Radio Unity 92.2MHz

लैङ्गिक हिंसा न्यूनीकरणका लागि डडेल्धुरामा केस व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

डडेल्धुरा: लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितलाई प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सेवा प्रदायक निकायहरूका लागि डडेल्धुरामा  केस व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको आयोजनामा शनिबार जिल्ला सदरमुकाममा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लैङ्गिक हिंसालाई मानव अधिकार र मानविय सम्मानमाथिको गम्भीर उल्लंघनका रूपमा व्याख्या गर्दै यसले व्यक्तिको सम्मान, व्यक्तित्व विकास र समग्र सामाजिक प्रगतिमा अवरोध सिर्जना गर्ने विषयमा जोड दिइएको थियो।

सहभागीहरूले लैङ्गिक हिंसाबाट कुनै पनि व्यक्ति प्रभावित हुन सक्ने भए पनि विशेष गरी महिला तथा बालिकाहरू उच्च जोखिममा रहेको यथार्थ औंल्याएका थिए।

अभिमुखीकरणमा महिलामाथि हुने हिंसाका बहुआयामिक असरबारे समेत छलफल गरिएको थियो। हिंसाले महिलामा सामाजिक, आर्थिक, सांस्कृतिक, मानसिक तथा शारीरिक असर पार्नुका साथै परिवार, समाज र राष्ट्रमै दीर्घकालीन नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएका थियो।

कार्यक्रममा सामाजिक कार्य अभ्यासअन्तर्गत ‘केस व्यवस्थापन’ को प्रभावकारी कार्यान्वयनबारे विशेष प्रशिक्षण दिइएको थियो। सेवा प्रदायकहरूले पीडित (सेवाग्राही) को आवश्यकता पहिचान, मूल्यांकन, सेवा समन्वय, वकालत तथा अनुगमन गर्ने प्रक्रिया बारे जानकारी दिइएको थियो। साथै, लैङ्गिक हिंसा प्रभावितहरूको केस व्यवस्थापनमा देखिएका चुनौती र समाधानका उपायबारे समूहगत छलफलसमेत गरिएको थियो।

हाल कार्यान्वयनमा रहेका सेवाहरूमा प्रहरीमार्फत उजुरी दर्ता, ओसीएमसी र सेफ हाउसमार्फत संरक्षण, अस्पतालमा उपचार तथा मेडिकल जाँच, मनोसामाजिक परामर्श, सुरक्षित आवासको व्यवस्था तथा कानुनी सहायता उपलब्ध गराउने अभ्यासहरू समेटिएका छन्।

कार्यक्रमका सहभागीहरूले आर्थिक अभाव, समाजको दबाब र बदनाम हुने डरले उजुरीमा ढिलाइ, कानुनी जानकारीको कमी, पुनर्स्थापनामा कठिनाइ तथा जनचेतनामूलक कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुनुजस्ता समस्याहरू प्रमुख चुनौतीका रूपमा औंल्याइएका थिए।

अभिमुखीकरण कार्यक्रममा ‘लैङ्गिक हिंसा प्रतिकार्यमा घटना व्यवस्थापन’ विषयमा लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ मेनुका बस्नेत विष्टले सहजीकरण गरेकी थिइन्।

समापन सत्रमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले महिलालाई आत्मनिर्भर बनाउन रोजगारीसँग जोड्नुपर्नेमा जोड दिँदै बढ्दो सम्बन्धविच्छेदका घटनाप्रति चिन्ता व्यक्त गरे। उनले लैङ्गिक समानता कायम गर्दै हिंसामुक्त समाज निर्माणमा सबैको साझा पहल आवश्यक रहेको बताए।

उक्त कार्यक्रममा सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट सम्बन्धित क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, प्रहरी, सेफ हाउसका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...