धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ४६ सांसदमध्ये ३१ जनाले भट्टको पक्षमा र १५ जनाले विपक्षमा मतदान गरेका हुन्।
मुख्यमन्त्री भट्टलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २० र नेकपा (एमाले) का ११ प्रदेशसभा सदस्यले समर्थन गरे।विपक्षमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसदले मतदान गरेका छन्। कांग्रेसका तीन सांसद भने बैठकमा अनुपस्थित रहे।
सभामुख भीमबहादुर भण्डारीले भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको बताउँदै भट्टले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।
नेकपा संसदीय दलका नेता भट्ट शुक्रबार सुदूरपश्चिमको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। नेकपा र एमालेबीच सत्ता साझेदारीको सहमति बनेपछि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए। अल्पमतमा परेको एक महिनापछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।