Unity Khabar

पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ : नेता रावल

डडेल्धुरा: नेकपाका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउनुपर्ने बताएका छन्।

आइतबार डडेल्धुरा सदरमुकाममा आयोजित डडेल्धुरा जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा उनले दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भइसकेकाले अब पाटीभित्रको आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन्।

‘हामीले जब दुईटा ठूला पार्टीको बीचमा एकिकरण गरिसकेका छौं।’ उनले भने,‘पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ।’

उनले पार्टीभित्रको आन्तरिक एकता बलियो बनाउनको लागि सबैले विधि, पद्धतीमा चल्नुपर्ने बताए। विधि, पद्धती मिचेर व्यक्तिहरु आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेर अगाडिपछि पार्टीभित्र समस्या उत्पन्न हुने उनको भनाइ थियो।

उनले नेकपाका नेता–कार्यकर्ताले अब एकजुट भएर अगाडि बढ्नुपर्ने समेत बताए। पार्टीभित्र जहिले पनि सत्य, राष्ट्रहितको पक्षपोषण गर्नुपर्ने उनको तर्फ छ।

‘अब हामी सबैले एकजुट भएर अगाडि जानुपर्छ।’ उनले भने,‘हामीले पार्टीभित्र जहिले पनि सत्यको पक्षपोषण गर्नुपर्दछ।’ उनले नेता कार्यकर्ताको अपेक्षाअनुसार एकता प्रक्रिया तीव्र गतिमा अघि बढ्न नसकेको स्वीकार गरे। सुदूरपश्चिम इन्चार्ज रावले संगठनात्मक कामलाई तीव्रता साथ अगाडि बढाउन नेता–कार्यकर्तालाई निर्देशन समेत दिए।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य एवं प्रतिनिधि संसाद लेखराज भट्टले नेपालको कम्युनिस्ट आन्दोलनमा दुई पार्टीबीचको एकताको महत्व ऐतिहासिक रहेको बताए। लामो छलछपल र बहसपछि मात्रै दुई पार्टीबीच एकता भएको उनले बताए।

दुई ठूला कम्युनिस्ट पार्टीहरुका हिजोका समस्याहरु, नयाँ जिम्मेवारीलागयतका कारणले गर्दा पार्टी एकता प्रक्रियामा केही ढिलाइ भएको उनको भनाइ थियो। नैतिकवाल बन्न र कम्युनिस्टको अनुशासनलाई पालना गर्न नेता–कार्यकर्तालाई उनले आग्रह समेत गरे।

सम्बन्धित पाेष्टहरु
Loading...