बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेर जिप सोमबार बिहान साढे १० बजेतिर जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाटी नजिक दुर्घटनामा परेको थियो।
जिपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन। अन्य सबै घाइते रहेको बुझिएको छ। घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। जिप आफैं अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको बताइन्छ।