डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–७ मेलगाँजामा रहेको गौरीशंकर माविले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता विद्यार्थीलाई सहुलियतमा पढाउने भएको छ।
माघ २२ गते सम्पन्न आलिताल गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण विजेता ४ खेलाडीलाई विद्यालयले सहुलियतमा पढाउने भएको हो। रनिङ शिल्डमा गौरीशंकर माविले ४ स्वर्ण र समान ११/११ रजत र काश्य गरी कूल २६ पदक जितेको थियो।
कक्षा १० मा अध्ययनरत पार्वती विष्टले तेक्वान्दो, १० कै मानमती भूलले दौड तीन हजार मिटर, कक्षा ९ मा अध्ययनरत सोनु बोहराले कराते र कक्षा ५ का सविन साउँदले उसुमा स्वर्ण विजेता जितेका थिए। उनीहरूलाई विद्यालयमा लाग्ने विभिन्न किसिमको शुल्क अब नलिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवबहादुर साउँदले जानकारी दिए।
‘हामीले पढाइ र खेलप्रति उहाँहरूको लगाब अझैं बढोस् भनेर कुनै पनि प्रकारको शुल्क नलिने निर्णय गरेका छौँ,’ अध्यक्ष साउँदले भने,‘सीमित स्रोतसाधन भएको विद्यालयले २५ वटा पदक जित्नु पनि हाम्रा लागि एक उपलब्धि नै हो। आगामी दिनमा हामी धेरै पदक जित्ने गरी विद्यार्थीहरूलाई तयार पार्छौं।’
यसका साथै विद्यालयले आइतबार पदक विजेता सबै खेलाडीलाई फूलमाला र प्रशंसा पत्रसहित सम्मानसमेत गरेको छ। पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७९ को उपाधि भने आलिताल गाउँपालिका–८ डोलामा रहेको दुर्गा मावि, डोलाले जितेको थियो। १८ स्वर्ण, ६ रजत र ६ कास्य पदक प्राप्त गरेको विद्यालयले ३० पदकसहित प्रथम स्थान हासिल गरेको थियो।