डडेल्धुराः पाँच वर्षसम्म नगरका समस्या ज्यूँका त्यूँ रहेको भन्दै अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझालाई ज्ञापन पत्र बुझाइएको छ ।
आइतबार माओवादी केन्द्र अमरगढी नगर कमिटीले नगरप्रमुख ओझालाई ९ बुँदे ज्ञापन पत्र बुझाएको हो । अमरगढी नगरलाई समृद्धिको बाटोमा डोर्याउने कुरा केबल कल्पना र कागजमा सीमित हुन पुगेको माओवादी केन्द्र अमरगढी नगर कमिटीले जनाएको छ ।
ठूलठूला सपना बाँडेर आएका जनप्रतिनिधिहरू जनजीविकासँग जोडिएका सवालहरू हल गर्ने कुराहरू एक अर्कोप्रति दोषरोपण गर्दै पन्छिने प्रवृत्ति देखिनु दुःखद, निराशा जनक एवं खेद जनक रहेको ज्ञापन पत्रमा भनिएको छ ।
नगरसरकारका जनजीविकासँग जोडिएका र विकासका गतिविधिहरू सञ्चालनसम्बन्धी कुराहरूमा हातेमालो गर्न तयार रहेको समेत अमरगढी नगर कमिटी अध्यक्ष यादव ओझाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लेखिएको छ ।
आर्थिक वर्ष २०७८/७९ को वित्तीय समानिकरण अनुदान तर्फको बजेटबारे, सामाजिक सुरक्षा भत्ता, कर्मचारीहरू, शिक्षकशिक्षकाहरूको तलब भत्ताबारे, खरिद भएको यति लामो समयसम्ममा पनि सञ्चालनमा नआएको प्राङ्गणमा थन्काएको नगर बसको सम्बन्धमासमेत अमरगढी नगर सरकारको धारणा र जवाफ माग गरेको छ ।
उनीहरूले नगर शिक्षकको व्यवस्थाबारे, प्रमुख प्रशासकीय अधिकृत नभएको, ३ महिनादेखि नगर कार्यपालिका बैठक बस्न नसकेको बारे, खरिद गरेको लामो समयसम्म सिंचाइको पाइप अनि प्लाष्टिक पोलिहाउस वितरण गर्ने भन्दै लिइएका निवेदनको सम्बन्धमा, नगर क्षेत्रमा सञ्चालनमा रहेका अटोरिक्सा नियमन, भाडादर निर्धारण र व्यवस्थापन सम्बन्ध र सार्वजनिक सुनुवाइको सम्बन्धमा समेत धारणा र जवाफ माग गरेको छ ।
आफ्ना ९ बुँदे मागहरूको विषयमा स्पष्ट जवाफ नआए संघर्षका कार्यक्रमहरू अघि बढाइने र त्यसपछिको जवाफदेहीता र जिम्मेवारी नगरसरकारले नै लिनुपर्ने माओवादी केन्द्र अमरगढी नगर कमिटीले चेतावनी दिएको छ ।