डडेल्धुराः अमरगढी नगरपालिकामा मौसमी फलफुलको रस उत्पादन गर्ने भन्दै दोगडा भूमिराज फलफूल प्रशोधन उद्योगका सञ्चालक बलदेव भट्टले ५६ लाख ७५ हजार अनुदान पाए। उनले एक करोड ७ लाखको उद्योग देखाएका थिए।
उद्योग भट्टको नाममा रहेको भएपनि अर्को व्यक्ति ललितमोहन जोशीको पनि यसमा लगानी रहेको छ। सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्र डडेल्धुराले किस्तामा दिनुपर्ने भुक्तानी उनलाई एकै पटक दियो। तर, यो उद्योग सञ्चालनमा नआउँदै अनुदान पाएर बन्द गरिएको छ।
मौसमी फलफूलहरू मेसिनबाट रस निकाली उत्पादन बजारमा पठाउने तयारी गरि गत २०७७ को फागुनमा तामझामका साथ यो उद्योग सञ्चालनमा आएको थियो। उद्योग सञ्चालन गर्दै सञ्चालक ललित मोहनले बजारको अभाव नभएको र फलफुलको रस उत्पादन गरेर बजारमा पठाउने बताए।
तर, २\४ दिन पनि सञ्चालनमा नआउँदै उद्योग बन्द भयो। युनिटी खबरले यसबारे बुझ्दा कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्टले २०७८ फागुन १ गतेदेखि पुनः उद्योग सञ्चालनमा आउने र सञ्चालनमा नआए सञ्चालकलाई कारबाही गर्ने बताएका थिए।
कृषि ज्ञान केन्द्र डडेल्धुराले उद्योग सञ्चालकलाई उद्योग सञ्चालनमा नआए कारबाही गर्ने भनेर पत्र पनि काट्यो। तर, उद्योग सञ्चालकको अटेरीले अहिलेसम्म उद्योग सञ्चालनमा आएको छैन्। तर, सञ्चालकलाई ज्ञान केन्द्रले समेत कारबाही गर्ने हिम्मत देखाएको छैन्।
अनुदान रकम झ्वाम पारेर उद्योग बन्द राखेका सञ्चालक भट्ट पुँजि अभाव देखाउँदै बन्द गरेको बताइरहेका छन्। पटक–पटक एक दुई दिनमा उद्योग सञ्चालनमा ल्याउँछु भनेका उनले भने, ‘उद्योग जसरी पनि सञ्चालनमा आउँछ। तर, पुँजिको अभाव छ। पाँच/सात लाख चाहिन्छ। अब केही दिनमा सञ्चालनमा ल्याउँछौं।’
अमरगढी नगरपालिका–३ लिजमा जमिन लिएर उद्योग सञ्चालनमा ल्याएका सञ्चालकले दुई वर्षसम्म जमिनको भाडा समेत तिरेका छैनन्।
अनुदान लिन मात्रै उद्योग दर्ता गर्ने परिपाटी
डडेल्धुरामा अनुदान लिन मात्रै उद्योग दर्ता हुने गरेका छन्। अनुदान लिइसके पश्चात भने ती उद्योग न सञ्चालनमा आउँछन् न त उत्पादन नै हुन्छ।
उद्योग दर्ताको संख्या बढेसँगै आयात रोकिने, कच्चा पदार्थको प्रशोधन गर्ने र उत्पादन बढनु पर्ने अवस्थामा डडेल्धुरामा फलफूल, तरकारी, जडिबुटी, रैथाने बाली प्रशोधन हुन नसकी थन्किने अवस्था छ। पछिल्लो समय अनुदानका लागि उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख केशव भण्डारी बताउँछन्।
उनका अनुसार घरेलुमा ०७८÷७९ मा लघु ७१६, घरेलु १, साना १२ गरि जम्मा ७२९ उद्योग दर्ता गरिएका छन। निर्वाहमुखी, नाफामुखी र व्यावसायीक मैत्री उद्योगभन्दा अनुदानमुखी उद्योगी भएकाले अनुदान सकिए पश्चात उद्योगमा ताला ठोक्नेको संख्या बढ्दै गएको छ। उद्योग दर्ता गर्ने अधिकांश टाठाबाठा मात्रै छन्।
सामान्य नागरिकको पहुँचमा छैन। जसका कारण उद्योग दर्ता गरेर उद्यमीका नाममा टाठाबाठाले नै स्थानीय तह र प्रदेशको कृषि अनुदान, सहुलियत कर्जा कुम्ल्याइरहेका छन्। आफ्ना कार्यकर्तालाई अनुदान दिन उद्योग दर्ता गर्न लगाउने उपलब्धि नखोज्ने अनुगमन निरीक्षण नगरेकै कारण राज्यकोषको करोडौं बजेट दोहन भइरहेको छ।