डडेल्धुरा: राष्ट्रिय आर्थिक गणना–२०८२ को तयारी डडेल्धुरामा तीव्र बनाइएको छ। आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाको तयारी जिल्लामा तीव्र पारिएको हो।
यसैक्रममा जिल्ला आर्थिक गणना कार्यालय, डडेल्धुराले बुधवार गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्लास्तरीय सचेतना गोष्ठी सम्पन्न गरेको छ।
जिल्ला आर्थिक गणना समन्वय समिति डडेल्धुराका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीको प्रमुख आतिथ्यतामा गोष्ठी गरिएको हो।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित आयोजित गोष्ठीमा जिल्ला तथा स्थानीय तहका विभिन्न सरोकारवाला निकायहरूको सहभागिता थियो।
गोष्ठीमा बोल्दै जिसस प्रमुख भण्डारीले आर्थिक गणनाले देशको समग्र अर्थतन्त्रको यथार्थ चित्र प्रस्तुत गर्ने बताउँदै यसले आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले नागरिकको जीवनस्तर सुधार गर्न आवश्यक योजना निर्माणमा पनि यो गणना महत्वपूर्ण हुने औंल्याउँदै सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए।
निमित्त प्रमुख जिल्ला अधिकारी वलीले अर्थतन्त्रको यथार्थ मापनका लागि राष्ट्रिय आर्थिक गणना अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि सबैको सहकार्य अपरिहार्य हुने बताए। डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपकबहादुर महताले गणनाबाट प्राप्त हुने तथ्यांक यथार्थ र विश्वसनीय हुनुपर्नेमा जोड दिँदै सफलताको शुभकामना व्यक्त गरे।
जिल्ला आर्थिक गणना अधिकारी कर्णबहादुर क्षेत्रीले गणकहरूको काम प्रभावकारी बनाउन स्थानीय तहका वडाध्यक्षहरूले अनुगमन गर्नुपर्नेमा जोड दिए । सबै सरोकारवालाको सक्रिय सहयोगबाट मात्र कार्यक्रम सफल हुने उनको भनाइ थियो।
उनका अनुसार आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाभर फिल्डमा गणना कार्य सञ्चालन गरिनछ । यसका लागि जिल्लाभर १७ जना गणक र ३ जना सुपरिवेक्षक परिचालन गरिनेछ। गणक तथा सुपरिवेक्षकलाई चैत २६ देखि ३० गतेसम्म तालिम दिइने आर्थिक गणना अधिकारी क्षेत्रीले जानकारी दिए।
उनका अनुसार गणनाका दौरान आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिनेछ। जसमा जिल्लाभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार/प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिनेछ।
यसैगरी उद्योग, कलकारखाना, व्यापार/व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायत क्रियाकलाप गरिरहेका एकाइमा गणना सञ्चालन गरिने आर्थिक गणना अधिकारी क्षेत्रीले बताए। नेपालमा पहिलोपटक २०७५ सालमा आर्थिक गणना गरिएको थियो भने दोस्रो संस्करणका रूपमा राष्ट्रिय आर्थिक गणना–२०८२ सञ्चालन हुन लागेको हो।
