Radio Unity 92.2MHz

मुक्त हलिया, महिला र अपाङ्गताको मानवअधिकार उल्लघंनबारे तालिम

डडेल्धुराः डडेल्धुरामा मुक्त हलिया, महिला र अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकार उल्लघंनका मुद्दाहरूको व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सुरु भएको छ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघद्वारा संचालित ‘मुक्त हलिया सशक्तीकरण अधिकार परियोजना’को आयोजनामा बुधबारदेखि जिल्ला सदरमुकाममा तालिम सुरु भएको हो।

तालिममा जिल्लाका तीन स्थानीय तह अमरगढी नगरपालिका, परशुराम नगरपालिका र नवदुर्गा गाउँपालिका मुक्त हलिया समुदायका व्यक्तिहरू, टिइपी सहजकर्ता, अपाङ्गता भएका व्यक्ति, महिला अधिकारकर्मी, पत्रकारलगायतको सहभागिता रहेको छ।

तालिममा मानव अधिकार, मुक्त हलिया तथा अपाङ्गता भएका नागरिकहरूको मानव अधिकार, मानव अधिकारको अनुगमन, अनुगमनका विषयमा प्रशिक्षण दिइरहेको जिल्ला हलिया मुक्ति समाज डडेल्धुराका अध्यक्ष भरत सार्कीले जानकारी दिए ।

गाउँ समाजमा घट्ने मानव अधिकार उल्लघंनका मुद्दाहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि तालिममा सिकाइने उनले बताए। मुक्त हलिया, अपाङ्गता भएका व्यक्ति, महिला र अन्य विपन्न समुदायमाथि हुने भेदभावविरुद्ध परियोजनाले काम गरिरहेको उनको भनाइ छ। शुक्रबारसम्म संचालन हुने उक्त तालिममा ३० जनाको सहभागिता रहेको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।