Radio Unity 92.2MHz

डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि प्रारम्भिक निरीक्षण

  • हिक्मत सिंह

डडेल्धुराः डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न प्रारम्भिक काम अगाडि बढेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रूपमा अगाडि बढाउने निर्णय गरेसँगै प्रारम्भिक अनुगमन टोलीले शुक्रबार स्थलगत रूपमा निरीक्षण गरेको हो।

सुदूरपश्चि विश्व विद्यालयका उपकुलपति अम्मराज जोशीको नेतृत्वमा सुदूरपश्चिम विश्व विद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, प्रशासन महाशाखा प्रमुख अशोकसिंह भण्डारीसहितको टोलीले डडेल्धुरा मेडिकल कलेज स्थापनाका लागि आवश्यक जमिन तथा वाताबरणका विषयमा जानकारी लिन डडेल्धुरा पुगेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए।

उनका अनुसार डडेल्धुरामा स्वास्थ्य प्रतिष्ठानमा लागि केही वर्षयता अभ्यास गरिँदै आएकामा पछिल्लो समय सरकारले नै मेडिकल कलेजका लागि सैद्धान्तिक सहमतिको निर्णय गरेपछि गतिविधिहरू संचालन भइरहेको छ। सात पहाडी जिल्लाको केन्द्र डडेल्धुरा रहेकाले मेडिकल कलेज अपरिहार्य रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले डडेलधुरा मेडिकल कलेज स्थापनाका लागि आफू र आफूनिकट नेपाली कांग्रेस पार्टी सकारात्मक रूपले लागेको बताए। प्रधानमन्त्रीकै गृहजिल्ला भएका कारण सबै राजनितिक दलले सकारात्मक भूमिका खेलेमा मेडिकल कलेजको काम अगाडि बढाउन सजिलो हुने उनले बताए।

नेपाली कांग्रेसका नेता गोकुल शाहीले सरकारको निर्णयमा रकम नदेदिएकाले मेडिकल कलेज स्थापना नारामा सिमित रहने भन्दै जनताले शंका गरिरहेको बताए। राम्रो कामको सम्मान गरिने बताउँदै शाहीले मेडिकल कलेज संचालनका लागि स्पष्ट खाका तयार नभएकाले बजेटसहित काम अगाडि बढेमा मात्रै आश्वस्त हुने बताए।

नेकपा एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहीले डडेल्धुरा मेडिकल कलेज चुनावी नारामा सीमित भएमा जनता ठग्ने काम हुने भएकाले सरकाले तत्काल काम कारबाही अगाडि बढाउनुपर्नेमा जोड दिए।

सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपति जोशीले भने, ‘स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको विज्ञ टोली र प्रधानमन्त्री शेरबहादुर देउवासहितको बैठकबाट डडेल्धुरा मेडिकल कलेजको लागि जमिन र अन्य प्राविधिक पाटोका विषयमा जानकारी लिनु भनेर टोली डडेल्धुरा पुगेको हो।’

मेडिकल कलेज खोल्ने सरकारको निर्णय स्वागतयोग्य रहेको नेकपा एमालेका नेता यज्ञराज अवस्थीले बताए। उनले भने, ‘डडेल्धुराबाट निर्वाचित भएर पाँचपटक प्रधानमन्त्री हुनुभएका व्यक्तिले पश्चिम सेती परियोजना अन्यौलमा राखेकाले डडेल्धुरा मेडिकल कलेज पनि आश्वासनमै सीमित हुनेमा शंका गर्नु अनर्थ नहोला।’

त्रिभुवन विश्व विद्यालयको मातहतमा रहेको डडेल्धुरा क्याम्पसलाई सुदूरपश्चिम विश्व विद्यालयमा समायोजन गर्नुपर्ने बताउँदै नेता अवस्थीले सो क्याम्पसमा प्राविधिक धारको शिक्षण गराउनु जरुरी रहेको बताए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।