Radio Unity 92.2MHz

डिजिटल पत्रकारिताका अग्रणी राजु सुवेदीलाई सभामुख देवराज घिमिरेबाट सम्मान

काठमाडौं, साउन ९ – नेपाली पत्रकारितामा डिजिटल युगको शुरुवात गराउने अग्रणी व्यक्तित्व राजु सुवेदीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मान गरेका छन्। पत्रकारिता विकास केन्द्रले पत्रकारिता क्षेत्रमा दिएको योगदानको कदरस्वरूप सुवेदीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको हो।

सुवेदी २०८१/०८२ वर्षको पत्रकारिता विकास केन्द्रद्वारा प्रदान गरिने उत्कृष्ट पत्रकारिता पुरस्कार छनोट समितिका मुख्य निर्णायकको भूमिकामा रहेर निष्पक्ष र प्रभावकारी निर्णय प्रक्रियामा सक्रिय रूपमा संलग्न भएका थिए।

पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान

राजु सुवेदी नेपाली पत्रकारिताको इतिहासमा डिजिटल पत्रकारिताको अगुवा र नवपरिवर्तनकारी व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले बाग्लुङको धवलागिरी एफएमबाट पत्रकारिता यात्रा सुरु गरेका थिए। त्यसयता उनले ढोरपाटन राष्ट्रिय दैनिक हुँदै एभिन्युज टेलिभिजन, एबिसी टेलिभिजन, न्यूज २४ र नेपाल टेलिभिजनजस्ता राष्ट्रिय सञ्चारमाध्यमहरूमा रिपोर्टर र सम्पादकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्।

नेपालकै पहिलो अनलाइन तथा डिजिटल टेलिभिजन ‘टिभी अन्नपूर्ण’ का संस्थापक प्रधान सम्पादकको हैसियतले सुवेदीले नेपाली पत्रकारितामा नयाँ धारको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। साथै, उनी सरकारका नीतिनिर्माण तहमा बसेर डिजिटल पत्रकारिता सम्वन्धी बहस र पैरवीमा समेत सक्रिय छन्।

उत्कृष्ट युवा पत्रकारिता पुरस्कार पौडेललाई

त्यसै अवसरमा नेपाल प्रेस का सम्पादक मातृका पौडेल लाई यस वर्षको “उत्कृष्ट युवा पत्रकारिता पुरस्कार” प्रदान गरिएको छ। पत्रकारिता विकास केन्द्रले प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेखनीय कार्य गर्ने युवा पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।

कार्यक्रममा पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो भने वक्ताहरूले सुवेदी र पौडेलको योगदानको प्रशंसा गर्दै आगामी पुस्ताका लागि उनीहरू प्रेरणाका स्रोत भएको बताएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...