Radio Unity 92.2MHz

आलितालमा मनाइयो ३१औँ जनयुद्ध दिवस

डडेल्धुरा: नेपाली कम्युनिष्ट पार्टी आलिताल गाउँ कमिटीले ३१औँ जनयुद्ध दिवस श्रद्धापूर्वक मनाएको छ। शुक्रबार आयोजित कार्यक्रममा जनयुद्धका शहीदहरूको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहरा ‘मन्जु’, नेकपा आलिताल गाउँ कमिटी अध्यक्ष छबिलाल थापा, नेता अमर बोगटी ‘सुशील’लगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्ने नेताहरूले जनयुद्धका शहीदहरूले देखाएको मार्गदर्शन र बलिदानलाई स्मरण गर्दै सामाजिक न्याय, समावेशी विकास र जनअधिकारको पक्षमा प्रतिबद्धता दोहोर्‍याएका थिए। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वि.सं. २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौतासँगै औपचारिक रूपमा शान्ति प्रक्रियामा रूपान्तरण भएको थियो। दशकौँ लामो सशस्त्र द्वन्द्वपछि भएको उक्त सम्झौताले मुलुकलाई नयाँ राजनीतिक अध्यायतर्फ अग्रसर गराएको मानिन्छ।

त्यही जनयुद्धको जगमा नेपालमा व्यापक राजनीतिक परिवर्तन सम्भव भएको विश्लेषण गरिन्छ। गणतन्त्र स्थापना, संघीय शासन प्रणालीको कार्यान्वयन, समावेशी लोकतन्त्रको अभ्यास तथा सामाजिक न्यायका एजेन्डाहरू जनयुद्ध र त्यसपछिका जनआन्दोलनहरूको बलमा संस्थागत भएको ठानिन्छ। जनयुद्ध दिवसका अवसरमा यिनै ऐतिहासिक उपलब्धिहरूलाई स्मरण गर्दै शहीदहरूको योगदानको कदर गर्ने गरिन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...