डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका– २ स्थित बेडुपानीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। शान्ति सुरक्षा कायम गर्दै जनतालाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले सोमबार एक कार्यक्रमकाबीच पोस्टको स्थापना भएको हो।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र पालिका अध्यक्ष कबिन्द्रबहादुर बिष्टले सयुंक्त रूपमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गरेका हुन्।
लामो समयको प्रयासले अस्थायी प्रहरी पोष्टको स्थापना भएको गाउँपालिका अध्यक्ष बिष्टले बताए। उनले अबका दिनमा यो क्षेत्रमा आपराधिक क्रियाकलपमा कमि आउने बिस्वास व्यक्त गरे।
प्रहरी पोस्ट स्थापनाले नागरिकमा सहज रूपमा सुरक्षाको अनुभुती दिलाउनुका साथै गाउँपालिकाको सुरक्षा व्यवस्था सुदृढ हुने उनको भनाइ छ।
बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक देबेन्द्रबहादुर पालले बताए। उनले रेडकक्रसको खाली भवनमा पोष्ट स्थापना गरिएको बताए।
अस्थायी प्रहरी पोस्टमा एक जना प्रहरी हवलदार र चार जना प्रहरी जवान गरी ५ जना खटाइएको छ।
‘बेलापुर, सकायल र स्याउले प्रहरी चौकीबाट बेडुपानी क्षेत्र टाढा पर्छ। केही घटना घटे पनि रिस्पोन्स गर्न समस्या हुने गरेको छ। सोही कुरालाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरेका हौं,’ डीएसपी पालले भने।