धनगढी: डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रत्यक्ष निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।
नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन्। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
प्रदेश प्रमुखले शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका थिए। तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले बहुमत सांसदको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
५३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ। निलम्बित सांसदबाहेक नेकपासँग २० र एमालेसँग ११ सांसद छन्। दुई दलका ३१ सांसदको समर्थन रहेकाले भट्टले बहुमतका आधारमा सरकार गठनको दाबी गरेका हुन्।
प्रदेश प्रमुख मियाँले भट्टलाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। नेकपाका एक सांसदका अनुसार दिउँसो ३ बजे भट्टको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित भट्ट यसअघि पनि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको दाबेदारका रूपमा रहँदै आएका थिए। एमालेको समर्थनसँगै अहिले भने उनलाई प्रदेश सरकारको नेतृत्वमा पुग्ने बाटो खुलेको हो।