Radio Unity 92.2MHz

देशका धेरै ठाउँमा वर्षा

काठमाण्डौ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै कोशी प्रदेशको पहाडी भेगका एक दुुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै भोलि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेशसहित कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै ठाउँमा छिटफुटदेखि हल्का वर्षा हुने सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पर्सि सोमवारदेखि क्रमिक रूपमा मौसममा सुधार हुने देखिन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...