डडेल्धुरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीलाई डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ।आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जोशी रास्वपाको आधिकारिक उम्मेदवार हुनेछन्।
‘भिजन डडेल्धुरा’ अभियानका अभियन्ता रहेका डा. जोशी लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै नेपाली कांग्रेसका बहालवाला मन्त्री गोविन्दराज बोहरालाई पराजित गरेका थिए।
रास्वपाले डा. जोशीलाई सक्षम, इमानदार र जनमुखी नेताका रूपमा अघि सारेको जनाएको छ। प्रदेश सभा सदस्यका रूपमा रहँदा उनले स्वास्थ्य, शिक्षा तथा दुर्गम क्षेत्रका नागरिकका समस्यालाई सदनमा प्रभावकारी रूपमा उठाउँदै आएको पार्टीको दाबी छ।
डा. जोशीलाई डडेल्धुरामात्र होइन, समग्र सुदूरपश्चिमकै नेताका रूपमा चिनिने व्यक्तित्वका रूपमा हेरिने गरिएको छ। सरल व्यक्तिगत जीवन, स्पष्ट राजनीतिक छवि र डडेल्धुराको भूगोल तथा सामाजिक संरचनाबारे राम्रो जानकारी भएकाले उनी मतदाताको मन जित्न सफल भएको विश्लेषण गरिएको छ।
रास्वपाका अनुसार उम्मेदवार छनोटमा लामो छलफल र आन्तरिक रस्साकस्सीपछि डा. जोशीलाई सबैभन्दा उपयुक्त विकल्पका रूपमा अघि सारिएको हो। पार्टीले उम्मेदवार छनोटमा आन्तरिक लबीभन्दा पनि जनचाहना र मतदाताको भावनालाई प्राथमिकता दिएको जनाएको छ।
पार्टी सभापति रवि लामिछानेले सुरुदेखि नै डडेल्धुराबाट डा. जोशीलाई उम्मेदवार बन्न आग्रह गर्दै आएको बताइएको छ। यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सागर ढकाललाई अघि सारे पनि डडेल्धुरामा उनको माहोल अनुकूल नरहेको बुझाइपछि बालेनसमेत डा. जोशीको पक्षमा खुलेको स्रोतले जनाएको छ।