डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहले कसैको पनि दबाब र प्रभावमा नपरेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
शुक्रवार जिप्रका डडेल्धुरामा हाजिर भएका डीएसपी श्रेष्ठले आइतवार जिल्लास्थित पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम गरेका छन्। त्यसक्रममा उनले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने प्रतिबद्धता जनाएका छन्। डीएसपी सुगन्ध श्रेष्ठको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत सिंह यहाँ आएका हुन्।
उनले जुवातास र लागुऔषध नियन्त्रणमा पनि प्रहरी सक्रिय भएर लाग्ने बताए। जिल्लास्थित पत्रकारहरूले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाएका थिए।
पत्रकारहरूले जुवातास, ट्राफिक व्यवस्थापन, हत्याहिंसा, आत्महत्या, लागूऔषध, चोरी तस्करीलगायतका घटना घट्ने हुँदा यिनीहरूको न्यूनीकरणमा ध्यान दिन डीएसपी सिंहलाई आग्रह गरेका थिए। उनले प्रहरीलाई सुस्त नबनाउने र लापरबाही गर्ने प्रहरीहरूलाई कारबाही गरिने पनि बताए।
सबैबाट सकारात्मक सुझावको अपेक्षा गरेको उल्लेख गर्दै उनले आफूू मिडियाबाट टाढा नहुने र सहकार्य गरेर अघि बढ्ने बताए। उनले आफू यहाँ रहँदासम्म हरेक घटनाको निष्पक्ष र पारदर्शी रूपमा अनुसन्धान गर्ने प्रतिबद्धतासमेत जनाए।
‘प्रहरीले कसैसँग कतै पनि मिलेमतो गर्दैन। हामीबाट गैह्रकानुनी काम हुँदैन,’ उनले भने, ‘प्रहरीबाट हुने कमीकमजोरी सुधार गर्नेछौँ।’
जिल्ला कारागारबाट ६ जना कैदीबन्दी फरार अझै फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको उनले जानकारी दिए। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा समेत आफूले काम गरेको अनुभव सुनाउँदै उनले कैदीबन्दीहरूलाई भारतबाट पनि खोजेर पनि ल्याइने दाबी गरे।
चाडपर्वको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको चेकजाँचमा कडाइ गर्न निर्देशन दिइसकेको डीएसपी सिंहले बताए।