डडेल्धुराः गणेश मावि बडालले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७९ को उपाधि जितेको छ। मंगलबार सम्पन्न गन्यापधुरा गाउँपालिकास्तरीय शिल्डमा प्रथम स्थान हासिल गर्दै गणेश माविले शिल्डमाथि कब्जा जमाएको हो।
१६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गरेको विद्यालयले २३ पदकसहित प्रथम स्थान हासिल गरेको हो।
गन्यापधुरा गाउँपालिका–१ को सरस्वती मावि भाँतकाँडा दोस्रो भएको छ। उसले ६ स्वर्ण, ५ रजत र ४ कास्य गरि १५ पदक जितेको छ।
प्रतियोगितामा तेस्रो भएको जनता मावि सकायलले ५ स्वर्ण, १४ रजत र १ कास्य पदक गरि २० पदक हात पारेको छ। भुवनेश्वरी मावि जैसेराले सान्त्वना स्थान हासिल गरेको छ।
उसले २ स्वर्ण, १ रजत र १० कास्य गरि १३ पदक जितेको गन्यापधुरा गाउँपालिका–२ का वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए। प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुने खेलाडीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने भएका छन्। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते लगाएतका खेलहरू समावेश थिए।