Radio Unity 92.2MHz

जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न मुख्यमन्त्री भट्टको निर्देशन

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी सेवा प्रवाह र कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री भट्टले प्रदेशमा रहेको ‘नेगेटिभ इन्डेक्स’लाई ‘पोजेटिभ इन्डेक्स’मा रूपान्तरण गर्नुपर्ने बताए। प्रदेशका सबै क्षेत्र र संरचनामा सुधार गर्दै जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

‘हाम्रो प्रदेशलाई सबै ढंगले बदल्न जरुरी छ,’ मुख्यमन्त्री भट्टले भने, ‘जनतामा रहेको इम्प्रेसनमा नयाँ आयाम थपिने र प्रदेशका सबै संरचनाप्रति जनताले भरोसा गर्ने वातावरण निर्माण गर्नुपर्छ।’

उनले अबको अभियान ‘राइजिङ सुदूरपश्चिम’ र ‘गुड गभर्नेन्स’ केन्द्रित हुनुपर्ने बताउँदै कार्यसम्पादनका हिसाबले प्रदेशलाई अब्बल बनाउन कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।  मुख्यमन्त्री भट्टले सुशासनलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, पारदर्शिता र जवाफदेहिता कायम गर्न निर्देशन दिए।

कुनै व्यक्ति वा पक्षप्रति पूर्वाग्रह नराखी निष्पक्ष ढंगले काम गर्ने स्पष्ट पार्दै उनले जनताले परिवर्तन महसुस गर्ने गरी परिणाममुखी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गरे।

उनले प्रदेश सरकारका नीति तथा कार्यक्रमको प्रभाव प्रत्यक्ष रूपमा नागरिकको जीवनमा देखिनुपर्ने बताउँदै कार्यालय प्रमुखहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिए।

सम्बन्धित पाेष्टहरु
Loading...