नर मा पार्न खोज्ने प्रवृत्ति।
१७. पार्टीलाइ जनताको सेवा गर्ने, श्रमिक वर्गलाइ जनताको शोषण उत्पीडनबाट मुक्त गर्ने साधन नबनाइ आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्ने साधन बनाउन खोज्ने प्रवृत्ति।
१८.इश्र्यालु, अहंकारी, भोग बिलासी, चाकडी, चाप्लुसी गर्ने निम्न पूँजीवादी प्रवृत्ति।
हाम्रो पार्टीको आठौ महाधिबेशनले जनबादी क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्दै समाजबादी क्रान्तिका आधारहरु तयार गर्ने प्रस्ताब पारित गरेको छ। उक्त कार्यभार पूरा गर्न पार्टीको क्रान्तिकारी रुपान्तरणमा जोड दिएको छ। पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्तिबढ्दो छ । यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नतसंस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन’(कमरेड प्रचण्डद्धारा प्रस्तुत प्रतिबेदन)। साथै पारित प्रतिबेदनमा पार्टीका सबै कमिटीहरुमा आलोचना, आत्म–आलोचनाको पद्दतिलाई जीवित गर्नुपर्ने कुरामा जोड दिइएको छ। उपरोक्त (माथिका) १८ बुँदामा प्रस्तुत प्रवृत्ति र कम्जोरीसहितको पार्टीले समाजवादी क्रान्तिका आधारहरु तयार गर्ने कुराको कल्पना सम्म पनि गर्न सकिँदैन।
तसर्थ उपरोक्त गल्ती कम्जोरीहरुलाई पार्टी भित्रको आलेचना, आत्म–आलोचना, अन्तरसंघर्ष र आत्मसंघर्षको माध्यमत्राट सच्याउदै परिबर्तनको पहिलो निसाना आफैंलाई बनाएर मात्र सच्याउन सकिन्छ (Self should be the first target of revolution- (क. माओ)। पार्टीभित्र धेरै खराबीहरु छन्। पार्टीभित्रका यी खराबीहरुलाई बाहिर निकालेर फेरि एउटा सर्बहाराकृत क्रान्तिकारी कम्युनिष्ट पार्टीमा रुपान्तरण गर्न सक्यौं भने मात्रै यस पार्टीले समाजबादी क्रान्तिका आधारहरु तयार गरी नेपाली समाजमा नेपाली विशेषता सहितको समाजबादी क्रान्ति सम्पन्न गर्दै ‘उत्पादनको सामाजिक संबन्ध र उत्पादनका साधन माथिको सामाजिक स्वामित्व’ को पद्दति लागु गर्न सकिन्छ जहाँ समाजले आफ्नो झण्डामा लेख्न सकोस ‘हरेकबाट उसको योग्यता अनुसार हरेकलाइ उसको काम अनुसार’।
आजभोलि हामी माथि कांग्रेस, एमाले, माओवादी उस्तै पार्टी हन् भन्ने आरोप जनस्तरबाट लागिरहेकोछ। ‘सामाजिक, आर्थिक तथा सांस्कृतिक चरित्रमा माओवादी र अन्य पार्टीहरूमा खासै भिन्नता देखिन छाडेकोछ।(कमरेड प्रचण्डको आठौं महाधिबेसनमा प्रस्तुत प्रतिबेदन) यस अवस्थामा हामीले हामी कांग्रेस, एमालेभन्दा मौलिक रूपमा भिन्न र क्रान्तिकारी छौ भनेर आफ्नो व्यवहारबाटै पुष्टि गरेर देखाउनुपर्ने चुनौती हाम्रा सामु छ। किन भने रुपान्तरण सहितको माओवादी पार्टी र यसका कायर्ककर्ताहरुले मात्र जनविश्वास प्राप्त गर्न सक्छ। हामीले हाम्रो पक्षबाट भए गरेका कमी कम्जोरीहरुको सम्बन्धमा निसंकोच जनताको विचमा आलोचित हुँदै फेरि पार्टी र आन्दोलनमा त्यस्ता गैर सर्बहारा र गैरक्रान्तिकारी कम्जोरीहरु नगर्ने प्रतिबद्धता गर्न जरुरी छ। आसन्न स्थानीय तहको चुनावको पूर्व सन्ध्यामा पार्टीको तल्लो तहका कार्यकर्ताहरुलाई र आम जनसमूदायलाई हरेक तहको पार्टी नेतृत्वले यस कुरामा प्रतिबद्दता देखाउनुझन् बढी जरुरी छ। किन भने क्रान्तिकारी बन्ने प्रकृयामा सर्बप्रथम आफूभित्र क्रान्ति गर्नु क्रान्तिको आम नियम हो। यसरी अघि बढेमा चुनावको पूरै माहोल हाम्रो पक्षमा तयार हुनबाट हामीलाइ कसैले पनि रोक्न सक्दैन। क्रान्तिकारीहरुको लागि चुनाब एउटा लडाइ हो जहाँ आफ्नो पार्टीका क्रान्तिकारी एजेण्डाहरू लाखौं करोडौं जनताहरूको बीचमा लैजान पाउने मात्र होइन, यसै क्रान्तिकारी एडेण्डाको वरिपरि आम जनसमुदायलाइ गोलबन्द गर्दै आम श्रमजीवी जनतामा किल्ला गाढेको जनआधारित पार्टी निर्माण गर्न सकिन्छ। तर प्रतिकृयावादीहरूको लागि चुनाव भनेको राष्ट्रका सबै श्रोत साधनहरूमाथि कब्जा गरी त्यसको दोहोन गर्न जनताबाट वैधता प्राप्त गर्ने उपयुक्त अवसरको खोजी हो।
हामीले क्रान्तिकारी कुरा र भाषण मात्र गरेर हुँदैन, हामीले हाम्रो क्रान्तिकारी सिद्दान्त अनुसार आफ्नो जीवन व्यवहारलाइ हिँडाउन सकेका छौं कि छैनौं,आफैंतिर फर्केर हेर्न जरुरी छ। त्यसकारण जनता हामीसँग खुसी होइन, रुष्ट भएका छन्। हामीले शान्ति प्रकृया पछि कहिल्यै पनि आफ्ना बानी ब्ययबहार र कामलाई जनताको निगरानीमा राखेनौं, निगरानी गर्न दिएनौं जनताको खबरदारीलाइ आवश्यक नै ठानेनौं। जसको कारणले हामी जनताबाट टाढिन पुग्यौ। यस सन्दर्भमा जनस्तरबाट गरिएका र पार्टीभित्रबाट भए गरिएका आलोचनाहरुलाई सकारात्मक रुपमा ग्रहण गरी आफूलाई असल कम्युनिष्ट सदस्यको रूपमा सुध्रिने अवसरको रूपमा लिनुपर्छ र जनतासँग एकाकार भएर हिँड्नु पर्छ। पार्टी, क्रान्ति, वर्ग र मानव जातिको हितको लागि हामीले आफ्नो व्यक्तिगत स्वार्थ त्याग गर्न आनाकानी गर्नु हुँदैन। सच्चा कम्युनिष्ट क्रान्तिकारीहरूले श्रमिक वर्गको मुक्तिको लागि दुष्ट पुरानो समाजलाइ ‘मानबले मानबमाथि शोषण उत्पीडनको अन्त्य गर्ने भाइचारा र समानतामा अधारित समाजवादी समाज’मा बदल्न क्रान्ति अनिवार्य शर्त हो।
(लेखक उप्रेती नेपाल कम्युनिष्ट पार्टी (माओवदी केन्द्र) का सुदूरपश्चिम प्रदेश समिति सदस्य हुन्)