Radio Unity 92.2MHz

डोटीमा इभी हाइस दुर्घटना : एकजनाको मृत्यु, १८ घाइते

डडेल्धुरा: डोटीमा इलेक्ट्रोनिक भ्यान (इभी) गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

शनिबार बिहान ५ः३५ बजेको समयमा भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा अछामबाट धनगडीतर्फ जाँदै गरेको सु.प.प्र ०१००१ ख ३९५६ नम्बरको इभी गाडी दुर्घटना भएको हो। दुर्घटनामा अछामको मङ्गलसेन नगरपालिका–९ बस्ने २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा परि घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका– १२, बि गाँउ बस्ने गाडी चालक अन्दाजी ३८ वर्षका देवबहादुर थापा, अछामको मङ्गलसेन नगरपालिका– ९ बस्ने १८ वर्षीय लोकेन्द्र रावल, सोही ठाउँका ४२ वर्षीय मेघ्या ढोली, १६ वर्षीय एकेन्द्र विक, अन्दाजी वर्ष ३५ की मोतिकला परियार, ११ वर्षीय विराज परियार, ५३ वर्षीय भीम बहादुर ढोली रहेका छन्।

त्यस्तै सोही ठाउँ बस्ने ११ वर्षीया सृष्टी परियार, वर्ष ५ की आहाना परियार, वर्ष ५ की एलिसा परियार, वर्ष ५० कि पदमा परियार, वर्ष ५ की रिया परियार, वर्ष १९ को विनोद परियार रहेको प्रहरीले जनाएको छ।

यसैगरी अछामको मङ्गलसेन नगरपालिका–२ बस्ने २३ वर्षीय रवि परियार, ३७ वर्षीय नृप ढोली, ३८ वर्षीय देवराज भाट, ३० वर्षीया मनसरी परियार र अछामकै बान्निगढी नगरपालिका– १ जयगढ बस्ने ५० वर्षीया इन्द्रसरा परियार रहेका छन्।

घाइतेमध्ये लोकेन्द्र रावल, एकेन्द्र विक, मोतिकला परियार, विराज परियार, भीमबहादुर ढोली, शृष्टी परियार, विनोद परियार र मनसरी परियारको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको कमाण्डमा १४ जनाको टोलीले उद्दार गरी घाईतेहरुलाई उपचारको लागी पदमा अस्पताल अत्तरिया, कैलाली पठाएको जनाइएको छ। गाडी सडकबाट अन्दाजी १०० मिटर तल खसेको बताइन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...