Radio Unity 92.2MHz

महेन्द्र मावि खलंगामा शैक्षिक समीक्षा : नतिजा सुधार चुनौती, पूर्वाधार र शिक्षक अभाव

डडेल्धुरा: महेन्द्र माध्यमिक विद्यालय खलंगा डडेल्धुराको शैक्षिक सत्र २०८२ को समीक्षा तथा आगामी शैक्षिक सत्र २०८३ को योजना निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आइतवार भएको कार्यक्रममा विद्यालयको समग्र शैक्षिक अवस्था, उपलब्धि र चुनौतीबारे छलफल गरिएको थियो। विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले गणित र विज्ञान विषयमा नतिजा कमजोर रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई सुधार गर्नु प्रमुख चुनौतीका रूपमा रहेको बताए।

उक्त विद्यालयमा शैक्षिक सत्र २०८२ मा १ हजार ३८७ विद्यार्थी अध्ययनरत थिए, जसमा ५८८ छात्रा र ७९९ छात्र रहेका छन्। शिक्षक ४५ र कर्मचारी ११ जना कार्यरत छन्।

विद्यालयमा कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा र कक्षा ४ देखि १२ सम्म नेपाली तथा अंग्रेजी दुवै माध्यमबाट पठनपाठन भइरहेको छ । कक्षा ११ र १२ मा विज्ञान, सिभिल इन्जिनियरिङ, शिक्षा, व्यवस्थापन तथा मानविकी संकाय सञ्चालनमा छन्।

विद्यालयले सामूहिक नेतृत्व, सहभागितामूलक निर्णय प्रक्रिया, प्रविधिमैत्री वातावरण, अतिरिक्त कक्षा, विद्यार्थी पृष्ठपोषण, छात्रवृत्ति व्यवस्था, इ–हाजिरी, अभिभावक अन्तरक्रिया, विज्ञान प्रदर्शनी तथा नियमित अतिरिक्त क्रियाकलाप विद्यालयका सवल पक्ष रहेको प्रअ ऐरले बताए।

उनका अनुसार विद्यालय विकास कोषमा १ करोड ५ लाख ६७ हजार ८७४ रुपैयाँ र छात्रवृत्ति अक्षय कोषमा १६ लाख ११ हजार ५५५ रुपैयाँ संकलन भएको छ।

विद्यार्थी उत्प्रेरणा, अनुशासन, शिक्षक व्यवस्थापन, अभिभावकको निगरानी, नियमित मूल्याङ्कन प्रणाली, प्रविधिको दुरुपयोग नियन्त्रण र विद्यालय–समुदाय सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। त्यस्तै, १२ कक्षाकोठा, ४ प्रयोगशाला, १ पुस्तकालय, छात्र शौचालय, छात्रावास, खेलमैदान लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको प्रअ ऐरले बताए।

आगामीमा विद्यार्थी वृद्धि हुने अनुमान

आगामी शैक्षिक सत्र २०८३ मा करिब तीन सय विद्यार्थी वृद्धि हुने अनुमान गरिएको र जसका लागि शिक्षक अभाव मुख्य चुनौती उनको भनाइ छ। भर्ना कार्यक्रम वैशाख २ देखि ११ गतेसम्म सञ्चालन हुने, वैशाख १२ गते प्रवेश परीक्षा तथा पाठ्यपुस्तक वितरण र वैशाख १३ गतेदेखि कक्षा सञ्चालन गर्ने विद्यालयको योजना छ।

कक्षा ११ को वार्षिक परीक्षा जेठ २१ गतेदेखि र कक्षा १२ को कक्षा असार १५ गतेदेखि सुरु गर्ने विद्यालयले जनाएको छ। विद्यालयले विद्यार्थी उत्प्रेरणा, अभिभावक शिक्षामा जोड, आचारसंहिता कार्यान्वयनमा कडाइ, कक्षा अनुगमन, प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन, शिक्षक क्षमता अभिवृद्धि, अतिरिक्त कक्षा तथा क्रियाकलाप विस्तार, संस्कारयुक्त शिक्षामा जोड र आर्थिक कोष वृद्धि अभियान सञ्चालन गर्ने रणनीति तय गरेको छ।

कार्यक्रममा अमरगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले विद्यालयको नतिजा सुधारउन्मुख रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सुधार गर्न आग्रह गरे। उनले अहिलेको आवश्यकता अनुसार विद्यार्थीलाई संस्कारसहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित पाेष्टहरु
Loading...